१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अस्ट्रेलियामा अर्को ठूलो बैंकलाई ३ अर्ब जरिवाना

नारायण खड्का

अस्ट्रेलिया — यहाँको बैंक वेस्ट प्याकलाई नियमन निकाय अस्ट्रेलियन सेक्युरिटीज एण्ड इन्भेस्टमेन्ट कमिसन (एसिक) ले ३५ मिलियन डलर (करिब २ अर्ब ८० करोड रुपैयाँ) जरिवाना तोकेको छ । उक्त बैंक अस्ट्रेलियाको ठूलोमध्येमा पर्छ ।

अस्ट्रेलियामा अर्को ठूलो बैंकलाई ३ अर्ब जरिवाना

ग्राहकहरुलाई घरको लागि ऋण प्रवाह गर्ने विषयमा पर्याप्त सावधानी नअपनाएको भन्दै बैंकलाई उक्त रकम जरिवाना तिराइएको हो । अस्ट्रेलियाका प्राय: सबै ठूला बैंकिङ तथा आर्थिक कारोबार गर्ने संस्थाहरु केही समय पहिलेदखि विभिन्न विषयमा अनुसन्धानको क्रममा रहेका छन् । यस पहिले उक्त निकायले अस्ट्रेलियाको सबैभन्दा ठूलो बैंक कमनवेल्थलाई ७ सय मिलियन डलर (करिब ५६ अर्ब रुपैयाँ) जरिवाना तिराइसकेको छ । जुन अस्ट्रेलियाको व्‍यावसायिक क्षेत्रकै सबैभन्दा ठूलो आर्थिक सजाय भएको बताइएको छ ।


वेस्टप्याक बैंकले ग्राहकहरुको आर्थिक हैसियत राम्रो नभएको जान्दाजान्दै ऋण प्रवाह गरेको, ऋण दिँदा सरकारी मापदण्ड मिचेको आरोपमा अनुसन्धान गरेको थियो । एक वर्षभन्दा अघिदेखि गरिएको अनुसन्धानपछि एसिकले उक्त बैंकसँग मंगलबार उक्त रकम बराबरको जरिवाना तिराएको हो । अस्ट्रेलिया सरकारले स्थानीय ग्राहकहरुले बैंकबाट लिने विभिन्न किसिमका सेवाहरुको बारेमा जनगुनासो बढेपछि रोयल कमिसनको स्थापना गरेको थियो । यहाँको सबैभन्दा उच्च अनुसन्धान निकायका रुपमा स्थापना गरिने यस निकायले बैंकिङ क्षेत्रका विभिन्न सेवाका बारेमा अनुसन्धान सुरु गरेको थियो । यसले अनुसन्धान सकेपछि सरकारलाई सुधारका लागि सुझावहरु दिने गर्दछ ।


सिड्नी युनिभर्सिटीबाट फाइनान्समा विद्यावारिधी गरेका डा. किरण थापा अस्ट्रेलियाले सेवाप्रदायकहरुको अधिकारलाई उच्च प्राथमिकता दिने भएकाले पनि सर्वसाधारण ग्राहकको उजुरीका आधारमा अनुसन्धानको स्थापना गरिएको बताउँछन् । यहाँको बैकिङ क्षेत्र र सुविधा विश्वको उच्चस्तरको र उदाहरणीय भए पनि सरकारले तोकेको नियम पालना नगरिएको खण्डमा सानो गल्तीलाई पनि कानुनी दायरामा ल्याइने गरिएको उनी सुनाउँछन् । ‘यहाँको तुलनामा हाम्रो नेपालको सरकारी निकाय भने बैंकको अवस्था नाजुक भएपछि उद्धार गर्न जाने किसिमको छ ।’


बैकिङ क्षेत्र सुधार्न भन्दै स्थापना गरिएको उक्त कमिसनले यहाँका चारवटै ठूला बैंकहरु कमनवेल्थ, एएनजेड, न्याब, वेस्टप्याकलाई अनुसन्धानको दायरमा ल्याइसकेको छ ।

प्रकाशित : भाद्र १९, २०७५ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?