भाजपाविरुद्ध मोर्चाबन्दी गर्दै कंग्रेस

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको तल्लो सदन (लोकसभा) चुनाव नजिकिँदै जाँदा राजनीतिक चहलपहल बढदै गएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अन्य राजनीतिक दलका नेताहरूले गर्ने सार्वजनिक भाषण तथा सञ्चारमाध्यमलाई दिने अन्तरवार्तासमेत चुनाव केन्द्रित हुन थालेका छन् ।

एक महिनाअघि लोकसभामा मोदी सरकारविरुद्ध पेस गरिएको अविश्वास प्रस्ताव र मतदानले चुनावी महोल एकाएक बढाएको थियो । अविश्वास प्रस्तावले सरकारलाई खासै अप्ठयारो नपरे पनि सत्ताधारी र विपक्षीबीच हुने चुनावी गठबन्धनको आँकलन गरिएको छ । गत वैशाखमा भएको कर्नाटक चुनावपछिको राजनीतिक विकास क्रमले चुनावी माहोलको आधार तयार पारेको थियो । यी दुवै घटनाले एउटा प्रस्ट सन्देश राजनीतिक विश्लेषकहरूको दाबी छ– आगामी चुनावमा भाजपाविरुद्ध बृहत् मोर्चाबन्दी निश्चित छ ।


चुनावी सरगर्मी बढेसँगै भाजपा देशव्यापी संगठनलाई पुनर्जागृत गर्न सक्रिय भएको छ भने विपक्षीहरू भाजपाविरुद्धको मोर्चाबन्दीलाई थप बृहत् र सुदृढ बनाउने योजनामा छन् । हालै एउटा राजनीतिक सभामा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले त आगामी लोकसभा निर्वाचनमा जुनसुकै हालतमा भए पनि बीजेपीलाई परास्त गर्ने घोषणा गरिन् । त्यसैगरी विपक्षी गठबन्धनकी प्रभावशाली नेतृ मायावतीले पनि बीजेपीविरुद्धको मोर्चाबन्दी सफलताका साथ अघि बढेको र कर्नाटक चुनावमा त्यसको सफल प्रयोग भइसकेको दाबी गरेकी छन् । मायावतीले कर्नाटकमा जस्तै बीजेपीलाई पराजित गर्न उनी अध्यक्ष रहेको बहुजन समाजवादी पार्टीले अन्य राज्यहरूमा पनि गठबन्धन बनाएर जाने बताएकी छन् । मायावतीको पार्टीको उत्तरप्रदेशबाहेक पनि मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा पनि राम्रै प्रभाव छ । यदि ती राज्यमा बहुजन समाजवादी पार्टी विपक्षी गठबन्धन सहभागी भएको खण्डमा भाजपाका लागि ठूलै चुनाती खडा हुनेछ ।

Yamaha


त्यसै पनि उत्तरप्रदेश, मध्यप्रदेश, राजस्थान, महाराष्ट्र, बिहार, पश्चिम बंगाल, छत्तिसगढ, कर्नाटक र तमिलनाडुलगायत राज्यको चुनावी नतिजाले नै भाजपा नेतृत्वको सरकारले निरन्तरता पाउने वा नपाउने यकिन गर्नेछन् । ५४३ सदस्यीय लोकसभामा यी राज्यबाट ३५० भन्दा बढी संसद् चुनिन्छन् । सत्ताधारी गठबन्धन एनडीएले सन् २०१४ यताका २७ लोकसभाका उपनिर्वाचनमध्ये ७ मात्र बचाउन सकेको छ भने विपक्षीहरूले ९ सिट खोसेका छन् ।


विगतदेखि नै भारतमा सरकार निर्माणमा ८० लोकसभा सिट रहेको उत्तरप्रदेशको निर्णायक भूमिका रहँदै आएको छ । ४ वर्षअघिको चुनावमा भाजपा एक्लैले यो राज्यबाट मात्रै ७१ सिट जितेको थियो । तर, पछिल्ला उपनिर्वाचनमा विपक्षी गठबन्धनको शृंखलाबद्ध जितले भाजपा आत्तिएको देखिन्छ । विगतमा कट्टर राजनीतिक शत्रुका रूपमा चिनिएका मायावतीको बहुजन समाजवादी पार्टी र अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी एक ठाउँमा उभिएका कारण विपक्षीको जित सम्भव भएको हो ।


यी पछिल्ला परिणामहरूले पनि उपनिर्वाचनहरूमा जस्तै विपक्षीहरू गठबन्धन बनाएर खण्डमा भाजपाका लागि आफ्नो साख जोगाउन असम्भव हुनेछ ।


एकातिर विपक्षीहरूको गठबन्धन बन्ने र अर्कोतर्फ आफ्नो नेतृत्वमा रहेको एनडीए गबन्धनमा रहेका दलहरू समेत असन्तुष्ट देखिएका कारण भाजपाले आगामी चुनावमा कडा चुनौती सामना गर्नुपर्ने देखिन्छ ।


सत्ताधारी गठबन्धनमै भएर पनि अविश्वास प्रस्तावको विपक्षमा मतदान नगरेर शिव सेना, बिजु जनता दल र तेलगंना राष्ट्र समिति (टीआरएस) ले भाजपा नेतृत्वको सरकारप्रतिको असन्तुष्टि प्रकट गरेका थिए । त्यति मात्र होइन, भाजपाकै सत्ता साझेदार शिव सेनाका प्रवक्ता सञ्जय राउतले गान्धीले पनि सबैको मन जितेको दाबी गरेका छन् । पूर्व एनडीए साझेदार चन्द्रबाबु नायडूको तेलगु देशम पार्टीले त अविश्वास प्रस्ताव नै पेस गरेको छ ।


राजनीतिक विश्लेषक तथा सेन्टर फर द स्टडी अफ डेभेलपिङ सोसाइटिजका निर्देशक सञ्जय कुमार (सीएसडीएस) भने पनि ‘अहिले देखिएको प्रारम्भिक संकेतलाई आधार मान्ने हो भने, विपक्षी गठबन्धन बन्ने र बीजेपीका लागि चुनावमा बहुमत हासिल गर्न कठिन बन्ने देखिन्छ,’ उनले भने ।


तर, विपक्षीका लागि भाजपाको सुदृढ सांगठनिक चक्रव्यूह भेदन गर्न त्यति सहज भने छैन । त्यसैले प्रधानमन्त्री मोदीको वाककला र भाजपा अध्यक्ष अमित शाहको चुनावी चातुर्यलाई परास्त गर्न विपक्षी गठबन्धनले दह्रो रणनीति अख्तियार गर्नुपर्ने हुन्छ । त्यसमाथि चुनावी वर्ष भएका कारण भाजपा नेतृत्वको सरकारले असन्तुष्ट दलहरूदेखि मतदाताहरूलाई रिझाउन आकर्षक योजना र कार्यक्रमहरू घोषणा गर्ने सम्भावना पनि उत्तिकै छ ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कुलतबाट जोगाउनै मुस्किल

अभिभावक, शिक्षक, व्यवसायी र प्रहरी प्रशासन चारै पक्षको प्रयासबाट न्यूनीकरण सम्भव
अमृता अनमोल

बुटवल — इलाका प्रहरीले शनिबार तीनवटा क्याफेमा छापा मार्‍यो । तीमध्ये दुई क्याफेभित्र १८ वर्षमुनिका किशोरकिशोरी मदिरा, हुक्का र चुरोटमा झुमिरहेका थिए । श्रवणपथस्थित विटफुड क्याफेबाट बिदाको दिन रमाइलो गर्ने भन्दै भेला भएका २ सय ७ जनालाई प्रहरीले नियन्त्रणमा लियो । मिलनचोकको ग्यालेक्सी बारबाट ६६ किशोरकिशोरी समातिए । दुवै बारका सञ्चालकलाई पनि प्रहरीले नियन्त्रणमा लियो ।

ती क्याफे सञ्चालन गरिएका क्षेत्र आसपासका बासिन्दाको गुनासोपछि प्रहरीले छापा मारेको हो । ‘अनुगमन गर्दा स्थानीयले बताएभन्दा बिजोग अवस्थामा किशोरकिशोरी भेटिए,’ प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले भने, ‘पढ्ने बालबालिका त्यसरी कुलतमा लागेको देख्दा मनै कटक्क भयो ।’ नियन्त्रणमा लिएका किशोरकिशोरी केहीबेर इलाका प्रहरी बुटवलमा राखिएका थिए । त्यसपछि अभिभावकको जिम्मामा घर पठाइयो । बार सञ्चालकलाई पनि अबदेखि बालबालिकालाई कुलतमा लगाउने गतिविधि नगर्ने सर्तमा छाडियो ।


प्रहरीका अनुसार हुक्का, चुरोट र मदिरा किशोरकिशोरी कुलतमा लाग्ने पहिलो चरण हो । रमाइलोका नाममा गरिने यो क्रम बढदै गएमा उनीहरू लागूपदार्थ प्रयोगकै दलदलमा फस्न सक्छन् । ‘तर, कुलतमा लागेका बालबालिकालाई पक्राउ गरेर वा दण्ड सजाय दिएर मात्रै समस्या समाधान हुँदैन,’ डीएसपी मल्लले भने, ‘यसैले बालबालिका, अभिभावक र व्यवसायी तीनै पक्षलाई सचेत गराएर पठायौं ।’


होटल तथा रेस्टुराँमा गलत क्रियाकलाप गर्दा किशोरकिशोरी पक्राउ परेको यो पहिलो घटना होइन । असार महिनामा मात्रै प्रहरीले बुटवल र आसपासका होटलमा गलत क्रियाकलाप गरिरहेको अवस्थामा २७ किशोरकिशोरीलाई नियन्त्रणमा लिएको थियो । उनीहरू विद्यालय पोसाकमै बारमा मदिरा र चुरोट पिउँदै अनैतिक गतिविधिमा संलग्न थिए ।

किशोरकिशोरीलाई नियन्त्रणमा लिएर अब त्यस्तो नगर्ने सर्तमा अभिभावकको जिम्मा लगाइएको थियो । प्रहरीले होटल व्यवसायीलाई यस्ता गतिविधि भइरहे कारबाही गर्ने चेतावनी पनि दिएको थियो ।


यसपछि होटल तथा रेस्टुराँ व्यवसायी संघ रूपन्देही केही सतर्क बन्यो । संघले आचारसंहिता नै बनाएर १६ वर्षमुनिका बालबालिकालाई धूमपान तथा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगायो । कलेज तथा स्कुल पोसाकमा आएका जोडी विद्यार्थीलाई होटलका कोठा उपलब्ध नगराउने जनायो ।

व्यवसायीबाट त्यस्तो असामाजिक काम गरेको प्रमाणित भएमा स्वत: संघको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने र कानुनी कारबाहीका लागि सिफारिस गर्नेसमेत आचारसंहितामा उल्लेख गर्‍यो । संघले यस्तो नियम बनाए पनि व्यवसायीले भने कार्यान्वयन गरेका छैनन् । यसले कुलतमा लाग्ने किशोरकिशोरीलाई प्रश्रय मिलेको छ । ‘होटलमा मदिरा र हुक्का राख्नै हुन्न भन्ने होइन । किशोर बालबालिकालाई दिनु हुँदैन भनेकामा त्यसमा पनि कडाइ गरेनन्,’ अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले भने, ‘यसले बालबालिकाको होटल तथा रेस्टुराँ केन्द्रित कुलत बढेको छ ।’


१३ देखि १९ वर्षसम्मको समय किशोरावस्था हो । यो उमेर समूहका बालबालिका बढी जिज्ञासु हुन्छन् । शारीरिक रूपमा प्रजनन अंगको विकास हुन्छ र मानसिक रूपमा पनि परिवर्तन हुन्छन् । साथी बनाउन र घरपरिवारभन्दा बढी साथीभाइसित रमाउन मन पराउँछन् । जानकारहरूका अनुसार बसाइँसराइ, बढी स्वतन्त्रता र सूचना प्रविधिको गलत प्रयोगले किशोरकिशोरी कुलतमा लाग्ने गरेका छन् । आधुनिकता र मनोरञ्जनका नाममा पनि अञ्जानमै किशोरकिशोरी कुलतको बाटो हिँडिरहेका छन् ।

‘धेरै त परिवारबाट संरक्षण नहुनु, निगरानी नहुनु र गलत संगतका कारण कुलतमा लागेका छन्,’ बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक नारायण पन्थले भने, ‘परिवारले बढी माया गरेको नाममा मनपरी रकम दिने र धेरै समय बाहिर छाड्ने कारणले पनि उनीहरू बिग्रेका हुन्् ।’ उनका अनुसार पूर्वीय समाजको संस्कार र सभ्यता बिर्सेर पश्चिमा छाडा संस्कृति अपनाउँदा पनि किशोरकिशोरी बढी बिग्रेका छन् ।


किशोरकिशोरीमा हुने कुलत बढ्दै गए अपराधमा परिणत हुन्छ । त्यो अवस्था रूपन्देहीमा पनि देखिन थालेको छ । रूपन्देही प्रहरीकै तथ्यांकमा गत वर्ष मात्रै लागूऔषध दुरुपयोग, चोरी, डकैती, यौन दुव्र्यसनलगायत अपराधमा ८० भन्दा बढी किशोरकिशोरी पक्राउ परेका थिए । उनीहरूलाई दण्ड सजायभन्दा पनि संस्कार र शिक्षा दिएर कुलतबाट बचाउनुपर्ने हुन्छ । यही मान्यतामा रूपन्देही प्रहरीले समेत पाँच वर्षयता विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

७ देखि १२ कक्षा लक्षित कार्यक्रममा लागूपदार्थ, मादकपदार्थ तथा धूमपानलगायतको दलदलबाट कसरी बच्ने भन्नेबारे सिकाइन्छ । कानुनी उपचारले मात्रै समस्या समाधान नभएकाले कुलतमा लाग्ने र दुव्र्यसनमा बढी पर्ने विद्यार्थीलाई लक्षित गरी रोकथाम अभियान थालेको हो । जिल्ला प्रहरीका सूचना अधिकृत डीएसपी कुमोद ढुंगेलले यो अभियान चालु आर्थिक वर्षमा पनि जारी राख्ने बताए ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT