मोन्सान्टोलाई २९ अर्ब तिर्न आदेश 

विषादी उत्पादक कम्पनीका सामग्रीले क्यान्सर भएको फैसला 
एएफपी

क्यालिफोर्निया — बीउबिजनसम्बन्धी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई अमेरिकाको क्यालिफोर्नियास्थित एक अदालतले २८ करोड ९० लाख डलर (करिब २९ अर्ब रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ । 

मोन्सान्टोलाई २९ अर्ब तिर्न आदेश 

डिवेन जनसनले ‘ग्लाइफोसेट’ नामक झारनाशक विषादीले आफूलाई क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दामा मोन्सान्टोलाई दण्डात्मक हर्जना तिर्न आदेश दिइएको हो ।

एउटा ऐतिहासिक मुद्दामा क्यालिफोर्नियाको एक अदालतले मोन्सान्टो कम्पनीका ‘राउन्डअप’ र ‘रेन्जरप्रो’ नामक झार नष्ट गर्ने विषादी खतरनाक रहेको र त्यसबारे उपभोक्तालाई कम्पनीले उपभोक्तालाई सचेत नगराएको भन्दै उक्त जरिवाना गरिएको हो । ग्लाइफोसेट नामक विषादीले क्यान्सर हुने दाबीसहित अदालतमा पुगेको यो पहिलो मुद्दा हो ।

मोन्सान्टो कम्पनीले भने ‘राउन्डअप’ सुरक्षित भएको दाबी गर्दै उक्त आदेश नमान्ने बताएको छ । उसले अदालतको आदेशको कम्पनीले पुनरावलोकन गर्ने जनाएको छ ।

‘वैज्ञानिक परीक्षण र त्यसको निष्कर्ष तथा दशक लामो अनुभवका आधारमा ती विषादीहरूमा प्रयोग हुने ग्लाइफोसेटले क्यान्सर हुँदैन,’ मोन्सान्टोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘जुरीले यसलाई गलत रूपमा लिएका छन्,’ सान फ्रान्सिस्कोस्थित अदालतबाहिर उक्त कम्पनीका उपाध्यक्ष स्कट प्याट्रिजले भने ।

मुद्दाका उजुरीकर्ता डिवेन जनसनले आफूले अमेरिकाभरका करिब ५ हजारको प्रतिनिधित्व गरेको जनाए । उनले ‘क्यालिफोर्नियाले गरेको आदेशले मोन्सान्टोविरुद्धका अन्य सयौं उजुरीको प्रतिनिधित्व गर्ने जनाए । ‘म अदालतका न्यायाधीशलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,’ फैसलापछि ४६ वर्षीय जोनसनले भने, ‘म यहाँसम्म आएको छु । तर यसको कारण निकै ठूलो छ ।’

जनसनलाई सन् २०१४ मा एक प्रकारको क्यान्सर लागेको देखिएको थियो । उनका वकिलहरूले उनले क्यालिफोर्नियाको बेनिसियास्थित विद्यालयमा काम गर्दा निरन्तर रूपमा रेन्जरप्रो नामक झारनाशक विषादी प्रयोग गर्ने गरेकाले क्यान्सर भएको दाबी गरेका छन् ।


मोन्सान्टो कम्पनीको उत्पादन ‘राउन्डअप’ ।तस्बिर : एजेन्सी


न्यायाधीशहरूले मोन्सान्टो कम्पनीको झारनाशक विषादीले जनसनलाई अहिले जस्तो रोगी बनाउन उल्लेख्य भूमिका खेलेको निर्णय गरेका हुन् । ग्लाइफोसेटको प्रयोग लामो समयदेखि विवादित रहेको छ । राष्ट्रसंघको एक अध्ययनले पनि ग्लाइफोसेटका कारण क्यान्सर हुन सक्ने जनाएको छ । तर केही वैज्ञानिकहरूले भने यसको प्रयोग सुरक्षित हुने दाबी गर्छन् । करिब २ महिना लामो सुनुवाइपछि न्यायाधीशहरूले कृषिसम्बन्धी बहुराष्ट्रिय कम्पनीलाई उक्त रकम क्षतिपूर्ति तिर्न आदेश दिएका हुन् ।

प्रकाशित : श्रावण २७, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?