१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भारतले अन्तरिक्षमा मानव यान पठाउने

एपी

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा अन्तरिक्षमा मानव यान पठाउने घोषणा गरेका छन् । स्वतन्त्रता दिवसका अवसरमा बुधबार लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले स्वतन्त्रताको ७५ औं वर्ष पूरा भएको अवसरमा राष्ट्रिय झण्डासहित भारतीय नागरिकलाई अन्तरिक्षमा पठाउने बताएका हुन् ।

भारतले अन्तरिक्षमा मानव यान पठाउने

यसपछि अन्तरिक्षमा मानव पठाउने मुलुकमा भारत चौथो बन्ने उनले बताए । यसअघि रूस, अमेरिका र चीनले अन्तरिक्षमा मानव पठाइसकेका छन् । अन्तरिक्षमा मानव पठाउने यानको केही दिनअघि परीक्षणसमेत गरिसकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अन्तरिक्ष मिसनका लागि ९ अर्ब रुपैयाँको बजेट तय गरिएको छ ।

यसअघि पहिलो भारतीयका रूपमा राकेश शर्माले सन् १९८४ मा सोभियत रकेटमार्फत अन्तरिक्षको यात्रा गरेका थिए । अन्तरिक्ष कार्यक्रममा भारत सन् १९६० को दशकदेखि सक्रिय रहँदै आएको छ । यो मुलुकले आफ्नो र अन्य देशका लागि थुप्रै भूउपग्रह पठाइसकेको छ । सन् २०१४ मा एउटा भूउपग्रह मंगल ग्रहको कक्षमा समेत सफलताका साथ पठाइसकेको छ । प्रधानमन्त्री मोदीले ४ वर्षमा आफ्नो सरकारले देशको आर्थिक सुधार एवं गरिबी तथा भ्रष्टाचार न्यूनीकरणका लागि गरेका कामको सूची प्रस्तुत गरेका थिए ।

बीबीसीका अनुसार उनले महत्त्वाकांक्षी स्वास्थ्य योजना ‘आयुष्मान भारत’ का बारेमा पनि उल्लेख गरेका थिए । आगामी २५ सेप्टेम्बरबाट सुरु गरिने बिमा आधारित यो योजनाअनुसार करिब १० करोड गरिब परिवार लाभान्वित हुनेछन् । जसअनुसार प्रतिपरिवार ५ लाख रुपैयाँको बिमा गरिने र यसबाट गरिबले सुलभ रूपमा स्वास्थ्य सेवा पाउने उनले बताए ।

यस्तै, भारतीय सशस्त्र सेनामा सर्ट सर्भिस कमिसनका माध्यमबाट नियुक्त महिला अधिकारीलाई पुरुष समकक्षी सरह परीक्षा दिएर स्थायी बनाउने घोषणा पनि मोदीले गरेका छन् । उनले जम्मु कश्मीरमा लामो समयदेखि हुन नसकेको पञ्चायत र निकाय चुनावलाई पनि तत्काल गराइने बताए ।

मोदीले तीन तलाकजस्तो कुरीति अन्त्य गर्न संसद्को चालू अधिवेशनमा विधेयक पेस गरिएको पनि बताए ।

प्रकाशित : श्रावण ३१, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?