२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

स्कट मरिसन अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चयन भएका छन् । ५० वर्षीय मरिसनले आज शुक्रबार साँझ अष्ट्रेलियाका गर्भनर जनरल पिटर कोसग्रोभ समक्ष सपथ लिएसँगै अष्ट्रेलियाका ३० औं प्रधानमन्त्री बनेका हुन् । 

स्कट मरिसन अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री

सत्तारुढ दलमा देखिएको नेतृत्व विवाद चर्कंदै गएपछि शुक्रबार भएको आपसी निर्वाचनबाट काेषाध्यक्ष समेत रहेका मरिसन दलका नेता तथा प्रधानमन्त्रीमा चयन हुन सफल भएका हुन् । यसैगरी अहिलेका उर्जामन्त्री जोस फयाडनबर्ग पार्टीका उपनेता तथा काेषाध्यक्ष नियुक्त भएका छन् । उनले पूर्ण मन्त्रिपरिषद एक साताभित्रैमा घोषणा गर्ने बताइएको छ ।


लिवरल दलमा देखिएको नेतृत्व विवादले ३ दिनभित्रैमा रोचक मोड लिएपछि पार्टीभित्रै भएको निर्वाचनबाट मरिसन अर्का प्रतिष्पर्धी पिटर डट्टन तथा जुलि विसपलाई पराजित गर्दै प्रधानमन्त्री बन्न सफल भए । नेतृत्वको निर्वाचनमा तत्कालिन प्रधानमन्त्री माल्कम टर्नबुलले सहभागिता नजनाउने बताएपछि मरिसन उनको समर्थनमा नेतृत्वका लागि अघि सरेका थिए ।


सत्तामा रहेको लिबरल पार्टीमा तत्कालिन प्रधानमन्त्री माल्कम टर्नबुललाई समर्थन नरहेको भन्दै ३ दिनअघि नेतृत्वका लागि पार्टीका अर्का प्रभावशाली नेता पिटर डट्टनले चुनौती दिएपछि विवाद सतहमा आएको थियो । दुईदिन पहिले भएको यस्तै निर्वाचनमा टर्नबुल विजयी भएपनि लगत्तै भोलिपल्ट डट्टनले पुन नेतृत्वका लागि चुनौती दिएपछि शुक्रबार निर्वाचन भएको हो । तर शुक्रबार भएको निर्वाचनमा भने टर्नबुलले प्रतिष्पर्धाबाट अलग हुने जनाएपछि मरिसन र विदेशमन्त्री जुलि विसपले नेतृत्वका लागि प्रतिष्पर्धामा उत्रने जनाएका थिए । शुक्रबार दिउँसो भएको निर्वाचनमा मरिसनले डट्टनलाई ५ मतले पराजित गर्दै पार्टीका नेता तथा प्रधानमन्त्री बन्ने अवसर पाएका हुन् ।

सोसल कन्जरभेटिभ लिवरल नेताका रुपमा चिनिने मरिसन यसपहिले टोनी अबटको सरकारमा अध्यागमन मन्त्री भएका थिए । डुङ्गाबाट अवैध रुपमा भित्रने आप्रवासीलाई रोक्न महत्वपुर्ण भुमिका निभाएर चर्चामा आएका उनी अष्ट्रेलियाको राजनीतिमा महत्वकांछी नेताका रुपमा चिनिन्छन् । टर्नबुलको प्रधानमन्त्रीकालमा ट्रेजरर रहेर चर्चा कमाएका उनी राजनीतिमा आउनुपहिले टुरिज्म अष्ट्रेलियाको निर्देशकको रुपमा समेत कार्यरत थिए । सन २००७ देखि केन्द्रीय राजनीतिमा पाईला राखेका उनले त्यसपछि सरकारको बिभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका अनुभवी राजनीतिज्ञ मानिन्छन् ।


अष्ट्रेलियामा अहिले भएको नेतृत्व परिवर्तनको खेललाई यहाँका स्थानीयहरुले भने सकारात्मक रुपमा लिएका छैनन् । १० वर्षको अवधिमा ७ प्रधानमन्त्री पाइसकेको अष्ट्रेलियामा ११ वर्ष सत्ता सञ्चालन गरेका पूर्व प्रधानमन्त्री जोन हवार्डको पालादेखि अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीले आफ्नो पूर्ण कार्यकाल पुरा गर्न पाएका छैनन् । अष्ट्रेलियाको राजनीतिलाई नजिकबाट बुझेका डा. भरतराज पौडेल विगत केही हप्तादेखि सर्वेक्षणमा विपक्षी दल लेबर अघि देखिएको र लिबरलको आपसी विवाद सतहमा आएका कारण अब ८ महिनापछि हुने निर्वाचनमा विपक्षी दलले सरकार बनाउने सम्भावना बढेको सुनाउँछन् ।


प्रकाशित : भाद्र ८, २०७५ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?