सहजै पद त्याग्छन् अस्ट्रेलियाली नेता

नारायण खड्का

अस्ट्रेलिया — आफ्नै गृहमन्त्रीले नेतृत्वका लागि चुनौती दिएपछि प्रधानमन्त्री माल्कम टर्नबुलले केही दिनअघि सहजै प्रधानमन्त्री पद र पार्टीको नेतृत्व छोडिदिए । उनले केही दिनमै राजनीतिबाटै विश्राम लिने बताइसकेका छन् । 

सहजै पद त्याग्छन् अस्ट्रेलियाली नेता

सन् २०१४ मा ४६ वर्षको उमेरमा अष्ट्रेलियाकै ठूलो राज्य न्यू साउथ वेल्स राज्यको प्रिमियर बनेका मार्क बेयर्डले पनि आफू पदमा रहँदै प्रिमियरको पदका साथै राजनीतिबाटै अलग हुने घोषणा गरे ।


अस्ट्रेलियाकी पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर पाएकी जुलिया गिलार्डले समेत ५३ वर्षको उमेरमै राजनीतिबाट सन्यास लिईन् । उनी आफ्नै पार्टीबीचमा भएको निर्वाचनमा केभिन रडसँग प्रधानमन्त्री तथा पार्टी नेताको पदमा पराजित भएकी थिईन् ।


अस्ट्रेलियामा आफ्नो पद र आत्मसम्मानमा अलिकति ठेस पुग्ने बित्तिकै लोभ नगरी पद र सत्ता छोड्ने क्रम रोचक छ । उनीहरुले पद र सत्तालाई भन्दा पनि आफ्नो आत्मसम्मान र जनताको भावनाको कदर गर्ने गरेका छन् ।


न्यू साउथ वेल्समै सन् २०११ देखि २०१४ सम्म प्रिमियर भएका ब्यारी ओफ्यारेलले त ३ हजार डलर (करिब २ लाख ५० हजार रुपैयाँ) बराबरको एक वाईन उपहार लिएको भन्दै विरोध भएपछि पदबाट राजीनामा दिएका थिए ।


उनले आफ्नो गल्ती स्वीकार गर्दै तत्कालै पदबाट राजीनामा मात्र दिएनन् कि केही महिनाभित्रैमा राजनीतिबाटै सन्यास समेत लिएका थिए ।


अस्ट्रेलियालाई अवसर र विकास भएको देशका रुपमा चिनिन्छ । त्यतिमात्र नभएर यहाँको राजनीतिक संस्कारलाई विश्वमा नै उच्च सम्मान गरिन्छ । कुनै कार्यमा गलत देखिने बित्तिकै उनीहरु सहज रुपमा पद त्याग्ने गर्छन् ।


३ वर्षअघि अस्ट्रेलियाको सभामुख रहेकी ब्राउनी बिसपले आफ्नै पार्टीको एक सहयोग संकलन कार्यक्रममा जाँदा हेलिकप्टर चढ्दा ५ हजार डलर खर्च गरेको पाइएपछि पदबाट राजीनामा दिईन् । उनले पदबाट राजीनामा मात्र दिईनन् की उक्त खर्चमा २५ प्रतिशत अतिरिक्त शुल्क तिरेर सरकारलाई सो रकम फिर्ता नै गरिदिईन् ।


अस्ट्रेलियाको राजनीतिमा सर्वसाधारणले करबाट तिरेको रकमको दुरुपयोग गरेको आलोचना भएका कारण पदलाई सहज त्याग गर्ने धेरै राजनीतिकर्मीहरु छन् ।


एकवर्षअघि माल्कम टर्नबुल प्रधानमन्त्री रहँदा नै संसदीय खर्चको बारेमा अनुगमन गर्ने संयन्त्रको व्यवस्था गरेका थिए । ‘संसदमा रहेका व्यक्तिहरु जसमा मन्त्रीहरु पनि सम्मिलित हुन्छन् उनीहरुको खर्च स्वतन्त्र निकायले अनुगमन गर्नुपर्छ भन्नेमा सरकार विश्वास राख्दछ ।’ उनले उक्त संयन्त्र निर्माणको क्रममा भनेका थिए ।


अस्ट्रेलियाको राजनीतिलाई बुझेका डा. भरतराज पौडेल अष्ट्रेलियाको राजनीतिमा नैतिकता र जवाफदेहिता अत्यन्तै धेरै भएको बताउँछन् । नेपालमा अहिलेसम्म नैतिकता र जवाफदेहिताको राजनीति शुरुवात नै नभएको उनको दाबी छ ।


नेपालमा एकपटक सत्तामा पुगेर असफल भएको व्यक्ति पटक पटक पुन: शक्तिको प्रयोग गर्दै पार्टीको माथिल्लो तहमा स्थापित हुने र पुन: सत्तामा पुग्ने यसको उदाहरण भएको बताउँछन् ।


नेपालका नेताहरु अष्ट्रेलिया आएर सबै व्यवस्था हेरेर गएपनि त्यसको अलिकति पनि अनुसरण गर्न नसकेकोप्रति उनी अचम्मित मान्छन् । उनी नेपालका नेताहरुले समेत अन्य देशको राजनीतिक संस्कारको सिको गर्नुपर्ने आवश्यता भइसकेको औँल्याउँछन् ।

प्रकाशित : भाद्र १४, २०७५ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?