जापानमा आँधीबाट ९ को मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

रासस/एएफपी

टोकियाे — पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन् । 

जापानको ओसाका सहरमा शक्तिशाली आँधी ‘जेबी’ ले क्षतिग्रस्त कार । तस्बिर : रोयटर्स

जेबी नाम दिइएको आँधी मङ्गलबार दिउँसो जापानको पश्चिमी तटीय क्षेत्रमा प्रवेश गरेको थियो । ठूलो वर्षा सहित आएको सो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टा रहेको स्थानीय मौसम विज्ञान विभागले जनाएको छ ।

आँधीले घरका छाना उडाएको, पुलमा रहेका ट्रकहरु पल्टाएको र ओसाकाको बन्दरगाहमा रहेको २ हजार ५ सय ७१ टनको टेङ्कर बगाएको थियो ।

सामुद्रिक टापुजस्तो ठाउँमा निर्माण गरिएको कानसाई अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने एउटा पुलमा नराम्रोसँग क्षति पुगेको छ । यातायात मन्त्रालयका एक अधिकारीका अनुसार उक्त विमानस्थलमा करिब तीन हजार यात्रु अलपत्र अवस्थामा छन् ।

बुधबार बिहान विमानस्थलमा अलपत्र यात्रुहरुलाई नजिकको कोबेमा स्थानान्तरण गरिएको छ । तर दैनिक ४०० भन्दा बढी उडान भर्ने यो विमानस्थल पुनः चालू हुनेबारे अझै भन्न नसकिने अधिकारीहरुको भनाइ छ ।

'विमानस्थलमा रातभर विद्युत सेवा कटौती गरिएको थियो । यहाँ अति गर्मी थियो,' उद्धार गरिएकी एक महिलाले भनिन्, 'आँधीबाट यो स्तरको क्षति भएको यसअघि मलाई कहिल्यै थाहा थिएन ।'

बुधबार बिहानसम्म १२ लाखभन्दा बढी मानिसलाई सतर्क रहन लगातार परामर्श गरिएको अधिकारीहरुले बताएका छन् । बारुणयन्त्र तथा विपद् व्यवस्थापन निकायले करिब २९ हजार ६सय जनालाई उद्धारका लागि तयार रहन आग्रह गरेको छ । करिब १६ हजार मानिसले रातभर टेन्टमा बिताएका थिए ।

अमेरिकामा पनि आँधीको त्रास
अमेरिकी तटीय इलाकाबाट मङ्गलबार राति आएको गोर्डोन नामको आँधी अमेरिकाको अलाबामा र मिसिसीपी राज्यमा फैलिएको छ ।

अधिकारीहरुले दुबै राज्यका साथै लुजियाना राज्यको न्यू अर्लिएन्समा आपतकालीन स्थितिको घोषणा गरेका छन् । लुजियाना राज्यमा सन् २००५ मा आएको आँधीतूफानका कारण जनधनको व्यापक क्षति भएको थियो ।

गोर्डोन आँधी प्रारम्भमा प्रतिघण्टा १४ माइल रहेकामा पछिल्लो समय ७० माइल प्रतिघण्टा पुगेको छ ।

प्रकाशित : भाद्र २०, २०७५ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्

अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे सिफारिस 

दुर्गा खनाल

काठमाडौँ — संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख अायुक्तमा नवीनकुमार घिमिरेलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले प्रमुख आयुक्तमा पूर्वसचिव घिमिरेको नाम सिफारिस गरेको हो ।

अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई पछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन्।

गृह सचिवबाट अवकाश भएपछि घिमिरे चार वर्षअघि अख्तियारका आयुक्त नियुक्त भएका थिए।

यसअघिका अख्तियार प्रमुखदीप बस्न्यात उमेरहदका कारण अवकाश पाएपछि प्रमुख पद रिक्त थियो।घिमिरेको नियुक्तिसँगै अख्तियारले पूर्णता पाउनेछ। संवैधानिक प्रावधान अनुसार अख्तियारमा प्रमुख आयुक्त सहित ५ जना आयुक्त रहन्छन्।

यसैबीच संवैधानिक परिषद्ले अन्य संवैधानिक आयोगमा पदाधिकारीहरुको नियुक्त प्रक्रिया अगाडि बढाएको छ।अन्यआयोगहरुमा उपयुक्त हुने व्यक्तिहरुको सूची तयार पारिरहेको छ।

सूची तयार पार्नका लागि परिषद्ले आवेदन माग गरेको छ। अाएका आवेदनहरुमाथि परिषद्ले छलफल गरी नियुक्ती गर्ने तयारी गरिरहेको छ।हाल ८ वटा आयोगका पदाधिकारीहरु नियुक्त हुन बाँकी रहेका छन्।

प्रकाशित : भाद्र २०, २०७५ १२:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्