कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

‘नेपालको संविधान विश्वकै उत्कृष्ट’

लन्डन — आयरल्यान्डका राष्ट्रपति माइकल डी हिगिन्सले सन् २०१५ मा संविधानसभाबाट जारी नेपालको संविधान लोकतान्त्रिक, समावेशी र विधिको शासनका मूल्य र मान्यता समाहित विश्वकै उत्कृष्ट संविधान भएको बताएका छन् ।

‘नेपालको संविधान विश्वकै उत्कृष्ट’

नेपाल–आयरल्यान्डबीच दौत्य सम्बन्ध स्थापनाको बीस वर्ष पुगेको अवसरमा नेपाली दूतावासद्वारा आयरल्यान्डको राजधानी डब्लिनमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपतिले गत वर्ष सम्पन्न आमनिर्वाचनले नेपालमा राजनीतिक स्थायित्व हासिल भई आर्थिक विकासको निम्ति मार्ग प्रशस्त भएको बताए ।

उनले नेपाल र आयरल्यान्डबीचको सरकारी सम्बन्धलाई अब जनस्तरमा समेत विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । ‘साहित्य, संगीत, कला र संस्कृतिको आदानप्रदानका माध्यमबाट जनस्तरमा सम्बन्ध विस्तार गर्न सकिन्छ’, आयरल्यान्डको राजधानी डब्लिनमा आयोजित कार्यक्रममा हिगिन्सले भने, ‘भौगोलिक रूपमा आयरल्यान्ड र नेपाल टाढा रहे पनि दुई मुलुक कला, साहित्य, संगीत, संस्कृति र प्रकृतिको समृद्धि एवं शान्ति, मैत्री, भ्रातृत्व र विश्व बन्धुत्वप्रतिको समान आस्थाका कारण धेरै नजिक छन् ।’

डब्लिनस्थित कूटनैतिक नियोगहरूले आयोजना गर्ने कार्यक्रममा आयरल्यान्डका राष्ट्रपतिको उपस्थिति विरलै हुने गरेकामा नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी भई हिगिन्सले आयरल्यान्ड र नेपालले एकै दिन संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेको समेत स्मरण गरे । उनले विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा नेपाल र आयरल्यान्डको साझा धारणा रहेको र संयुक्त राष्ट्रसंघको तत्वावधानमा यी दुई मुलुकले विश्वमा शान्ति स्थापना गर्न आआफ्ना सैनिक परिचालन गरिरहेको समेत बताए ।

उनले नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण समृद्व राष्ट्र भएको उल्लेख गर्दै विविधताबीचको एकतालाई सदियौंदेखि जोगाएर राखेका नेपाली जनता धन्य रहेको पनि उल्लेख गरे ।

आफ्ना चार काव्यकृति र तीनवटा राजनैतिक ग्रन्थ प्रकाशित भएको उल्लेख गर्दै हिगिन्सले बेलायत र आयरल्यान्डका लागि नेपाली राजदूत सुवेदीले आफ्ना प्रतिनिधि कविताहरू नेपाली भाषामा अनुवाद र सम्पादन गरी ‘माइकल डी हिगिन्सका प्रतिनिधि कविता’ का रूपमा प्रकाशन गरेकामा कृतज्ञता व्यक्त गरे ।

प्रकाशित : भाद्र ८, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?