इमरान सरकारी निवासमा बसेनन् 

 प्रधानमन्त्री निवास अनुसन्धान विश्वविद्यालय बन्ने
एजेन्सी

इस्लामावाद — पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री तथा पूर्वक्रिकेटर इमरान खानले सोमबार विभिन्न लोकप्रिय निर्णय गरेका छन् । 

आफ्नो इनिङ आक्रामक रुपमा सुरु गरेका खानले दरबार जस्तो प्रधानमन्त्री निवासलाई अनुसन्धान विश्वविद्यालयमा परिणत गर्ने घोषणा गरेका छन्। उक्त घोषणासँगै खान सैनिक सचिवालयको सामान्य तीन बेडरुमको घरमा सरिसकेका छन्।

Yamaha

उनले आफूले बानिगालास्थित घरमा बस्न चाहेपनि सुरक्षा अधिकारीले खतरा देखाएकाले सैनिक सुरक्षा भएको घरमा बस्नुपरेको उनले बताएका छन्।

उनले विगतमा प्रधानमन्त्रीका सहयोगी र सहायकका रुपमा कार्यरत ५ सय २४ जनाको टिमलाई २ मा सीमित पार्ने जनाएका छन्।

खानले विगतमा प्रधानमन्त्रीका लागि छुट्याइएका ३३ वटा बुलेट प्रुफ कारसहित ८० वटा गाडी लिलामीमा बिक्री गरी शिक्षाबाट वञ्चित करिब २ करोड बालकालिकालाई विद्यालय पढ्न पठाउने जनाए। खानले लिलामीमा राखिने गाडी खरिदका लागि व्यपारीलाई आह्वान समेत गरे।

प्रधानमन्त्रीको लागि छुट्याइएको अतिरिक्त हेलीकोप्टर समेत विक्री गर्ने जनाउँदै खानले उक्त रकम मातृशिशु मृत्युदर घटाउन खर्चने घोषणा गरे। उनले राष्ट्रका नाममा सम्बोधन गर्दै राज्यको खर्च कम गर्न आफुले सेवासुविधा कम गर्न लागेको बताए।

‘प्रधानमन्त्रीसँग ३३ बुलेटप्रुफ कार, उड्नलाई हेलिकप्टर र जहाज छन्। तर जनताका आवश्यकता पुरा गर्ने पैसा छैन,’ इमरानले भने। उनले विगतका शासकले नवउपनिवेश कायम गर्ने गरेको आरोप लगाए।

खानले प्रधानमन्त्री तथा उच्चपदस्थ व्यक्तिको भ्रमणमा हुने अनावश्यक खर्च कटौती गर्ने जनाए। उनले सबै सरकारी निवासहरु सकेसम्म सामान्य बनाउने बताए। उनले नयाँ सोचले मात्र नयाँ पाकिस्तान बन्ने उल्लेख गरे।

यसअघि खानले देशमा भ्रष्टाचारको अत्य गर्न अभियान नै चलाउने बताएका थिए। भ्रष्टाचारीप्रति शून्य सहनशिलता अपनाउने बताउँदै इमरानले राष्ट्रको सम्पत्ति लुट्नेलाई आफूले नछोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पाकिस्तान मुस्लिम राष्ट्रका रुपमा स्थापित भएदेखि नै जनताले स्थायित्व र सुशासनको लागि प्रतिक्षा गरेपनि ७१ वर्ष खेर गएको दाबी गर्दै उनले भने, ‘अब म देशवासीको परिवर्तनको चाहना पूरा गरेरै छाड्छु।’

उनले आफू राजनीतिक परिवारको सदस्य नभएको बताउँदै आफूले जनतासमक्ष गरेका बाचा पुरा गर्ने प्रतिबद्धता जनाए। उनले पाकिस्तानमा भ्रष्टाचार मौलाएका कारण जनतामा छाएको निराशाको अन्त्य गर्ने दाबी गरे।

प्रकाशित : भाद्र ५, २०७५ २०:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नगरपालिकाको निर्देशन विद्यालयले मानेनन् 

कान्तिपुर संवाददाता

इलाम — कक्षा ११ र १२ कक्षाको पठनपाठन दिउँसो गराउने इलाम नगरपालिकाको प्रयास असफल भएको छ । नगरपालिकाले सबै उच्च माध्यमिक तहका कक्षा दिउसो मात्र चलाउन निर्देशन दिए पनि विद्यालयले अस्विकार गरेका हुन् । 

सदरमुकामकाको धेरै विद्यार्थी भएको आदर्श उच्च माविले शुक्रबारदेखि दिउसो कक्षा सञ्चालन गर्न खोजे पनि विद्यार्थी नै नमानेपछि आइतबारदेखि पुन: विहान नै पठनपाठन हुन थालेको छ ।

दिउँसो पठनपाठन गर्न असम्भव भएको भन्दै शुक्रवार विद्यार्थी सहित नगर प्रमुखको कार्यलयमा पुगेका थिए । करिव २५ विद्यार्थी एकसाथ दिउँसो पढ्नु पर्दा भौतिक संरचनाले नथेग्ने प्रधानाध्यापक कुमार पौडेलले बताए ।

शिक्षक व्यवस्थापनमा पनि दिउँसो कक्षा सञ्चालन गर्न समस्या भएको विद्यालयको भनाइ छ । यो विद्यालयका विद्यार्थीले आदर्शलाई मात्र नगरपालिकाले बढी दबाब दिएको जनाएका छन् ।

नगरपालिकाले भने शिक्षा ऐनअन्तर्गत हरेक विद्यालयले क्षमता अनुसार मात्र विद्यार्थी भर्ना गराउनु पर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने भएकाले यो नियम लगाएको जनाएको छ ।

शनिबार सम्पन्न नगरपालिका र विद्यालयपक्षबीच भएको छलफलले कार्यदल गठन गर्दै विद्यालयको भौतिक संरचना, विद्यार्थी संख्या, कर्मचारी संख्या र अव अवलम्बन गर्नुपर्ने नीतिबारे अध्ययन गर्नेछ ।

प्रकाशित : भाद्र ५, २०७५ २०:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT