उत्तर कोरियाली नेताद्वारा अन्तर्राष्ट्रिय प्रतिबन्धको आलोचना

रासस

सिओल — उत्तर कोरियाली नेता कीम जोङ उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएको भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।

उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार, नेता कीमले मुलुकको उत्तरमा निर्माणाधीन परियोजनाको निरीक्षणका क्रममा अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाको सकारात्मक पहललाई अझै बुझ्न नसकेको बताए ।

Yamaha


पत्नीसहित उच्च अधिकारीका साथमा रहेएका कीमले साम्जीयोन काउन्टीमा सञ्चालित विकास परियोजनाको निरीक्षण गरेका थिए । यो परियोजनास्थल उनका बाबु कीम जोङ इलको जन्मस्थान हो ।

'दुश्मनले लगाएको प्रतिबन्ध र अवरोधक क्रियाकलापहरु हाम्रो समाजवादमाथिको विकासमा गम्भीर बाधा उत्पन्न गरिरहेका छन्,' कीमको भनाई उद्धृत गर्दै केसीएनएले भनेको छ, 'कठिन परिस्थितिमा पनि महान् नेताको नेतृत्वमा आमजनताले ऐतिहासिक सफलता प्राप्त गर्नेमा हामी ढुक्क छौँ ।'

गत साता, कीमले पूर्वी तटीय क्षेत्रमा निर्माणाधीन वोन्सान-कल्माको निरीक्षणका क्रममा पनि दुश्मनहरुले लुटेरा शैलीमा अवरोध गरेको आरोप लगाएका थिए ।

कीमले अमेरिकाका तर्फबाट दबाब सिर्जना गर्न विगतमा उत्तर कोरिया विरुद्ध लगाइएका आर्थिक तथा अन्य प्रतिबन्धहरु खुला गर्नुको साटो अझ कडा पारेको भन्दै आलोचना गरिरहेका छन् ।

अमेरिकी अर्थ मन्त्रालयले बुधबार मात्र उत्तर कोरियामाथि लगाइएका आर्थिक अवरोधलाई बेवास्ता गर्ने चिनीया र रुसी फर्ममाथि नयाँ प्रतिबन्धहरु लगाएको थियो ।

Esewa Pasal

प्रकाशित : भाद्र ३, २०७५ १४:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छिटो पैसा कमाउ, नेपाल जाउ

गोकुल थोकर

काठमाडौँ — सँगै काम गर्ने कोरियन बुढा छन् । उमेरले साठी काटेका । अनुहार हेर्दा त्यति धेरै उमेर भयो होला भन्ने अनुमान हुँदैन । दाँत पुरै छ । सेतै फुलेको कपाललाई मेहेन्दीले कालो वनाएका । सधै चिटिक्क भएर हिड्ने उनले निधारमा हल्का जुल्फी राखेका छन् ।

कोरियामा काम गर्न जानका लागि दिइने भाषा परीक्षाको फारम भर्न राजधानीमा लाम लागेका युवाहरु । फाइल तस्बिर ।

काम गर्दै थाक्ने बेलामा यसो जुल्फी हल्लाउँछन् । कोरियन स्टाइलमा भित्रैबाट स्वास निकालेर ‘सिस्स’ गर्छन् । नेपाली भएको भए बुढेसकाल धर्मकर्म भन्थे होलान् । जिन्दगीमा जे गर्नु गरियो अब भगवानको लागि भन्थे होलान् । कोरियन न परे कताको धर्मकर्म हुनु ? ‘सकुन्जेल आफै काम गर्छु । नसकेको दिन देखा जाएगा’ युवा जोशमा उनी भन्छन् ।

उनले जिन्दगीका सबै रंग देखेका छन् । दु:खको चरम देखेका छन् । भोगेका छन् । उनका दु:खका कुरा सुने हामी नेपालीले के दु:ख भेगेका रहेछौं र भन्ने लाग्छ । सत्तरीको दशकमा उनी युवा थिए । ज्यानमा बल थियो । परे ढुंगा खाएर पचाउने उमेर थियो । देशमा द्वन्द्व सकिएको त थियो तर अभाव र गरिबी चरम रुपमा थियो । त्यो बेला समुद्रको माछा र लेउ खाएर परिवार चलाउनुको बिकल्प थिएन । ‘समुद्रमा माछा मार्न पनि सजिलो थिएन । माछा मार्न नसकेको बेला समुद्रको किनारा छेउछाउ पाइने बिभिन्न किराहरु खाने बानी नै पर्‍यो । त्यो पनि भेटाइन भने लेउ मात्रैले पनि कति छाक टर्‍यो टर्‍यो । कतिदिन त भोक भोकै पनि बित्यो । त्यसको के हिसाब गर्नु ?’ पुराना दिनहरु सम्झदा उनका चिम्सा आँखा झन चिम्सिन्छन् ।
उनी टुटे फुटेका अंग्रेजी बोल्छन् । बिदेशमा काम गर्न जाँदा सिकेका रहेछन् । कुरा गर्न त्यसैले पनि सजिलो भएको छ । बुढा बेला न कुबेला गफिन्छन् । अनि कति खेर हामीले गरेको काम चित्त नबुझे झनक्क रिसाउँछन् । बुढेस काल भएर होला । हामी मन बुझाउँछौं । हुन त उनी कम्पनीका हकिम झैं हुन् । पद केही नदिए पनि उनलाई कोरियनहरुले पनि केही भन्दैनन् । मन लागे काम गर्छन् । मन लागे आराम । सबैले हराबजी अर्थात हजुरबा भनेर सम्मान गर्छन् । सानाले ठूलालाई सम्मान गर्ने संस्कार भएर हो कि?
पुरानो कोरियाको कथा हामीसँग ठ्याक्कै मिल्छ । ‘देशमा काम थिएन । खानाको समस्या उस्तै थियो । अरु साथीहरु बिदेशमा काम गर्न जान्थे । म पनि लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा थिएँ । बिदेशमा गएर केही कमाउने रहर थियो' त्यसैले नेपालीहरु अहिले गए जस्तै मलेसिया गएर काम गरेका थिए बुढाले । ‘गर्मी खुब हुने त्यता कोरियामा त चिसो पनि हुन्छ नी । त्यहाँ त गर्मीका गर्मी’ उनी थप्छन् ।

‘अलिअलि पैसा कमाएँ । देशमा आएर एउटा सानो प्लास्टिकको झोला बनाउने कम्पनी खोलेँ । दिन रात नभनि काम गरेँ । कम्पनी नाफाको नाफामा गयो । जिन्दगीमा नसोचेको पैसा देखियो । जता गयो । त्यतै आनन्द । नोरेवाङ – गीत गाउन पाइने रेष्टुरेन्ट गयो केटीहरु लाइन लाग्थे । साथीभाइ आफन्त सबै थिए । रक्सीको खोला बगाइयो । गाडी किनेँ । बजारमा घर किने । बिहे गरेँ । भाइ यो पैसा भनेको कहिले सकिन्छ थाहै नहुने’ बुढा सुनाई रहन्छन् ।

‘जिन्दगी भनेको घडी जस्तै रहेछ । घुम्दै जाँदा एक दिनमा एक पटक घन्टा, सेकेन्ड र मिनेटका सुई एकै ठाँउमा पुग्ने’ छ दशकको जिन्दगी बाँचेपछि उनले बुझाई हो यो । बुढाको जिन्दगीमा फेरि दु:ख सुरु भो । ‘ब्यापार घाटा भो । भएका जोडेका सम्पति सकिंदै गयो । हुँदा आफन्त बन्नेहरुले छाडे । हुँदाहुँदा भएकी श्रीमतीले पनि डिभार्स गरिन् । जिन्दगीका कुरा हुन् भोलि के हुन्छ यसै भन्न सकिन्न’ उनी हामीलाई सम्झाउँछन् ।
‘हरेस कहिल्यै नखानु । पहिले के खाऊ ? के लाऊ भन्ने बेलाथ्यो । मैले श्रीमती छोड्दा दु:खले बनाको घर पनि छाडेँ । रक्सी खुब खान्थे । रक्सी छाडे । अहिले कोक खान्छु ।’ हो पनि उनी कोकको फ्यान हुन् । मल्टिनेसनल कल्चर पनि हुन सक्छ । जति खेर पनि कोक खान्छन् । ‘म आजकाल गेम खेल्छु’ कोरियामा खुब फेमस छ बेस बल । उनी त्यही खेल्छन् । हातमा बेस बल क्लबको नामभएको फित्ता बानेका छन् ।
‘पैसा हुनेहरुले मैले जसरी नै कम्पनी खोले । कामको अभाब भएन । हाम्रो देशको उत्पादन विदेश जान लाग्यो । देशको आर्थिक अबस्था राम्रो भो । मेरो कम्पनी घाटामा गए पनि
मलाई काम खोज्न गाह्रो छैन । हामीले कस्तो कस्तो दु:ख खेपेका छौं । मलाई कुनै काम पनि गाह्रो लाग्दैन । गर्छु भन्नेलाई कामको अभाव छैन । जीवन चलाउन सक्ने पैसा त जसले जसरी पनि कमाउन सक्छ ।’ हो पनि । कोरियामा कामको अभाव छैन । कामदारको अभाव छ । त्यसैले त बिदेशी कामदार डाक्छन् ।
‘बिदेशमा जति काम गरे पनि आफ्नो देशमा गरे जस्तो हुँदैन । जे भएपनि आफ्नै देशमा गर्नु पर्छ । मेरो पनि मनमा फेरि एउटा कम्पनी चलाउने रहर छ । अहिले पैसा छैन । अपार्ट किनें । गाडी नयाँ लिएँ । अझै कमाउन सके कम्पनी खोल्छु होला । विदेशमा पैसा कमाउनु पर्छ । अनि आफ्नै देशमा सदुपयोग गर्नु पर्छ । 'थोन मानी फर । नेपालखा । त्यसैले छिटो पैसा कमाउ र नेपाल जाउ ।’

प्रकाशित : भाद्र ३, २०७५ १३:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT