१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नोभिचोक आक्रमणः रूसविरुद्ध अमेरिकी प्रतिबन्ध

एएफपी

वासिङटन — रूसका पूर्व गुप्तचर सेर्गेई स्क्रिपाल र उनकी छोरीलाई बेलायतमा स्नायुप्रणालीमा असर पार्ने विषालु ग्यास ‘नोभिचोक’ आक्रमणको प्रतिक्रिया स्वरूप अमेरिकाले रूसमाथि नयाँ प्रतिबन्ध लगाएको छ । 

नोभिचोक आक्रमणः रूसविरुद्ध अमेरिकी प्रतिबन्ध

विदेश मन्त्रालयका प्रवक्ता नार्ट हिथरले रूसी सरकारले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै आफ्नै नागरिकविरुद्ध जैविक हतियार तथा घातक रसायन प्रयोग गरेकाले उक्त कदम चाल्नुपरेको जनाइन् ।

रिपब्लिकन सांसदको दबाबपछि विदेश मन्त्रालयले स्क्रिपाल र उनकी छोरीमाथि सैन्यस्तरको रासायनिक हतियार प्रयोग गरी रूसले अन्तर्राष्ट्रिय कानुन तोडेको स्पष्ट भएको जनाएको हो ।


प्रतिबन्धअन्तर्गत ‘राष्ट्रिय सुरक्षा संवेदनशील’ अमेरिकी प्रविधि रूसलाई बेच्न पाइने छैन । यस्ता प्रविधिमा विद्युतीय उपकरणका साथै क्यालिब्रेसन उपकरण छन् । विगतमा यस्ता उपकरण निर्बाध रूपमा रूसमा निर्यात हुने गरेको थियो ।


स्क्रिपाल र उनकी छोरीमाथि रासायनिक विषको प्रयोग गरेलगत्तै करिब ६० जना कूटनीतिज्ञलाई निष्काशित गरेको ट्रम्प प्रशासनले रूसले अन्तर्राष्ट्रिय कानुन तोडेको औपचारिक प्रतिक्रिया दिएको हो ।


बेलायत सरकारले अमेरिकी कदमको स्वागत गरेको छ । रूसले भने स्क्रिपाल र उनकी छोरी युलियामाथि भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।


नयाँ अमेरिकी प्रतिबन्धसँगै राष्ट्रपति ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच सम्बन्ध सुधार्ने प्रयास विफल हुन सक्ने आकलन गरिएको छ ।


यसैबीच, रूसले अमेरिकी प्रतिबन्ध अस्वीकार्य रहेको जनाएको छ । तर उसले अमेरिकासँगको सम्बन्ध रचनात्मक दिशातर्फ उन्मूख हुने अपेक्षा गरेको छ । ‘अमेरिकी प्रतिबन्ध गैरकानुनी छ । यो अस्वीकार्य पनि छ,’ क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले बताए ।

प्रकाशित : श्रावण २४, २०७५ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?