१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारत र चीनले सैन्य सहकार्य गर्ने

नयाँदिल्ली — दोक्लम विवादको ठीक एक वर्षपछि भारत र चीनले सीमामा आपसी विश्वास कायम गर्ने उपायहरुको पूर्ण कार्यान्वयनसँगै दुई मुलुकका सेनाबीचको सम्बन्ध सुधार गर्न सहकार्य गर्ने भएका छन् ।

भारत र चीनले सैन्य सहकार्य गर्ने

हाल भारतको भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेई फेंग र भारतीय रक्षामन्त्री निर्मला सितारमणबीच बिहीबार भएको भेटमा उक्त समझदारीमा हस्ताक्षर भएको हो । चिनियाँ रक्षामन्त्री फेंग चारदिने भ्रमणका क्रममा हाल दिल्लीमा छन् ।


‘दुवै मुलुकका सेनाबीच सहकार्य बढाउन तालिम, संयुक्त अभ्यास तथा अन्य अन्तरक्रिया बढाउने निर्णय भएका छ,’ भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फेंग र सितारमणबीचको भेटमा सिमालगायतका विषयमा पनि छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।


यसैगरी, विगत लामो समयदेखि चर्चामा रहेको दुई देशका सेनाबीच हटलाइन सुरु गर्ने विषयमा पनि छलफल भएको बताइएको छ । फेंगको भ्रमणसँगै विगत दुई वर्षदेखि अवरुद्ध रहेको संयुक्त सैन्य तालिमले समेत निरन्तरता पाउने अनुमान गरिएको छ ।


गत वर्ष भुटानको दोक्लम क्षेत्रमा ७३ दिनसम्म भारत र चीनका सेना आमने सामने हुँदा दुई मुलुकको सम्बन्धमा तिक्तता छाएको थियो । जसले गर्दा विगतदेखि हुँदै आएको संयुक्त सैन्य तालिमहरु बन्द भएका थिए ।


तर, गत अप्रिलमा भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच उहानमा भएको अनौपचारिक वार्तापछि दुई मुलुकबीचको सम्बन्ध सुधारोन्मुख देखिएको हो । रक्षामन्त्री फेंगको पछिल्लो भारत भ्रमण र भएको समझदारीलाई पनि उहान भेटकै एक कडीका रूपमा हेरिएको छ । फेंग नेतृत्वमा भारत भ्रमणमा आएको २७ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलमा उच्च सैनिक अधिकारीहरुसमेत रहेका छन् ।

प्रकाशित : भाद्र ८, २०७५ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?