कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अमेरिकी सिनेटर म्याक्केनको निधन

एपी

वासिङ्टन — अमेरिकाको राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भियतनामा युद्धमा चर्चित अमेरिकी राजनीतिज्ञ जोन म्याक्केनको आइतबार निधन भएको छ ।

अमेरिकी सिनेटर म्याक्केनको निधन

उनको अमेरिकाको एरिजोनामा निधन भएको हो । मस्तिष्क क्यान्सरबाट पीडित म्याक्केनले सन् २०१७ को जुलाईदेखि उपचार गराइरहेका थिए । उनको ८१ वर्षमा निधन भएको हो ।

गम्भीर मस्तिक क्यान्सरको सामान गरिरहेका म्याक्केनले अस्पतालमा गराउँदै आएको उपचार रोक्ने शुक्रबार परिवारले जनाएको थियो । भियतनाम युद्धका नायक म्याक्केन सैनिक जीवनबाट अवकाश लिएसँगै राजनीतिमा प्रवेश गरेका थिए । उनी युद्धमा संलग्न अमेरिकी लडाकु जहाजको पाइलट थिए ।

अमेरिकी राजनीतिमा आक्रामक स्वभावका म्याक्केनले कतिपय नीतिमा पार्टी धारणाभन्दा भिन्न विचार राख्ने गर्थे । रिपब्लिकन पार्टीका वरिष्ठ नेता म्याक्केन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक मानिन्थे ।

म्याक्केन अमेरिकाको एरिजोना राज्यबाट ६ पटक सिनेटरमा विजयी भएका थिए । यसअघि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका म्याक्केन अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामासँग पराजित भएका थिए । ओबामासँग चुनावमा पराजित भएपछि पनि राजनीतिबाट अवकाश नलिएका म्याक्केन पुन: सिनेटमा निर्वाचित भएका थिए ।

अमेरिकी राजनीति र राष्ट्रपतिका नीतिमा खुला छलफल र कडा बहसमा उत्रन रुचाउने म्याक्केनको ट्रम्पसँग विभिन्न नीतिगत विषयमा मतान्तर रहेको थियो । सैनिक परिवारका म्याक्केनले संसद्को सैनिक सेवा समितिको अध्यक्षको रूपमा समेत भूमिका निर्वाह गरेका थिए । उनले विश्वका विभिन्न स्थानमा अमेरिकी सैनिकको व्यापक उपस्थिति रहनुपर्ने धारणा राख्ने गर्थे । उनले अमेरिकालाई ध्वस्त पार्न चाहने उग्रवादी इस्लामिक शक्तिको निसाना मेटाउनुपर्ने अभिव्यक्ति दिएपछि विवादमा समेत परेका थिए ।

सन् २०१७ मा राष्ट्रपति ट्रम्पले खारेज गर्न चाहेको जीवन बिमासम्बन्धी चर्चित विधेयक ‘एफोर्डेबल केयर एक्ट’ मा म्याक्केनले लामो छलफलपछि विपक्षमा मतदान गरेका थिए । उक्त मतका कारण ट्रम्पको प्रस्ताव विफल भएपछि ओबामा नीतिले निरन्तरता पाएको हो ।

म्याक्केनको निधनप्रति राष्ट्रपति ट्रम्प, पूर्वराष्ट्रपति बाराक ओबामालगायत अन्य विशिष्ट व्यक्तिले दु:ख व्यक्त गर्दै अमेरिकाले एक इमान्दार र असल व्यक्ति गुमाएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?