१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अस्ट्रेलियाको प्रधानमन्त्रीमा मरिसन

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चयन भएका छन् । ५० वर्षीय मरिसनले शुक्रबार साँझ गभर्नर जनरल पिटर कोसग्रोभसमक्ष शपथ लिएसँगै उनी अस्ट्रेलियाका ३० औं प्रधानमन्त्री बने ।

अस्ट्रेलियाको प्रधानमन्त्रीमा मरिसन

सत्तारूढ दलमा देखिएको नेतृत्व विवाद चर्कदै गएपछि शुक्रबार भएको निर्वाचनमा पार्टी नेता चयन भएपछि मरिसन प्रधानमन्त्री हुन सफल भएका हुन् । यसअघि उनी पार्टी कोषाध्यक्ष थिए । यसैगरी हालका ऊर्जामन्त्री जोस फयाडनबर्ग पार्टी उपनेता तथा कोषाध्यक्षमा नियुक्त भएका छन् । मरिसनले एक साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् ।

लिबरल पार्टीमा देखिएको एकआपसको नेतृत्व विवादले ३ दिनभित्र रोचक मोड लिएपछि पार्टी निर्वाचनमा मरिसनले प्रतिस्पर्धी पिटर डट्टन तथा जुली विसपलाई पराजित गर्दै प्रधानमन्त्री बन्न सफल भएका हुन् । नेतृत्वका लागि भएको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री माल्कम टर्नबुलले सहभागिता नजनाउने बताएपछि मरिसन उनको समर्थनमा नेतृत्वका लागि अघि सरेका थिए ।

सत्तारूढ लिबरल पार्टीमा तत्कालीन प्रधानमन्त्री माल्कम टर्नबुललाई समर्थन नरहेको दाबी गर्दै ३ दिनअघि प्रभावशाली नेता पिटर डट्टनले चुनौती दिएपछि विवाद सतहमा आएको थियो । दुई दिन पहिले भएको यस्तै निर्वाचनमा टर्नबुल विजयी भए पनि लगत्तै भोलिपल्ट डट्टनले पुन: नेतृत्वका लागि चुनौती दिएपछि शुक्रबार निर्वाचन भएको हो ।

तर शुक्रबार भएको निर्वाचनमा भने टर्नबुलले आफू प्रतिस्पर्धाबाट अलग हुने जनाएपछि मरिसन र विदेशमन्त्री जुली विसपले नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रेका हुन् । शुक्रबार दिउँसो भएको निर्वाचनमा मरिसनले डट्टनलाई ५ मतले पराजित गर्दै पार्टीका नेता तथा प्रधानमन्त्री बन्ने अवसर पाएका हुन् ।

सोसल कन्जरभेटिभ लिबरल नेताका रूपमा चिनिने मरिसन यस पहिले टोनी अबटको सरकारमा अध्यागमन मन्त्री भएका थिए । डुंगाबाट अवैध रूपमा भित्रने आप्रवासीलाई रोक्न महत्त्वपूर्ण भूमिका निभाएर चर्चामा आएका उनी अस्ट्रेलियाको राजनीतिमा महत्त्वाकांक्षी नेताका रूपमा चिनिन्छन् ।

टर्नबुलको प्रधानमन्त्रीकालमा कोषाध्यक्ष रहेर चर्चा कमाएका उनी राजनीतिमा आउनु पहिले टुरिज्म अस्ट्रेलियाको निर्देशकको रूपमा कार्य गरेका थिए । सन् २००७ देखि केन्द्रीय राजनीतिमा पाइला राखेका उनी सरकारको विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका अनुभवी राजनीतिज्ञ हुन् ।

अस्ट्रेलियामा पछिल्लो समय भएको नेतृत्व परिवर्तनको खेललाई यहाँका स्थानीयले भने सकारात्मक रूपमा लिएका छैनन् । १० वर्षको अवधिमा ७ प्रधानमन्त्री पाइसकेको अस्ट्रेलियामा ११ वर्ष सत्ता सञ्चालन गरेका पूर्व प्रधानमन्त्री जोन हवार्डको पालादेखि अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो पूर्ण कार्यकाल पूरा गर्न पाएका छैनन् ।

अस्ट्रेलियाको राजनीतिलाई नजिकबाट बुझेका डा. भरतराज पौडेल विगत केही सातादेखि सर्वेक्षणमा विपक्षी दल लेबर अघि देखिएको र लिबरलको आपसी विवाद सतहमा आएका कारण अब ८ महिनापछि हुने निर्वाचनमा विपक्षी दलले सरकार बनाउने सम्भावना बढेको धारणा राख्छन् ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?