इंग्ल्याण्डमा बालबालिकालाई ‘इनर्जी ड्रिंक्स’ बेच्न प्रतिबन्ध लगाउने तयारी

लन्डन — बेलायत सरकारले बालबालिकाको स्वास्थ्यप्रति चासो व्यक्त गर्दै अत्यधिक क्याफिन र चिनी हुने ‘इनर्जी ड्रिंक्स’ बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

इंग्ल्याण्डमा बालबालिकालाई ‘इनर्जी ड्रिंक्स’ बेच्न प्रतिबन्ध लगाउने तयारी

कोक भन्दा बढि चिनीको मात्रा र सस्तो पनि पर्ने इनर्जी ड्रिंक्स जस्तै रेड बुल, मोन्सटर इनर्जी लगायत उच्च क्याफिन भएका पेय पदार्थ बिक्रीमा प्रतिबन्ध लगाउने प्रस्तावसहित परामर्शका लागि १२ साताको समय दिइएको हो ।


प्रतिबन्ध १६ वा १८ वर्ष मुनीका बालबालिकाका लागि लागू गर्ने भन्नेबारे परामर्श भइरहेको बीबीसीले जनाएको छ ।


प्रधानमन्त्री टेरेजा मेले प्रतिबन्ध सम्बन्धि परामर्श बालबालिकाको मोटोपन र स्वास्थ्यसँग जोडिएको एवं सफ्ट ड्रिंक्स भन्दा पनि सस्तो इनर्जी ड्रिंक्स सेवनको परिक्षण आवश्यक रहेको बताएकी छन् । प्रधानमन्त्री मेले बुधबार यसबारे सार्वजनिक गरेकी हुन् ।


स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्ससँग भने आफ्नै ढंगले प्रतिबन्ध लागू गर्ने अधिकार छ ।


स्वास्थ्यविज्ञहरुले यस्तो पेय पदार्थका कारण मोटोपन, दाँत, टाउको दुख्ने र निद्रामा समस्या आउने औँल्याएका छन् । यस्ता पेय पदार्थ पिउने बालबालिकाले कक्षा कोठामा अप्रिय व्यवहार समेत देखाउने गरेको बताइएको छ ।


बेलायतका जनस्वास्थ्य मन्त्री स्टिभ ब्राइनले बालबालिकाको स्वास्थ्य र शिक्षामा असर पर्ने त्यस्ता पदार्थ सेवनबाट जोगाउनु सबैको दायित्व भएको बताउँदै युरोपेली भन्दा बेलायती बालबालिकाले करिब ५० प्रतिशत बढि सेवन गर्नु चिन्ताको विषय भएको बताएका छन् ।


२५० एमएल क्यानको रेड बुलमा ८० एमजी क्याफिनको मात्रा हुन्छ । मोन्सटर इनर्जी त प्राय ५ सय एमएल क्यानमा उपलब्ध छ । गर्भवती र स्तनपान गराउने महिलाले पनि क्याफिन बढि हुने यस्ता पेय पदार्थ सेवन नगर्न सुझाइएको हुन्छ ।


रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थका अध्यक्ष प्राध्यापक रसेल भिनेरले इनर्जी ड्रिंक्समा बालबालिका वा युवालाई आवश्यक पर्ने पोषण तत्व रहेको कुनै प्रमाण नभएको बताउँछन् ।


बेलायतका ठूला सुपरस्टोरहरुले गत मार्चदेखि स्वयंसेवक रुपमा १६ वर्ष मुनीका बालबालिकालाई इनर्जी ड्रिंक्स बेच्न छाडिसकेका छन् ।


बेलायतमा १० देखि १७ वर्ष उमेरका करिब ७० प्रतिशत बालबालिकाले इनर्जी ड्रिंक्स सेवन गर्ने गरेको तथ्यांक सरकारको ‘चाइल्डहुड ओबिसिटी प्लान’ सँग छ ।


बेलायतमा इनर्जी ड्रिंक्स विक्री सन् २०१२ देखि २०१७ को अवधिमा करिब १९ प्रतिशतले बढेको छ । बजार अनुसन्धान गर्ने मिन्टेलका अनुसार गत वर्ष बेलायतमा करिब १.६५ बिलियन पाउण्ड मुल्य बराबरको इनर्जी ड्रिंक्स बिक्री भएको थियो । सन् २०२२ सम्म त १० प्रतिशत बढ्ने प्रक्षेपण छ ।

प्रकाशित : भाद्र १४, २०७५ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?