केरलाको बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ४४५

रासस/एएफपी

कोची — भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरुले जनाएका छन् ।

राज्यका झण्डै १० लाख मानिसले अझै पनि अस्थायी राहत शिविरहरुमा आश्रय लिइरहेका छन् । बाढीमा हराइरहेका मानिसको खोजपडताल जारी रहेको छ भने घर तथा सार्वजनिक स्थलहरुको सफाईलाई व्यापक बनाइएको छ ।

Yamaha

केरलाका मुख्यमन्त्री पिनारायी विजायनले ट्वीट गरी बाढी पसेका १३०,००० भन्दा बढी घरहरुको सफाई गरिएको जानकारी दिएका छन् । उनले यो संख्या करिब एक तिहाई रहेको पनि बताएका छन‍् । सरकारी अधिकारीहरुले अबरुद्ध विद्युत सेवा चालू गराउने प्रयास भइरहेको जनाएका छन् ।

घर फर्किन थालेका सर्वसाधारणलाई सर्पको डसाईबाट बच्न समेत सचेत गराइएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सर्पको डसाईबाट बच्ने उपाय र उपचारको तत्काल व्यवस्था मिलाउन वन्यजन्तु विभाग र मेडिकल टोलीलाई सतर्क अवस्थामा राखिएको छ ।

दिनहुँजसो मृत्युका खबर आइरहेको सन्दर्भमा केरलाका अधिकारीहरुले मृत्युको मुख्य कारण बाढी हो होइन भनी जाँच पनि सुरु गरेका छन् । सरकारले १० हजारभन्दा बढी सडक भत्किएको जनाएको छ भने बाढीबाट करिब ५० हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

प्रकाशित : भाद्र १०, २०७५ १८:३५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

इरानको पहिलो लडाकू विमान सार्वजनिक

रासस/एएफपी

तेहरान — इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मङ्गलबार पहिलो घरेलु लडाकू विमान सार्वजनिक गरेको छ । 

राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हस्सन रौहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ 'कौसार' विमानको ककपिटमा बसेको देखाएको छ । यो चौथो पुस्ताको लडाकू विमान हो ।

यस विमानमा अत्याधुनिक उपकरणहरु र बहुउद्देश्यीय राडार जडान गरिएको छ । यो विमान सत प्रतशित इरानी प्रविधिबाट उत्पादन गरिएको हो ।

राज्य नियन्त्रित टेलिभिजनले यो विमानको सफलतापूर्वक परीक्षण गरिएको र सार्वजनिक उडानका लागि धावनमार्गमा राखिएको जनाएको छ ।

यो विमानका बारेमा शनिबार मात्र रक्षामन्त्री अमिर हतामीले जानकारी दिएका थिए । उनले यस परियोजनका बारेमा ज्यादै कम विवरण सार्वजनिक गरेका छन् ।

रक्षामन्त्री हतामीले इरानको प्रतिरक्षा कार्यक्रम सन् १९८० को दशकमा इराकबाट ८ वर्षसम्म लगातार आक्रमण भएदेखि नै आरम्भ गरिएको बताए ।

इजरायल र संयुक्तराज्य अमेरिकाले बारम्बार चेतावनी दिएपछि इस्लामिक गणतन्त्रले आफ्ना सबै विकल्प खुला राख्नुपर्दछ भन्ने मान्यताबाट अघि बढेको पनि उनले स्पष्ट गरे ।

'हामीले इरान–इराक युद्धबाट परनिर्भर होइन आफैँ सक्षम हुनु पर्दछ भन्ने कुरा सिक्यौँ । हामीसँग स्रोत सीमित छ र न्यून लागतमै सुरक्षा प्रणालीलाई मजबूत बनाउन हामी प्रतिबद्ध छौँ ' उनले भने ।

अमेरिकाले अर्बौँ डलरका हातहतियार इरानका क्षेत्रीय प्रतिद्वन्द्वी राष्ट्रहरुलाई बेचेको छ, तर इरानमाथि प्रतिरक्षा कार्यक्रमलाई नियन्त्रण गर्न आग्रह गरी आएको छ । इरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले आर्थिक नाकाबन्दी लगाइरहेको छ ।

प्रकाशित : भाद्र ५, २०७५ १४:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT