कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सूर्यको अनुसन्धान गर्न रकेट प्रक्षेपण

कान्तिपुर संवाददाता

फ्लोरिडा — अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले सूर्यको सतहको अध्ययनका लागि आइतबार अन्तरिक्ष यान प्रक्षेपण गरेको छ ।

सूर्यको अनुसन्धान गर्न रकेट प्रक्षेपण

एक अर्ब ५० करोड अमेरिकी डलरको महत्त्वाकांक्षी अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकले गरेका छन् । नासाले ‘पार्कर सोलार प्रोब’ नाम दिइएको रकेट सौर्य वायुमण्डल (कोरोना) मा प्रवेश गर्ने गरी डिजाइन गरिएको जनाएको छ ।


सात वर्षको तयारीपछि रकेट आइतबार प्रक्षेपण गरिएको हो । ‘म के भन्न सक्छु भने, आहा हामीले सुरुवात गर्‍यौं,’ ९१ वर्षीय खगोलशास्त्री युगेन पार्करले भने । उनले आगामी केही वर्ष यसबारे अध्ययन गरिने जनाए । उनले पहिलोपटक सन् १९५८ मा सूर्यको बाह्य तहबारे व्याख्या गरेका थिए ।


अभियानका प्रमुख पार्करको नामबाट उक्त अन्तरिक्ष यानको नामकरण गरिएको हो । फ्लोरिडास्थित केप कानाभरालबाट प्रक्षेपण गरिएको डेल्टा–४ रकेट स्थानीय समयअनुसार बिहान ३ बजेर ३१ मिनेटमा अँध्यारो आकाशतर्फ उडेको थियो । मानवरहित अन्तरिक्ष यान इतिहासमै पहिलोपटक सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्नेछ ।


यानलाई शक्तिशाली ताप प्रतिरोधकले सुरक्षित गरिएको छ । यान २४ पटक सूर्यको नजिकै पुग्ने नासाले जनाएको छ । वैज्ञानिकका अनुसार यान सूर्यको सतहबाट ३८ लाख माइलभित्रको क्षेत्रमा प्रवेश गर्नेछ जसलाई कोरोना भनिएको छ । यो क्षेत्र सूर्यको सतहभन्दा ३०० गुणा बढी तातो हुने ठानिएको छ ।


पृथ्वीबाट सूर्य १ सय ५० मिलियन माइल टाढा छ । पार्कर सोलार प्रोब विगतमा भन्दा ६२ लाख २० हजार किलोमिटर नजिक पुग्ने अनुमान गरिएको छ । यसअघि सन् १९७६ मा हेलियस–२ करिब सूर्यको ४३ मिलियन किलोमिटर नजिक पुगेको थियो ।

प्रकाशित : श्रावण २८, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?