अस्ट्रेलियाली विदेशमन्त्रीद्वारा राजीनामा

बीबीसी

क्यानबेरा — अस्ट्रेलियाकी विदेशमन्त्री जुली विसपले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले आगामी वर्ष हुने आमनिर्वाचनमा प्रतिस्पर्धा गर्नेबारे आफूले निर्णय लिइनसकेको बताइन् ।

माल्कोम टर्नबुलले समर्थन गरेपछि उनी प्रधानमन्त्रीका लागि आशा राखेकी थिइन् । तर दलको नेताको निर्वाचनमा उनी पहिलो चरणमा नै पराजित भएकी थिइन् । सामाजिक सञ्जाल ह्वाट्सयापबाट चुहिएका ग्रुप म्यासेजमा पिटर डट्टनलाई पराजित गर्न उनीविरुद्ध मतदान गरिएको सार्वजनिक भएको थियो ।

उक्त निर्वाचनसँगै विसपको पार्टीको उपाध्यक्षमा ११ वर्षदेखिको जिम्मेवारीको समेत अन्त्य भएको छ । ६२ वर्षीय विसप पश्चिमी अस्ट्रेलियाबाट संघीय राजनीतिमा २ दशकदेखि प्रतिनिधित्व गर्दै आएका छन् । उनले भनिन्, ‘म शक्तिबाहिर रहेर पनि पश्चिम अस्ट्रेलियाको आवाजको सशक्त प्रतिनिधित्व गर्छु ।’

Yamaha

उनको राजीनामासँगै नवनियुक्त प्रधानमन्त्रीमा स्कट मरिसनले विदेशमन्त्रीका लागि मरिस पायनलाई चयन गरेका छन् । त्यसैगरी पिटर डट्टनले भने पुरानै गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सत्तारूढ दलमा देखिएको नेतृत्व विवादपछि शुक्रबार भएको निर्वाचनमा पार्टी नेता चयन भएपछि मरिसन प्रधानमन्त्री भएका थिए । यसैगरी जोस फयाडनबर्ग पार्टी उपनेता बनेका थिए ।

त्यसअघि पिटर डट्टनले भूतपूर्व प्रधानमन्त्री माल्कोम टर्नबुलको नेतृत्वलाई चुनौती दिए पनि असफल भएका थिए । तर शुक्रबार मरिसनले डट्टन तथा जुली विसपलाई पराजित गर्दै प्रधानमन्त्री बन्नेका हुन् । शुक्रबारको निर्वाचनमा भने टर्नबुलले सहभागिता नजनाउने बताएपछि मरिसन उनको समर्थनमा नेतृत्वमा पुगेका हुन् ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:२२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बिमस्टेक बाई मिस्टेक होइन

सम्पादकीय

काठमाडौँ — त्यहीँ पर लगनखेलमा एक महिनादेखि थुप्रिएको फोहोर थान्को नलागेर के भो ? यता सात वटै देशका झन्डा झकिझकाउ माइतीघर मण्डलामा राति पनि तिहारझैं झिलझिले उज्यालो चम्किन थालेको छ ।

सिंहदरबार आसपासका भित्तामा चित्र पोतिएका छन् र सडकका प्वाल आकस्मिक टालिएका । जस्तै दरिद्र घरले पनि पाहुना आउँदा तन्ना तन्काउँछ, कुचोले भुइँ बढार्छ र दैलामा घैला भर्छ ।

दक्षिण र दक्षिणपूर्वी एसियाको उपक्षेत्रीय संगठन (बिमस्टेक) को शिखर सम्मेलन काठमाडौंमा हुन लागेकै पहिलोपल्ट । दुई दशकअघि बैंककमा घोषणा हुँदा बंगलादेश, भारत, श्रीलंका र थाइल्यान्ड सम्मिलित ‘बिस्टेक’ म्यानमार पनि थपिएर ‘बिमस्टेक’ बन्यो । नेपाल र भुटान पनि थपिएपछि भने नाम बदलिएन । नाममा केही छैन । बिमस्टेक बाई मिस्टेक बनेको होइन ।

सार्क सुस्ताउनु बिमस्टेक बिउँझनु संयोगमात्र हो भन्ने प्रस्ट गर्न जरुरी छ । सार्कसँगका हाम्रा सम्झना छन्, धुकधुकी छैन । न खर्च गर्छ, न गतिविधि । बिमस्टेकलाई सार्कको परिपूरक भनिएको छ, विकल्प होइन । बिमस्टेक र सार्कमा उठ्ने एजेन्डा उस्तै हुन् । सार्कमा द्विपक्षीय मामिला उठाउन पाइन्न भन्ने बडापत्र भएर के गर्नु ? भारत र पाकिस्तानकै कारण यसले गति लिन सकेन ।

भारतले ठुल्दाइको व्यवहार गर्ने गर्दा भोलि बिमस्टेक बढाउने कि बोझ बन्ने पनि उसकै भरोसा ।

उसलाई क्षेत्रीय मञ्चको कठघरामा उभ्याउन पनि फेरि यस्तै मञ्च चाहिन्छ । उसलाई क्षेत्रीय सहकार्यमा जोड्नैपर्छ किनभने उही आर्थिक शक्ति हो । यस्तो सम्मेलन त अझ नेपालका लागि अन्तर्राष्ट्रिय जगत्मा स्थापित हुने एउटा अवसर पनि । जसरी दक्षिण एसियाभित्र सहकार्यका लागि सार्क चाहिन्छ, दक्षिणपूर्वी एसियासँग जोडिन बिमस्टेक । हाम्रा लागि दक्षिणपूर्वी एसिया छिर्ने माध्यम । नेपालको जोड ‘इनर्जी ग्रिड’ मा हुनुपर्छ अनि यातायात । बुद्धिस्ट सर्किट पनि लाभ लिन सक्ने विषय ।

नेपालले सम्मेलन आयोजक राष्ट्रका रूपमा यो ऐतिहासिक अवसरलाई छोप्न आफ्ना प्राथमिकता र चासो किटान गर्न सक्नुपर्छ । आफ्ना सम्भावनाका क्षेत्रको बजार खोज्ने ताक पार्न सकिन्छ, विश्व बजारमा जान सक्ने नेपाली ब्रान्डको प्रचार र भ्याएसम्म सम्मेलनको प्रचारप्रसारको अन्तर्राष्ट्रियकरण गर्न । हामीले हेर्ने हाम्रै हित हो । हामीले काठमाडौंबाट थाइल्यान्डसम्म निर्वाध बस सेवा सञ्चालन हुन सक्ने गरी यातायात सम्पर्क विस्तारमा जोड दिनुपर्छ । त्यसले मलेसिया हुँदै सिंगापुरसम्म जोड्छ ।

बिमस्टेकले यस क्षेत्रलाई पूर्वतिर फर्काउँछ भने पनि त्यसका आफ्नै अनुकूलता छन् । यस रुटमा अपवादबाहेक धर्म संस्कृति मिल्छ । बंगलादेश र श्रीलंकाबाहेक हरेक देशमा नेपालीभाषी पनि छन् । बिमस्टेकका जुनसुकै सदस्य मुलुकका नागरिक दुई दिन बस यात्रा गरेर काठमाडौं वा लुम्बिनी आउन सक्ने स्थिति भयो भने सम्बन्ध बाक्लो हुन्छ । यातायात पहिलो प्राथमिकता जसले जनताको आवतजावत सुनिश्चित गर्छ र त्यसले नै व्यापार बढाउँछ । अन्तर्राष्ट्रिय कूटनीतिको चालक तत्त्व भनेकै व्यापार ।

बिमस्टेकको अझै बडापत्र छैन । बजेट अभाव, काम गर्ने संयन्त्र र नेतृत्व संकट, सदस्य राष्ट्रबीच समन्वय कमी र इच्छाशक्ति नहुनाले यो शिखर सम्मेलनमा सीमित छ । यस्तो सम्मेलन पनि जम्मा चौथोपल्ट हुँदै छ, सार्कभन्दा सुस्त । अहिलेसम्म जम्मा तीनवटा सम्मेलन । जे भए पनि क्षेत्रीय सहकार्य र समन्वय अभ्यास गर्ने, संवाद गर्ने सम्भावना हुन्छन् । बिमस्टेक जागोस्, भोलि सार्क पनि । संगठनभित्रै वा बाहिरबाट कसैले पेल्दा छरछिमेकलाई चासो हुने बनाउनुपर्छ । संगठनले ओत दिन्छ । कूटनीतिको विकल्प हुँदैन । कूटनीतिक मञ्च र प्रयासलाई प्रभावकारी बनाउनु नेपालजस्ता साना देशको हितमा हुन्छ ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT