बेलायत सहमति बिनै इयूबाट बाहिरिन पनि तयार

नविन पोखरेल

लन्डन — बेलायत सरकारले कुनै सहमति बिना नै युरोपीयन युनियन (इयू) बाट बहिर्गमन भए यसबाट पर्न सक्ने असरबारे यहाँका जनता र ब्यवसायीलाई वैकल्पिक सल्लाह सामाग्री प्रकाशित गरेको छ ।

बेलायतको प्रमुख प्रतिपक्षी दल र बहुमत ब्यवसायीहरुले बिना सम्झौता बेलायत बाहिरिए ठूलो आर्थिक तथा सामाजिक समस्या बेहोर्नुपर्ने चेतावनी दिइरहंदा सरकारले पहिलो चरणमा २५ कागजातको ‘नो डिल ब्रेक्जिट एड्भाइस’ आएको हो ।

Yamaha

बेलायत सरकारले इयूसंग सहमतिका लागि प्रयास सधैं जारी राख्ने तर जस्तोसुकै परिस्थिति सामना गर्न तयार रहनुपर्ने भएकाले सावधानी गराउन जरुरी रहेको बताएको छ ।

इयू विरोधीहरुले भने विश्व ब्यापार संघसंग निकटतालगायत बेलायतको आफ्नै व्यापारिक नीति तय गर्न सकिने तर्क अघि सार्दै इयूको डरबाट बाहिर आउनुपर्ने बताएका छन् ।

इयूले भने आफ्नो तयारी पहिले नै गरिसकेको छ । बेलायत आगामी मार्च २९, २०१९ देखि इयूबाट औपचारिक रुपमा बहिर्गमन हुँदैछ । यसपछि बेलायत र इयूबीच के कस्तो सम्बन्ध हुने भन्ने सम्झौताको निक्र्यौल हुन बांकी नै छ । कुन शर्त राखेर बेलायत इयूबाट निस्कने भन्नेमा बेलायतभित्र चर्को मतभेद छ । बेलायत सरकारले इयूसंग फ्री मुभमेन्ट अन्त्य गरि सामान र सेवाका लागि मात्र इयू कमन मार्केटमा रहिरहने शर्त अघि सारेको छ । तर, बेलायतको यस्तो प्रस्ताव इयूले अस्वीकार गरिसकेको छ । इयूको फ्री मुभमेन्टले इयू आप्रवासी संख्या बेलायतमा निकै बढेपछि इयू विरोधी जनमत बढेको विश्वास गरिन्छ ।

बेलायतको जम्मा निर्यात ब्यापार यस वर्षको मार्चसम्ममा सबैभन्दा उच्च ६२० दशमलब २ अर्ब पाउण्ड पुगेको छ । सामानको १० प्रतिशत र वित्तीय एवं ट्राभल गरि सेवामुलक ४ दशमलब २ प्रतिशतले वृद्धि भएको छ ।

आयात र निर्यात गरि करिब ५० प्रतिशत बेलायतको ब्यापार इयूसंग रहेकाले बिना सम्झौता बेलायत बाहिर निस्के आर्थिक रुपले मुल्य चुकाउनुपर्ने लन्डनस्थित अर्थ ब्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्य बताउँछन् । इयू कमन मार्केट छोडी बिश्व ब्यापार संघको नियममार्फत ब्यापार गर्न महंगो हुने र केहि समयका लागि बेलायत अस्थिरतातर्फ उन्मुख हुने ब्रेक्जिट जानकार आचार्यको विश्लेषण छ ।

बेलायतको स्वास्थसेवा, सुरक्षा, कृषि, वित्तीय आदि क्षेत्रमा इयूको भूमिका उल्लेखनीय छ । युरोपियन युनियनबाट आउने कामदारको सहज आपूर्तिबिना बेलायतको ब्यवसायमा प्रतिकुल असर पर्ने ब्यवसायीहरुले बताउंदै आएका छन् ।
सन् २०१६ जुनमा भएको जनमत संग्रहमा ५२ प्रतिशतले इयू छोड्नुपर्नेमा मतदान गरेका थिए । ब्यवहारिक झन्झट, आर्थिक उथलपुथल, नियम कानुनको झमेला तथा वार्तामा सोचे अनुरुप प्रगति हुन नसकेका कारण इयू छोड्नुपर्ने भन्ने बेलायती जनमतमा केहि ह्रास आएको विश्लेषकहरु बताउँछन् । इयू छोड्नुपर्ने पक्षधरको मुल मुद्दा भने बढ्दो आप्रवासी संख्या कम गर्न कडा ब्रेक्जिट सम्झौता नै हुनुपर्ने अडान छ ।

बेलायतमा हाल करिब ३० लाख इयू देशका आप्रवासी छन् । उत्तरी आयरल्याण्डको सीमा समस्या समाधानबारे पनि सहि नीति अवलम्बन गर्नुपर्ने हुन्छ । सन् १९९८ मा भएको शान्ति सम्झौता अनुरुप आइरिस रिपब्लिक एवं उत्तरी आयरल्याण्डबीच कुनैपनि चेक पोष्ट राख्न नपाउने प्रावधान छ । आउँदो अक्टोबरभित्र इयूको कमन मार्केट एवं भन्सार संघ बेलायत रहने वा छोड्ने अथवा कुन सर्तमा रहने भन्ने कुराको निक्यौल गर्नुपर्ने छ । यस अवधिसम्म प्रधानमन्त्री टेरेजा मेको नेतृत्वको परीक्षण हुने आंकलन गरिएको छ ।

आगामी मार्च २०१९ मा आधिकारिक रुपले बेलायत इयूबाट बहिर्गमन भएपनि अर्को दुई वर्ष संक्रमणकालीन सम्झौता अनुरुप बेलायतले इयूको सबै नियम कानुन मान्नुपर्ने कुरामा सहमति भइसकेको छ । बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीसंग संसदमा स्पष्ट वहुमत नभएकाले आफ्नो ब्रेक्जिट नीतिमा अडिक रहिरहन प्रधानमन्त्री मेलाई सहज छैन् ।

Esewa Pasal

प्रकाशित : भाद्र ८, २०७५ १७:५३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मकवानपुरको एउटा गाउँ, जहाँ कुखुरा नै पालिन्न

गोपाली गाउँमा खाँदैनन् मासु र अन्डा
प्रताप विष्ट

थाहा (मकवानपुर) — हिमाल, पहाड होस् वा तराई, अधिकांशले कुखुरा पाल्ने गर्छन् । थोरैले व्यावसायिक र धेरैले परम्परागत ढंगले कुखुरा पालिरहेकै छन् । तर मकवानपुरको उत्तरी क्षेत्रमा यस्ता गाउँ छन् जहाँ कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् । मासु र अन्डा पनि खाँदैनन् । कुखुराको साटो ती गाउँका मानिस हाँस पाल्छन् । थाहा नगरपालिका वडा १ र १० का कुन्छाल गाउँ, नुलगाउँ र टौखेलमा प्राय: ले हाँस पालेकै हुन्छन् ।

यी बस्तीमा गोपाली समुदायको बसोबास उल्लेख्य छ । एकनासे घर भएका कुन्छाल बस्तीमा पुस्तौंदेखि नै कुखुरा पाल्ने चलन छैन । ‘भाले बास्यो भने गाउँमा रोगब्याधी लाग्ने, असिना परी बाली नष्ट हुने विश्वासले कुखुरा पाल्दैनौं,’ थकालीसमेत रहेका कुन्छाल गाउँका ७८ वर्षीय चन्द्रबहादुर गोपालीले भने, ‘हाम्रो समुदायलाई भाले बासेको नफाप्ने भएकाले कुखुरा नपालेका हौं ।’

यहाँका गोपाली समुदाय कुखुरापालन नगरे पनि अन्य व्यवसायमा भने संलग्न छन् । केही युवा भने लुकेरै कुखुराको मासु खाने गर्छन् । दशकअघि कुन्छालका एक युवाले कुखुरा पाल्न खोज्दा चन्द्रबहादुरलगायत गुठीका व्यक्तिले पाल्न दिएनन् ।

‘कुन्छाल, टौखेल र नुलगाउँका गोपालीहरूले कुखुरा पाल्दै पाल्दैनन्,’ स्थानीय शिक्षक नीराजन गोपालीले भने, ‘कुखुराको मासु मात्र होइन, अन्डासमेत खान पाइँदैन, भोज भतेर र गुठी पूजालगायत अन्य कर्ममा हाँसका अन्डा चढाइने गरिन्छ ।’ अन्तरजातीय विवाह गरे कुलभित्र पस्न दिइँदैन । कथं बिहे गरी जन्मेका सन्तानको मृत्यु भए दाहसंस्कारका लागि स्थान पनि दिइँदैन ।

तानमा आफैंले बुनेको कपडा लगाउने यो समुदायको रितिरिवाज र सामाजिक कार्यको अगुवाइ चन्द्रबहादुरले नै गरिरहेका छन् । उनी गोपाली गुठीका प्रमुखसमेत हुन् । गुठीमा उनीसहित ५ नाइके र हिसाबकिताब राख्ने ३ बैदार पनि छन् । ‘यो नाइके र बैदार राख्ने प्रथा परम्परादेखि नै चल्दै आएको छ,’ शिक्षक नीराजनले भने, ‘नाइके र बैदार वंशानुगत नै हुने चलन छ ।’

सामाजिक काम गर्नुपरे नाइकेहरूले गाउँलेलाई उर्दी लगाउने गर्छन् । उर्दी नमान्नेलाई दण्डको व्यवस्था छ । मलामी र गुठीको खेतीमा नजानेलाई २०/२० रुपैयाँ दण्डको व्यवस्था तोकिएको छ । ‘दण्डको रकम हालै मात्र वृद्धि गरिएको हो,’ प्रमुख नाइके चन्द्रबहादुरले भने । कुन्छालमा २ सय ४० घरधुरीमा करिब ४ सय परिवार बस्छन् । एउटै घरमा ३ देखि ५ परिवारको चुलो छ ।

टौखेल र नुल गाउँको गोपाली बस्तीमा पनि यस्तै चलन छ । टौखेल र नुल गाउँ करिब ३ किमि दूरीमा रहे पनि दुवै गाउँका नाइके र बैदार एउटै छन् । यी दुई गाउँको मुख्य नाइके रामलाल गोपाली हुन् । उनीसहित ४ नाइके पनि छन् । ‘कुखुरा यहाँ पाल्नै पाइँदैन,’ शिक्षक रुद्र गोपालीले भने । यहाँ नाइकेले अह्राएको सामूहिक काममा नआउनेलाई ५० रुपैयाँ जरिवाना तोकिएको छ ।

काठमाडौंमा राज्य गर्ने गोपाल वंशका सन्तान गोपाली (ग्वाला) लखेटिएर यस क्षेत्रमा आएका हुन् । इतिहासमा गाई गोठालाको सन्तानका रूपमा चिनिने ग्वालाहरू पञ्चायतकालको उत्तरार्द्धमा गोपालीमा परिणत भए । साबिकको टिस्टुङ गाविसको कुन्छालका रामलाल ग्वाला प्रधानपञ्च भएका समयमा उनैले ग्वाला हटाएर गोपाली लेख्न सुरु गरेको सानोकाजी गोपाली बताउँछन् । भन्छन्, ‘ग्वालाबाट गोपाली बनाउन रामलालको योगदान धेरै छ ।’ गोपाली परिश्रमी समुदायका रूपमा चिनिन्छन् । टौखेल र नुल गाउँमा गोपाली समुदायको १ सय ७० घरधुरी छ ।

प्रकाशित : भाद्र ८, २०७५ १७:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT