२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

मलेसियाले भन्यो- चिनियाँ परियोजना चाहिँदैन

एपी

बेइजिङ — मलेसियाले चिनियाँ लगानीमा सञ्चालन हुने अर्बौं डलरको परियोजना रद्द गरेको छ । प्रधानमन्त्री महाथिर मोहम्मदलाई उद्धृत गर्दै मलेसियाली सरकारी समाचार संस्थाले उक्त जानकारी दिएको हो ।

मलेसियाले भन्यो- चिनियाँ परियोजना चाहिँदैन

प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो यात्राको अन्तिम दिन बेइजिङमा मंगलबार संवाददाताहरूलाई भने, ‘मलुकलाई ऋणमा डुबाउने उक्त परियोजना मलेसियालाई आवश्यक नभएकाले रद्द गरिएको छ ।’ उनले चिनियाँ राष्ट्रपति सी जिङपिङ र प्रधानमन्त्री ली केकियाङ दुवैले परियोजना रद्द गर्नुको कारण बुझेको र ‘त्यसलाई स्वीकार’ गरेको समेत बताए ।


करिब २२ खर्ब ३४ लाख रुपैयाँ (२० अर्ब डलर) को पूर्वीय तटीय रेल लिंक र २ खर्ब ५७ अर्ब (२ दशमलव ३ अर्ब डलर) को दुईवटा ऊर्जा पाइपलाइन परियोजनाहरू मलेसियाले पहिलेदेखि नै स्थगित गरेको थियो । ‘यी परियोजनाहरूमा धेरै रकम खर्च हुन्छ, जुन हाम्रो क्षमताभन्दा बाहिर छ, ऋण सहयोगमा बन्ने भएकाले त्यो रकम हामी चुक्ता गर्न सक्तैनौं,’ प्रधानमन्त्री महाथिरले भने, ‘त्यसैले हामीलाई तत्काल यी परियोजनाहरूको आवश्यकता छैन ।’ उनका अनुसार आवश्यक परेको अवस्थामा भविष्यमा यी परियोजनालाई पुन: सुचारु गर्न सकिनेछ । उनले भने, ‘मलेसिया हाल आफ्नो राष्ट्रिय ऋणलाई कम गर्नमा केन्द्रित छ । ऋणप्रति हामी सावधान नभए मुलुक टाट पल्टिन सक्छ ।’


चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले मंगलबार आफ्नो दैनिक ब्रिफिङमा पत्रकारहरूसँग भने, ‘चीन र मलेसियाबीच व्यापार र आर्थिक सहयोगले दुवै मुलुकलाई धेरै महत्त्वपूर्ण लाभ पुगेको छ । तथापि दुई मुलुकका लागि विभिन्न समस्याहरूको समाधान हुनु अनिवार्य छ । विभिन्न चरणमा असहमतिहरू पनि छन् ।’


उनले दुई मुलुकबीचको असहमतिहरूलाई मैत्रीपूर्ण रूपमा सही तरिकाले समाधान गर्न सकिने बताए । बेइजिङ जानुभन्दा अघि नै महाथिरले एसियाको बन्दगाह, रेल्वे र अन्य व्यापारसम्बन्धी आधारभूत संरचनाहरूको निर्माणमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ को हिस्सा रहेको मलेसियालाई परियोजनाहरूको आवश्यकता नरहेको बताएका थिए । ती परियोजनाहरू चिनियाँ ठेकेदार कम्पनी र चीनको ऋण सहयोगमा बन्ने समझदारी भएको थियो ।

प्रकाशित : भाद्र ६, २०७५ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?