२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

इमरान प्रधानमन्त्री चयन

शपथ आज
रोयटर्स

इस्लामाबाद — पूर्वक्रिकेटर इमरान खान शुक्रबार पाकिस्तानको प्रधानमन्त्री चयन भएका छन् । गत जुलाईमा भएको आमनिर्वाचनमार्फत पहिलो दल बनेको तेहरिक–ए–इन्साफ (पीटीआई) अध्यक्ष इमरान साना दलको सहयोगमा प्रधानमन्त्री बनेका हुन् ।

इमरान प्रधानमन्त्री चयन

इमरान पाकिस्तानको २२ औं प्रधानमन्त्री बनेका हुन् । नेसनल एसेम्ब्लीमा शुक्रबार भएको मतदानमा इमरानले १ सय ७६ मत पाई विजयी भएका हुन् ।

पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका सेहबाज सरिफले ९६ मत पाए ।

राजनीतिमा लागेको दुई दशकपछि पहिलोपटक प्रधानमन्त्री बनेका इमरानले शनिबार पद तथा गोपनीयताको शपथ लिने बीबीसीले जनाएको छ ।

निर्वाचित भएलगत्तै इमरानले आफू पाकिस्तानको आर्थिक सुधार आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । हालैका वर्षहरूमा पाकिस्तानमा व्यापार घाटा बढ्नुका साथै मुद्रास्फीति भएको छ । यसअघि इमरानले कश्मीर मुद्दा समाधानका लागि भारतसँग वार्ता गर्न आफू तयार रहेको जनाएका थिए । उनले अमेरिकासँग पनि आफू आपसी हितका कार्यका लागि सदैव तयार रहेको बताएका थिए ।

हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवादलाई सहयोग गरेको आरोपमा पाकिस्तानलाई दिँदै आएको सैनिक सहयोग कटौती गरिदिएका थिए ।

जुलाईमा भएको निर्वाचनमा विपक्षीहरूले पाकिस्तानको शक्तिशाली सेना र गुप्तचर निकाय आईएसआईको समर्थनमा इमरान विजयी भएको आरोप लगाएका थिए । तर पीटीआईले भने मुलुकको ७१ वर्षको इतिहासमा पहिलोपटक सबैभन्दा पारदर्शी तथा शान्तिपूर्ण निर्वाचन भएको बताएको थियो ।

इमरान सन् २००२ मा पहिलोपटक नेसनल एसेम्ब्लीमा विजय भएका थिए । सन् २०१३ को चुनावमा भने उनको दल तेस्रो शक्तिको रूपमा उदायो । अफगानिस्तानमा भएको अमेरिकी हमलादेखि मुलुकभित्रको भ्रष्टाचार र कमजोर अर्थतन्त्रजस्ता विषयलाई प्रमुख एजेन्डा बनाएर चुनावमा होमिएका इमरानको दल यसपटक भने ‘नयाँ पाकिस्तान’ को नारासहित प्रथम बनेको हो ।

प्रकाशित : भाद्र २, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?