रूसद्वारा सिरियाको इडलिबमा आक्रमण

गैरजिम्मेवार कारबाही नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी
एजेन्सी

वासिङ्टन — रूसी युद्धक विमानहरूले सिरियाको विद्रोही नियन्त्रित प्रान्त इडलिबमा मंगलबार बम आक्रमण गरेका छन् ।

रूसद्वारा सिरियाको इडलिबमा आक्रमण

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आक्रमण तीन सातायताकै भयानाक भएको जनाएका छन् । तर रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले रूसले इडबिलमा आक्रमण नगरेको दाबी गरेको बीबीसीले जनाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इडलिबमा ‘गैरजिम्मेवार ढंगले कारबाही नगर्न’ सिरिया सरकार र उसका साझेदार रूस तथा इरानलाई चेतावनी दिएका थिए । ट्वीटरमार्फत टम्पले त्यस्तो हमलाबाट हजारौं मानिस मारिन सक्ने भन्दै आइन्दा त्यसो नगर्न चेतावनी दिएका हुन् ।

सिरियाको सरकारी फौजले इडलिबमा ठूलो हमलाको तयारी गरिरहेका विवरण सार्वजनिक भइरहेका बेला ट्रम्पले चेतावनी दिएका हुन् । संयुक्त राष्ट्रसंघले पनि सिरियाली फौजले गर्न सक्ने हमलाले हजारौं नागरिक प्रभावित हुन सक्ने जनाएको छ । सोमबार अमेरिकी विदेश मन्त्रालयले पनि सिरियाली सरकार र उसका साझेदारले रासायनिक हमला गरे वासिङ्टनले कडा जवाफ दिने चेतावनी दिएको थियो ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हलीले सिरियाली राष्ट्रपति बसर अल असाद, रूस र इरानले इडलिबमा के गर्छन् भन्नेमा अन्तर्राष्ट्रिय समुदायको चासो रहेको दाबी गरिन् । इडलिब सिरियाली विद्रोहीहरूको पकड रहेको अन्तिम क्षेत्र हो । यसअघि बेलायती समाचार संस्था रोयटर्सले सिरियाली राष्ट्रपति बसर अल असदले इडलिबमा चरणबद्ध आक्रमण गर्ने तयारी गरिरहेको समाचार प्रकाशन गरेको थियो ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?