१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अस्ट्रेलियामा खडेरीको समस्या, सरकारद्वारा ५ सय ७६ मिलियन डलर सहयोग घोषणा

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा खडेरीको समस्या विकराल बन्दै गएको छ । अस्ट्रेलिया सरकारले देशकै ठूलो राज्य न्यु साउथ वेल्सलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । सुख्खाबाट पीडित किसानलाई राहत दिन ५ सय ७६ मिलियन डलर बराबरको राहतको घोषणा गरिएको छ । 

अस्ट्रेलियामा खडेरीको समस्या, सरकारद्वारा ५ सय ७६ मिलियन डलर सहयोग घोषणा

सुख्खाका कारण न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड, पश्चिम अस्ट्रेलिया र दक्षिण अस्ट्रेलियाका ग्रामीण भेगका किसान मारमा परेका छन् । उनीहरुले आफूले अहिलेसम्म कहिल्यै नभोगेको र नदेखेको सुख्खा भोग्नुपरेको पीडा ब्यक्त गरेका छन् ।


सुख्खाग्रस्त क्षेत्रको भ्रमणमा गएका प्रधानमन्त्री माल्कम टर्नबुलले देशले दसकौंपछिको खराब समस्या भोग्नुपरेको बताएका छन् । उनले मौसमको सुधार हुने आशा व्यक्त गरे । तर, सुख्खाका कारण किसानहरुले जनावारलाई खाने कुरासमेत खुवाउन नपाएको बताएका छन् ।


खडेरीका कारण किसानहरु समस्यामा परेपछि अस्ट्रेलियामा रहेका बैंकहरुले सहायता रकमलगायतका सहयोगको घोषणा गरिसकेका छन् । टेलिभिजन च्यानल, स्थानीय परोपकारी संस्थाहरुले समेत सहयोगका विभिन्न कार्यक्रम सुरु गरेका छन् । यस अभियानमा यहाँ सञ्चालनमा रहेका ठूला व्यावसायिक सुपरमार्केटले समेत सहयोगको घोषणा गरिरहेका छन् ।


विभिन्न सहयोगबाट संकलिन रकमले खडेरीबाट पीडित किसानलाई सहयोग गर्ने बताइएको छ । खडेरीबाट सबैभन्दा बढी पीडित न्यु साउथ वेल्स राज्यका किसानलाई विभिन्न शीर्षकमा राहत दिन राज्य सरकारले करिब १ अर्ब डलरबराबरको सहयोगको घोषणा गरेको छ भने अन्य राज्यले समेत किसानलाई सहयोग पुर्‍याउन सहयोग रकम घोषणा गरिसकेका छन् ।


खडेरीबाट पीडित किसानले सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् । सुख्खाका कारण रुखहरुसमेत मर्न थालेका छन् भने पानी नपरेका कारण जनावारलाई बचाउन मुस्किल परेको किसानहरुले बताएका छन् । समाचारमाध्यमहरुले अस्ट्रेलियामा यसवर्ष देखिएको सुख्खा करिब आधा शताब्दीकै खराब रहेको बताएका छन् ।

प्रकाशित : श्रावण २४, २०७५ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?