कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरियाली परमाणु नि:शस्त्रीकरण : ‘चीनका कारण प्रगति भएन’

रोयटर्स

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका कारण कोरियाली द्वीपमा परमाणु हतियार नि:शस्त्रीकरणमा कुनै प्रगति नभएको आरोप लगाएका छन् । साथै ट्रम्पले उत्तर कोरियालाई चिढाउने आफ्नो कुनै नीति नरहेको पनि प्रस्ट पारेका छन् ।

कोरियाली परमाणु नि:शस्त्रीकरण : ‘चीनका कारण प्रगति भएन’

सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले लेखेका छन्, ‘चीनसँगको हाम्रो व्यापार विवादका कारण उसले उत्तर कोरियामाथि निरन्तर दबाब दिँदै आएको छ ।’ उत्तर उत्तर कोरियाको एक मात्र व्यापारिक साझेदार चीनले उसको निर्णयमाथि महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास गरिन्छ । गत साता ट्रम्पले कोरियाली प्रायद्वीपमा परमाणु हतियार नि:शस्त्रीकरणका लागि प्रगति नभएको भन्दै विदेशमन्त्री माइक पोम्पियोको प्योङयाङ भ्रमण रद्द गरिदिएका थिए ।


समाचार संस्था एपीले विदेशमन्त्रीको अर्काे भ्रमणबारे भने केही उल्लेख गरेको छैन । ट्रम्पले उत्तर कोरियाले परमाणु नि:शस्त्रीकरणका लागि प्रतिबद्धता गरेअनुसार कुनै प्रगति नभएको भन्दै पोम्पियोको भ्रमण स्थगित गरेलाई भ्रमण स्थगित गर्न शनिबार निर्देशन दिएका हुन् । ट्रम्पले उत्तर कोरियाले नि:शस्त्रीकरणका पक्षमा जनाएको प्रतिबद्धताअनुसार कार्य नभएकाले अमेरिकी अधिकारीले प्योङयाङ भ्रमण गर्न तत्काल उचिन नहुने बताएका हुन् ।


ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच गत जुन १२ मा सिंगापुरमा भएको ऐतिहासिक बैठकमा कोरियाली द्वीपलाई परमाणु हतियार मुक्त गर्ने सहमति भएको थियो ।
त्यसलगत्तै ट्रम्पले उत्तर कोरियाबाट ‘अमेरिकालाई उत्तर कोरियाबाट कुनै पनि खतरा नरहेको’ बताएका थिए । तर उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रम रोक्ने विषयमा विस्तृत सहमति नभएको भन्दै अमेरिकामा ट्रम्पको व्यापक आलोचना भएको थियो । उत्तर कोरियाले आफ्नो देशको एक परमाणु क्षेप्यास्त्र निर्माण स्थल ध्वस्त पारिसकेको जनाउँदै सिंगापुर शिखर बैठकमा भएको सहमतिप्रति प्रतिबद्ध रहेको जनाउँदै आएको छ ।


उत्तर कोरियाले चीन, अमेरिका, दक्षिण कोरिया, जापान, संयुक्त राष्ट्रसंघ, युरोपेली संघसँग आफ्नो देशमाथि लगाउँदै आएको आर्थिक प्रतिबन्ध हटाउनसमेत आग्रह गर्दै आएको छ । तर उक्त आग्रहप्रति भने कुनै पनि देशले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।


यसै साता भएको रक्षासम्बन्धी वार्षिक बैठकमा जापानले उत्तर कोरियाबाट अझै पनि गम्भीर खतरा रहेको जनाएको थियो । जापानी रक्षा मन्त्रालयले गरेको बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुन सक्ने अवस्था नरहेको तथा चीनको बढो सैन्यशक्ति पनि सुरक्षा समीक्षाको विषयका रूपमा उठाएको थियो ।


सैन्य अभ्यास आवश्यक छैन
राष्ट्रपति ट्रम्पले अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास पुन: थाल्नुपर्ने अवस्था आइनसकेको बताएका छन् । यसअघि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले भने यसै साता दुई देशबीच संयुक्त सैन्य अभ्यास पुन: सुरु हुने बताएका थिए । ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनसँग आफ्नो न्यानो सम्बन्ध रहेको बताउँदै प्योङयाङविरुद्ध तत्काल कुनै कदम चाल्नुपर्ने अवस्था नरहेको प्रस्ट पारेका छन्  ।

ट्रम्पको भनाइ गैरजिम्मेवार : चीन
बेइजिङ (एएफपी)– कोरियाली प्रायद्वीपमा बेइजिङका कारण परमाणु नि:शस्त्रीकरणमा प्रगति नभएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्ति गैरजिम्मेवार भएको जनाएको छ ।


चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले ट्रम्पले बेइजिङमाथि लगाएको आरोप ‘गैरजिम्मेवार र बेतुकको’ भएको बताए । ‘सत्य, गैरजिम्मेवार र बेतुकको तर्कलाई बंग्याउनु पहिले नै मजस्ता धेरै जनताले बुझेका छन् कि अमेरिका विश्वको पहिलो राष्ट्र हो,’ चुनयिङले सञ्चारकर्मीसँग भने । उनले कोरियाली प्रायद्वीप परमाणु हतियारमुक्त बनाउन चीन इमानदार रहेको दाबी गर्दै अमेरिकाले पनि सकारात्मक तथा रचनात्मक भूमिका खेल्नुपर्ने सुझाव दिएका छन् ।

प्रकाशित : भाद्र १५, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?