‘ब्रेक्जिट सहमति नभए बेलायतलाई ठूलो क्षति’

नवीन पोखरेल

लन्डन — बेलायत सहमतिबिनै ईयूबाट बाहिरिए उसले ठूलो क्षति बेहोनुपर्ने आंकलन भएको छ । बेलायतका वरिष्ठ अधिकारीहरूले बेलायती प्रधानमन्त्री कार्यालयसँग ‘नो डिल ब्रेक्जिट’ (सहमतिबिना) का लागि दक्ष जनशक्ति नभएको बताएका छन् भने वरिष्ठ ईयू अधिकारीले यस्तो सम्झौताले बेलायतले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

ब्रेक्जिटको विरोधमा बेलायतको राजधानी लन्डनस्थित वेस्टमिनिस्टर ब्रिजमा प्रदर्शन गरिँदै । तस्बिर : रोयर्टस

ती ईयू अधिकारीले नो डिलको अर्थ बेलायत युरोपबीच हवाई सेवा, पानीजहाज वा अन्य कुनै पनि आर्थिक गतिविधि र वित्तीय कारोबार नहुन सक्ने चेतावनी दिएका हुन् ।

बेलायत सरकारले कुनै सहमतिबिना नै युरोपियन युनियन (ईयू) बाट बहिर्गमन भए यसबाट पर्न सक्ने असरबारे यहाँका जनता र व्यवसायीलाई वैकल्पिक सल्लाह सामग्री प्रकाशित गरेको केही दिनमा यसबारे विभिन्न टीकाटिप्पणी भएका छन् ।

Yamaha

बेलायतको प्रमुख प्रतिपक्षी दल र बहुमत व्यवसायीहरूले बिनासम्झौता बेलायत बाहिरिए ठूलो आर्थिक तथा सामाजिक समस्या बेहोर्नुपर्ने चेतावनी दिइरहँँदा सरकारले पहिलो चरणमा २५ कागजातको ‘नो डिल ब्रेक्जिट एड्भाइस’ निकालेको थियो ।

यसअघि युरोपेली संघका पूर्वअध्यक्ष हर्मन भान रोम्पियुले बेलायत ब्रेक्जिट सहमतिबिना युरोपियन युनियन (ईयू) बाट बाहिरिए संयुक्त अधिराज्य टुक्रन सक्ने बताएका थिए । संयुक्त अधिराज्यमा बेलायत, स्कटल्यान्ड, वेल्स र आयरल्यान्ड छन् । रोम्पियुले ब्रेक्जिट सम्झौताबारे अन्योलका कारण स्कटल्यान्डजस्तो क्षेत्रमा ठूलो प्रभाव परेको जनाए ।

बेलायत सरकारले सरकारले कुनै सहमतिबिना नै युरोपियन युनियन (ईयू) बाट बहिर्गमन भए यसबाट पर्न सक्ने असरबारे आफ्ना जनता र व्यवसायीलाई वैकल्पिक सल्लाह सामग्री प्रकाशित गरेपछि रोम्पियुले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल र बहुमत व्यवसायीले बिनासम्झौता बेलायत बाहिरिए ठूलो आर्थिक तथा सामाजिक समस्या बेहोर्नुपर्ने चेतावनी दिइरहेका बेला सरकारले पहिलो चरणमा २५ पृष्ठको ‘नो डिल ब्रेक्जिट एड्भाइस’ बाहिर ल्याएको हो । त्यससम्बन्धी थप सामग्री आगामी साता प्रकाशन हुन सक्ने बीबीसीले जनाएको छ । बेल्जियमका पूर्व प्रधानमन्त्री रोम्पियु सन् २००९ देखि ५ वर्ष युरोपेली परिषदको अध्यक्ष थिए ।

गत साता बेलायतका ब्रेक्जिटमन्त्री डोमिनिकन राबले ईयूसँग ब्रेक्जिटबारे सम्झौता हुन सक्ने सम्भावना कायमै रहेको भए पनि अन्य तयारी पनि आवश्यक भएको जनाएका थिए । बेलायत सरकारले ईयूसँग सहमतिका लागि प्रयास सधैं जारी राख्ने, तर जस्तोसुकै परिस्थिति सामना गर्न तयार रहनुपर्ने भएकाले सावधानी गराउन जरुरी रहेको बताएको छ ।

बेलायत सरकारले ईयूसँग सहमतिका लागि प्रयास सधैं जारी राख्ने तर जस्तोसुकै परिस्थिति सामना गर्न तयार रहनुपर्ने भएकाले सावधानी गराउन जरुरी रहेको बताएको छ । ईयू विरोधीहरूले भने विश्व व्यापार संघसँग निकटता लगायत बेलायतको आफ्नै व्यापारिक नीति तय गर्न सकिने तर्क अघि सार्दै ईयूको डरबाट बाहिर आउनुपर्ने बताएका छन् । ईयूले भने आफ्नो तयारी पहिले नै गरिसकेको छ ।

बेलायत आगामी मार्च २९, २०१९ देखि ईयूबाट औपचारिक रूपमा बहिर्गमन हुँदै छ । यसपछि बेलायत र ईयूबीच के कस्तो सम्बन्ध हुने भन्ने सम्झौताको निक्र्यौल हुन बाँकी नै छ । कुन सर्त राखेर बेलायत ईयूबाट निस्कने भन्नेमा बेलायतभित्र चर्को मतभेद छ ।

बेलायत सरकारले ईयूसँग फ्री मुभमेन्ट अन्त्य गरी सामान र सेवाका लागि मात्र ईयू कमन मार्केटमा रहिरहने सर्त अघि सारेको छ । तर, बेलायतको यस्तो प्रस्ताव ईयूले अस्वीकार गरिसकेको छ । ईयूको फ्री मुभमेन्टले ईयू आप्रवासी संख्या बेलायतमा निकै बढेपछि ईयू विरोधी जनमत बढेको विश्वास गरिन्छ ।

बेलायतको जम्मा निर्यात व्यापार यस वर्षको मार्चसम्ममा सबैभन्दा उच्च ६२० दशमलब २ अर्ब पाउन्ड पुगेको छ । सामानको १० प्रतिशत र वित्तीय एवं ट्राभल गरी सेवामूलक ४ दशमलब २ प्रतिशतले वृद्धि भएको छ ।

आयात र निर्यात गरी करिब ५० प्रतिशत बेलायतको व्यापार ईयूसँग रहेकाले बिनासम्झौता बेलायत बाहिर निस्के आर्थिक रूपले मूल्य चुकाउनुपर्ने लन्डनस्थित अर्थ व्यवस्थापनविज्ञ विकलचन्द्र आचार्य बताउँछन् । ईयू कमन मार्केट छोडी विश्व व्यापार संघको नियम मार्फत व्यापार गर्न महँगो हुने र केही समयका लागि बेलायत अस्थिरतातर्फ उन्मुख हुने ब्रेक्जिट जानकार आचार्यको विश्लेषण छ ।

बेलायतको स्वास्थ्य सेवा, सुरक्षा, कृषि, वित्तीय आदि क्षेत्रमा ईयूको भूमिका उल्लेखनीय छ । युरोपियन युनियनबाट आउने कामदारको सहज आपूर्तिबिना बेलायतको व्यवसायमा प्रतिकूल असर पर्ने व्यवसायीहरूले बताउँदै आएका छन् ।

सन् २०१६ जुनमा भएको जनमत संग्रहमा ५२ प्रतिशतले ईयू छोड्नुपर्नेमा मतदान गरेका थिए । व्यावहारिक झन्झट, आर्थिक उथलपुथल, नियम कानुनको झमेला तथा वार्तामा सोचेअनुरूप प्रगति हुन नसकेका कारण ईयू छोड्नुपर्ने भन्ने बेलायती जनमतमा केही ह्रास आएको विश्लेषकहरू बताउँछन् ।

ईयू छोड्नुपर्ने पक्षधरको मूल मुद्दा भने बढदो आप्रवासी संख्या कम गर्न कडा ब्रेक्जिट सम्झौता नै हुनुपर्ने अडान छ । बेलायतमा हाल करिब ३० लाख ईयू देशका आप्रवासी छन् । उत्तरी आयरल्यान्डको सीमा समस्या समाधानबारे पनि सही नीति अवलम्बन गर्नुपर्ने हुन्छ ।

Esewa Pasal

प्रकाशित : भाद्र १२, २०७५ ०८:२९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लन्डनमा नेपाल बिर्साउने मेला

एम्बासडर कप लमजुङ समाज यूकेलाई
नवीन पोखरेल

लण्डन — दिनभर परिरहेको झरी पर्वाह नगरि आइतबार केम्पटन पार्क रेस कोर्समा हजारौं नेपाली ओइरिए । बेलायतका नेपालीलाई तानेको थियो नेपाली मेलाले । नेपालमै दुर्लभ लाग्ने साँस्कृतिक झांकी, नृत्य र भेषभुषाले ‘मिनी नेपाल’ झैं लाग्थ्यो त्यहाँको माहोल ।

मेलामा दुई दर्जन नेपाली संघसंस्थाले झाँकी र करिब डेढ दर्जनले नृत्यमा प्रतिष्पर्धा गरेर आफ्नो मौलिक कला सँस्कृति उजागर गरे।

सोरठी, घाँटु, बालन, लाखे, कृष्ण चरित्र नाच, धान नाच, चुडका, कौडा, रत्यौली देखि तीज र टहोंटे पर्व झल्काउने मौलिक प्रस्तुतिले रंगीयो रेस कोर्स। झांकीमा नेपालमै दुर्लभ ढिकी जांतो, डोको नाम्लो, हलो जुवा, कुटो कोदालो, स्याखु, चर्खा, राडी, गुन्द्री, चर्खा, ठेकी मदानी जस्ता करिब तीन दर्जन सामाग्री देखाएर लमजुङ समाज यूकेले नेपालमात्र बिर्साएन, एम्बासडर कप नै जित्यो।

‘मेलामा सिंगो नेपाल झल्किएको आभास हुन्थ्यो’, मेला हेर्न पुगेकी एकजना दर्शक अलिसा सुवेदीले भनिन्, ‘यसले नेपाली कला संस्कृति जगेर्नामा अवश्य टेवा पुग्नेछ।’

ति दर्शकले भनेजस्तै उद्देश्य लिएर तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावास र अन्य संघसंस्थाको सहकार्यमा गरेको हो दशौं नेपाली मेला। मेलाले नयां पुस्तामा नेपाली भाषा, कला र संस्कृति हस्तान्तरण हुने आशा समेत तमुधिं यूकेको छ। बेलायतमा नेपालीले गर्ने ‘इभेन्ट’ मध्ये गोर्खा कप पछि वृहत मानिन्छ नेपाली मेला। सन् २००९ देखि वर्षेनी नेपाली मेला हुंदै आएको छ।

मेला अवलोकन गर्न बेलायतका लागि यमन, इराक, यूएइ, उज्वेकिस्तान, ट्युनिसियाका राजदूतहरु एवं बहमास, बंगलादेश, जोर्डन, रोमानिया, माल्दिभ्स, केन्या, इजिप्ट, स्वाजील्याण्ड, आइसल्याण्ड, एल साल्भाडोर, ताजिकिस्तान, बुल्गेरियाबाट प्रतिनिधित्व गर्ने विभिन्न तहका कुटनीतिज्ञ र बेलायतको विदेश मन्त्रालय (एफसीओ) का प्रतिनिधि पनि प्रत्यक्ष सहभागी थिए। कुटनीतिज्ञ निम्त्याउने चांजोपांजो नेपाली दूतावासले गरेको हो।

सम्वोधनका क्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली मेला बेलायतको नेपाली समाजमा एउटा इतिहास, पर्व र अभिन्न अंग भइसकेको बताए। ‘मेला नेपाली संस्कृतिको रुपमा परिचित भइसकेको छ र यसले बेलायतभर छरिएर रहेका नेपालीमाझ एकता र भातृत्वको सन्देश दिएको छ’, राजदूतले भने।

केक काटेर मेलाको दशौं संस्करण मनाइरहँदा आयोजक तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले मेला आयोजनाको उद्देश्य प्रकाश पार्दै यसलाई जीवन्त राख्न समस्त नेपालीको अठोट आवश्यक रहेको औंल्याए।

मेला संयोजक हितकाजी गुरुङले सहयोगीप्रति आभार व्यक्त गरे।

मेलामा प्रमुख आकर्षण बन्यो झाँकी र नृत्य। उत्कृष्ट झाँकी र नृत्य गरि लमजुङ समाज यूकेले एम्बासडर कप जित्यो भने सिक्लेस पार्चे समाज यूके दोश्रो र घान्द्रुक वेलफेयर सोसाइटी यूके तृतीय भए। सांस्कृतिक नृत्यमा घान्द्रुक समाज यूके प्रथम, लमजुङ समाज यूके दोश्रो र सिक्लेस पार्चे समाज यूके तेश्रो भयो।

झाँकी तथा नृत्य प्रतियोगितामा उत्कृष्ट हुने संस्थालाई नेपाली दूतावास लन्डनले सन् २०१० देखि प्रायोजन गर्दै आएको एम्बासडर कप र गत वर्ष देखि एनआरएनए यूकेले प्रायोजन गरेको एनआरएनए यूके कप, मेडल, प्रमाणपत्र र ११ सय पाउण्ड नगद प्रदान गरियो। साथै, उपविजेतालाई ७ सय पाउण्ड र तेश्रो हुनेले ५ सय पाउण्ड नगद, मेडल र प्रमाणपत्र पाए। त्यस्तै नृत्य तर्फको प्रथम हुने समूहलाई ५ सय पाउण्ड, दोश्रोलाई ४ सय पाउण्ड र तेश्रोलाई तीनसय पाउण्ड प्रदान गरिएको थियो।

उक्त प्रतियोगिताको निर्णायक मण्डलमा संयोजक एकेन्द्र गुरुङ र अन्य विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्तिहरु अतिप्रसाद पुन, तारा गुरुङ, नरेश खपांगीमगर, उत्तरमान लिम्बु र सनमकुमार बैराग निर्णायकमा थिए।

मेला सफल बनाउन ६५ सदस्यीय तयारी समितिले तीन महिना यता निरन्तर गृहकार्य गरिरहेको थियो। मेला सफलताका लागि नेपालका उपराष्ट्रपति, परराष्ट्रमन्त्री र तमुधिं यूके संरक्षक शेष घलेले शुभकामना पठाएका थिए।

तस्विर सौजन्य: मिलन तमु

प्रकाशित : भाद्र ११, २०७५ १८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT