उत्तर कोरियाद्वारा जापानी पर्यटक मुक्त

उत्तर कोरियाले आफ्नो देशमा भ्रमण गर्ने विदेशी पर्यटकलाई कडा निगरानी गर्दै आएको छ ।
बीबीसी

टोकियो — उत्तर कोरियाले करिब एक महिनाअघि पक्राउ गरेका जापानी पर्यटकलाई मानवताका आधारमा सोमबार मुक्त गरेको जनाएको छ ।

उत्तर कोरियाले सोमबार मुक्त गरेका जापानी पर्यटक तोमोयुकी सुगिमोतो । तस्बिर : रोयटर्स

जापानी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले जापानका भिडियोग्राफर तोमोयुकी सुगिमोतोलाई मुक्त गरेको हो । उत्तर कोरियाका अनुसार उनी सैन्य अखाडा नजिकै भिडियो क्यामेरा चलाइरहेको बेला पक्राउ परेका थिए ।


कानुन उल्लंघन गरेपछि तोमोयुकीलाई पक्राउ गरिएको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएको छ । सन् १९७० र १९८० को दशकमा उत्तर कोरियाले कैयौं जापानी नागरिकलाई नियन्त्रणमा लिएपछि चिसिएको दुई देशको सम्बन्ध प्योङयाङको परमाणु अस्त्र कार्यक्रमपछि थप अपहरण गरेकाले दुई देशबीचको सम्बन्ध थप बिग्रेको हो । उत्तर कोरियाले आफ्नो देशमा भ्रमण गर्ने पर्यटकलाई कडा निगरानी गर्ने गरेको छ । कतिपय अवस्थामा पर्यटकलाई पक्राउ गरी राजनीतिक मोलमोलाइमा समेत प्रयोग हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Yamaha


यसअघि होटलमा चोरी गरेको आरोपमा पक्राउ परेका अमेरिकी विद्यार्थी उत्तरले नियन्त्रणमा लिएका सबैभन्दा चर्चित बन्दी हुन् । मुक्त गरिएलगत्तै गम्भीर बिरामी अवस्थामा घर फर्किएका उनको लगत्तै मृत्यु भएको थियो ।


३० को दशकका तोमोयुकी पश्चिमी तटीय क्षेत्रमा पर्ने नाम्पो भ्रमणका बेला पक्राउ परेको हुन सक्ने रोयटर्सले जनाएको छ ।


नाम्पोमा उत्तर कोरियाको जलसेनाको अखडाका साथै हतियार कारखाना छ । उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार उनको ‘सजाय खुकुलो बनाउँदै’ आफ्नो देश फिर्ता गरिएको हो ।

प्रकाशित : भाद्र १२, २०७५ ०८:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

उमेरभरि घिन्ताङ घिसी

‘पहिले घिन्ताङ घिसी नाच्ने, बजाउने र गाई बोक्नेहरू सबै पुरुष हुन्थे । पुरुषहरू नै महिलाको भेषमा सजिएर अभिनय गर्थे । अचेल पुरुषभन्दा महिला बढी देख्दा मलाई पनि नाचूँनाचूँ लाग्छ । तर, पहिले समाजले रोक्यो, अहिले शरीरले ।’
सुनीता साखकर्मी

भक्तपुर — बाल्यकाल, किशोरावस्था र अहिले बुढयौली आँखाले अनवरत एउटै नाच हरेक वर्ष हेर्दै आएकी ६७ वर्षीया विष्णुमाया श्रेष्ठ सोमबार फरक मुडमा थिइन् । उनले बाल्यकालमा देखेको गाई (ताहा साँ) अचेल झिलिमिली भएछ ।

भक्तपुर दरबार परिसरमा घिन्ताङघिसी खेलेर गाईजात्रा मनाउँदै स्थानीय बासिन्दा ।

गाईजात्राको दिन मृतकको प्रतीक स्वरूप बनाइने बाँसको चारखुट्टे सामग्रीतिर उनको खास चासो थियो, जसलाई ‘गाई’ नै भनिन्छ ।

‘पहिलेपहिले केटाको मृत्यु भए गाईमा सेतो कपडा र केटीको भए रातो सादा कपडा बेर्ने चलन थियो,’ उनले भनिन्, ‘उति बेला सादा गाई हुन्थे । अचेल झिलीमिली भएछ ।’ काभ्रेको तीनपिप्लेबाट जात्रा हेर्न भक्तपुरको दत्तात्रय आइपुगेकी विष्णुमायाले थपिन्, ‘संस्कृति पनि फेरिँदो रहेछ ।’ गाईजात्रामा हरेक वर्ष उनी यसरी नै जात्रा हेर्न आउँछिन् । उनलाई यहाँसम्म घिन्ताङ घिसी नाचले तानेको हो । पाँचखाल बजार छेवैको तीनपिप्लेकी नेवार भए पनि उनको घरतिर गाईजात्रामा गाई बनाउने र घिन्ताङ घिसी नाच निकाल्ने चलन छैन ।

‘यो नाचमा छुट्टै किसिमको जादू छ,’ उनले भनिन्, ‘यसमा बजाइने बाजा र त्यो ताल मानिस लट्ठी जुधाएर नाचेको हेरेर बस्दा दिन बितेको पत्तो चल्दैन ।’

पहिलो पटक उनी आमासँग यो जात्रा हेर्न आएकी थिइन् । भक्तपुरमै थियो मामाघर । त्यति बेला उनलाई पनि लट्ठी जुधाएर नाच्न मन लाग्थ्यो । तर, त्यो बेला महिलालाई वर्जित थियो । ‘नाच्ने, बजाउने र गाई बोक्नेहरू सबै पुरुष हुन्थे,’ उनले भनिन्, ‘बरु पुरुष नै महिलाको भेषमा सजिएर अभिनय गर्थे ।’ अहिले समय उल्टिएझैँ लाग्छ उनलाई । पुरुषभन्दा महिला बढी देख्दा उनी चकित परिन् । उनलाई पनि लट्ठी जुधाएर नाच्न मन लाग्यो । तर शरीरले साथ दिएन । उनले भनिन्, ‘पहिले समाजले रोक्यो, अहिले शरीरले ।’

काभ्रेको तीनपिप्लेबाट जात्रा हेर्न भक्तपुर आएकी विष्णुमाया श्रेष्ठ ।

भक्तपुरे विशेषता
भक्तपुरको गाईजात्रामा घिन्ताङ घिसी नाच रोचक पक्ष मानिन्छ । यो नाच्नेहरूका हातहातमा लट्ठी हुन्छ । तर दूधपाटीका दामोदर सैँजूको टिमले ल्याएको नाचमा झन्डै चालीस जना बालबालिकाका हातमा दुइटा लट्ठी थिए । उनीहरूले बाजाको उही तालमा दुइटा लट्ठी जुधाएर फरक किसिमले नाच नाच्दै थिए । दामोदरका अनुसार, यो नाचलाई माक प्याँख (नाच) भनिन्छ । उनको टोलमा कसैको मृत्यु भएमा माक प्याँख निकाल्ने चलन छ ।

‘तीन देखि छ वर्षसम्मका बच्चाहरूलाई यो नाच छ महिना बेलुकाबेलुका सिकाउँछौं,’ उनले भने, ‘यो नाचमा नाच्नेहरू आठ वर्षमा एकचोटि फेरिन्छन् र नयाँ साना बच्चाहरूलाई सिकाइन्छ । यो वर्ष हामीले आठ वर्षपछि सानालाई सिकाएका हौँ ।’ यो नाच ठूलाले नाच्दा भद्दा देखिने भएकोले पनि साना बच्चालाई नचाउने गरेको उनले बताए । ‘नेपाल भाषामा माक भनेको बाँदर हो र यो नाचमा बाँदरले जस्तै चकचक गरेर विभिन्न मुभमेन्ट गर्नुपर्छ,’ उनले भने, ‘बच्चाहरू सानामा चकचके हुने भएकोले पनि बच्चाहरूकै लागि यो नाच सुरु भएको हुन सक्छ ।’

भक्तपुरको तचपालका ७२ वर्षे दस सैँजूलाई भने अहिले गाईजात्रामा नाच्ने नाच कम भएको अनुभव छ । ‘घिन्ताङ घिसी नाच त हेरेर पनि सिकिन्छ, अरू नाच्न गाह्रो भयो,’ उनले भने, ‘गाईजात्रामा घिन्ताङ घिसीबाहेक केही देखिएन ।’

संस्कृतिविद् ओम धौभडेलका अनुसार भक्तपुरमा गाईजात्रा नौ दिनसम्म मनाइन्छ र यो बीचमा भैल: नाच, देवी नाच, माछा नाच, घोडा नाच लगायत तीन दर्जन नाच नाचिन्छन् । उनका अनुसार अहिले नाचको संख्या पनि घटदै गएको छ ।

गाईजात्रामा नाचिने घिन्ताङ घिसी गाईजात्रा सुरु भएदेखि नै चलिआएको तर यी नाच १६ औं शताब्दीमा जयप्रकाश मल्लले सुरु गरेको धौभडेलले बताए । लिच्छवि कालको सुरुआतदेखि नै चल्दै आएको साँपारु (गाईजात्रा) लिच्छवि राजा आनन्द देवले भक्तपुरलाई नेपाल मण्डलको राजधानी बनाएपछि त झन् आकर्षक हुँदै गएको उनले बताए ।

‘जगतप्रकाश मल्ल साहित्यप्रेमी भएकोले उनले भक्तपुरको साँपारुलाई एक दिनको सट्टा थप आठ दिनसम्म मनाउने चलन ल्याए,’ उनले भने ।

मेटिँदै घिन्ताङ घिसीको मर्म
ताहामचा गना तय्
ग्वाखँ प्वालय तय्
ग्वाखँ प्वालय् मन्हयंसा
खुसी चुइक छोय्...

नेपाल भाषाको यो गीतको अर्थ हुन्छ– ‘मरेको मानिसको प्रतीक (गाई) लाई घरको परेवा बस्ने प्वालमा राखूँ कि, त्यहाँ नअटे खोलामा बगाउँm कि ?’ घिन्ताङ घिसी नाच्दा खिँ ढाँ, छुस्या जस्ता बाजाको तालमा यो गीत गाइन्छ । संस्कृतिविद् धौभडेलका अनुसार, नेवार समुदायका पुराना घरमा परेवा बस्ने प्वाल हुन्थ्यो । अहिले यो हरायो । योसँगै पछिल्लो समय युवा पुस्ताले गीत पनि बदलेका छन् । जस्तो, घिन्ताङ घिसी नाच्दै गर्दा केही युवकले गाए : ‘रप्पपो, रप्पपो, जेरी आधा पाउ’, ‘झयाले च्वंमा मिसाचा जिटा मा’ (झयालमा बस्ने केटी मलाई चाहिन्छ) ।’

यस्ता गीतहरूले परम्परागत मूल्यमान्यताको मर्मलाई मारेको धौभडेलले बताए । उनले भने, ‘अहिले ब्यान्डबाजा समेत बजाएर घिन्ताङ घिसी नाचेको देखियो । यसले गर्दा हाम्रो मौलिक बाजा, गीत र नाचको मिठास हराउँछ ।’

प्रकाशित : भाद्र १२, २०७५ ०८:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT