कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

आतंकवादको चपेटामा बेलायत

सुरक्षा संयन्त्रले करिब ७ सय सम्भाव्य आतंकवादी हमलाबारे अनुसन्धान गरिरहेको सार्वजनिक

लन्डन — गत मंगलबार बिहान बेलायती संसद् भवन बाहिर पैदल तथा साइकल यात्रुमाथि जानी जानी कार ठोक्काउने सालिह खातेरलाई हत्या प्रयाससहित २ भिन्न अभियोग लगाइएको छ । सुडानी मुलका २९ वर्षीय खातेर बेलायतको बर्मिघम निवासी हुन् ।

आतंकवादको चपेटामा बेलायत

३ जना घाइते हुने गरी भएको घटनालाई मेट प्रहरीले आतंकवादी आक्रमणका रुपमा हेरेको छ । सालिहलाई आज वेष्टमिनिष्टर म्याजिस्ट्रेटस कोर्टमा उपस्थित गराइनेछ ।


घटनापछि बेलायती सुरक्षा संयन्त्र थप सतर्क बनेको छ । संसद् भवन नजिक आतंककारी हमला ठानिएको घटनापछि बेलायतको सुरक्षा संयन्त्रले करिब ७ सय सम्भाव्य आतंकवादी हमलाबारे अनुसन्धान गरिरहेको सार्वजनिक भएको छ ।

बेलायती प्रधानमन्त्री प्रधानमन्त्री टेरेजा मेले देशको इतिहासमै सबैभन्दा बढी आतंककारी हमलाको खतरा व्यहोरिरहेको चेतावनी दिएपछि यो जानकारी सार्वजनिक भएको हो ।


अधिकारीहरुले आतंककारी हमलाको स्रोत हुनसक्ने ठानिएका ६ सय ७६ सम्भाव्य घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । ६ महिनाअघि त्यस्ता ५ सय मात्र घटनाबारे अनुसन्धान भइरहेको थियो । उनीहरुले सुरक्षा दलहरु तथा आतंकवाद विरोधी प्रहरीले गएको झण्डै डेढ वर्षयता १३ वटा इस्लामवादी योजनाहरु विफल पारिदिएको जनाएका छन् । त्यस्तै चरम दक्षिणपन्थीहरुले बनाएका थप ४ योजना पनि असफल पारिएको उनीहरुले बताए ।


डेली एक्सप्रेसले जनाएअनुसार सन् २०१० देखि २०१७ सम्म आतंकवादी क्रियाकलापका संलग्न रहेको अभियोगमा २ हजार २९ लाई गिरफ्तार गरिसकिएको छ । गत डिसेम्बरसम्म एक वर्षको अवधिमा ४ सय १२ जना पक्राउ परेका थिए । बेलायती सुरक्षामन्त्री बेन वालेसले इस्लामिक उग्रवादी र चरम दक्षिणपन्थी दुवैबाट आतंकवादी आक्रमण योजना बढिरहेको र सुरक्षा संयन्त्रले प्रत्यक्ष अनुसन्धान पनि जारी राखेको बताए ।


प्रधानमन्त्री मेले निरन्तर आक्रमण बढिरहँदा देशवासीलाई एकै ठाउँमा जुट्न आव्हान गरेकी छन् । गत मंगलबार वर्ष दिनभित्र दोश्रो पटक संसद् भवन बाहिर वेष्टमिनिस्टर आक्रमण भएपछि प्रधानमन्त्रीले भनिन्, ‘दोस्रो पटक सहनशीलता र स्वतन्त्रताको प्रतिक हाम्रो प्रजातन्त्रको घरको ढोका छेउमै भयानक दृश्य देख्नुपर्‍यो । आतंकवादको धम्की ब्रिटेनमा उच्च छ । तर, म सबैलाई होसियार रहन र आफ्नो दैनिकी यथावत सञ्चालन गर्न आग्रह गर्दछु ।’


उग्रवादीहरुको लक्ष्य आतंक र हिंसामार्फत आफूहरुलाई विभाजित गर्ने भएपनि त्यो कहिल्यै सफल नहुने विश्वास प्रधानमन्त्री मेको छ ।


सन् २०१७ मा बेलायत अन्य युरोपेली मुलुकको तुलनामा सबैभन्दा बढि आतंकवादी आक्रमणको चपेटामा पर्‍यो । युरोपोलले युरोपका अन्य देशभन्दा बेलायतले धेरै आक्रमण सामना गरेको जनाएको हो ।


गत वर्ष आइसीसबाट प्रभावित आक्रमणबाट बेलायतको वेस्टमिनिस्टर, म्यानचेस्टर र लन्डन ब्रीजमा ३६ जनाले ज्यान गुमाएका थिए ।


युरोपोलका अनुसार बेलायतपछि स्पेनमा १६, स्वीडेनमा ५, फ्रान्समा ३, फिनल्याण्डमा २ र जर्मनीमा एकजनाले आतंककारी आक्रमणमा ज्यान गुमाए । घटनामा युरोपभर ८ सय घाइते भएका थिए ।

प्रकाशित : भाद्र ३, २०७५ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?