१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘उत्तर कोरियाबाट अझै खतरा’

एएफपी

टोकियो — जापानले उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा रहेको जनाएको छ । जापानी रक्षा मन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुन सक्ने अवस्था नरहेको बताएका हुन् ।

‘उत्तर कोरियाबाट अझै खतरा’

जापानको सन् २०१८ को सुरक्षासम्बन्धी पहिलो बैठकमा अधिकारीले यस विषयलाई छलफलमा ल्याएको समाचार संस्था एएफपीले जनाएको छ । त्यसैगरी चीनको बढ्दो सैन्यशक्ति पनि सुरक्षा समीक्षाको विषयका रूपमा उठाइएको छ ।


गत वर्ष जापानको यस्तो सुरक्षा बैठक उत्तर कोरियाको परमाणु कार्यक्रम उत्कर्षमा पुगेको बेला भएको थियो । गत वर्षको बैठकका उत्तर कोरियालाई सुरक्षा खतरा र समस्याका रूपमा लिइएको थियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच गत जुनमा सिंगापुरमा भएको शिखर वार्तापछि उत्तरले आफ्नो परमाणु कार्यक्रमलाई रोक्ने प्रतिबद्धता जनाएको थियो ।


त्यसलगत्तै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट अब आफ्नो मुलुकलाई कुनै पनि खतरा नरहेको बताएका थिए । तर हालसम्म पनि कुनै प्रतिक्रिया नजनाएको जापानले उत्तर कोरियाप्रति ढुक्क हुने अवस्था नरहेको मंगलबार टिप्पणी गरेको हो ।


जापानी रक्षामन्त्री सुनोरी ओनोदेराले भने, ‘उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमबारे जापानले विगतमा उत्तर कोरियालाई जुन मान्यतामा राखेको थियो त्यसमा कुनै परिवर्तन आएको छैन ।’


जापानले उत्तर कोरियाले गरेको प्रतिबद्धताबमोजिम आणविक कार्यक्रम स्थगित गरेको भन्नेबारेमा अझै पनि ढुक्क हुन सक्ने अवस्था नआएको जनाएको छ ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?