कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जापानमा आँधीबाट ९ को मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

रासस/एएफपी

टोकियाे — पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन् । 

जापानमा आँधीबाट ९ को मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

जेबी नाम दिइएको आँधी मङ्गलबार दिउँसो जापानको पश्चिमी तटीय क्षेत्रमा प्रवेश गरेको थियो । ठूलो वर्षा सहित आएको सो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टा रहेको स्थानीय मौसम विज्ञान विभागले जनाएको छ ।


आँधीले घरका छाना उडाएको, पुलमा रहेका ट्रकहरु पल्टाएको र ओसाकाको बन्दरगाहमा रहेको २ हजार ५ सय ७१ टनको टेङ्कर बगाएको थियो ।


सामुद्रिक टापुजस्तो ठाउँमा निर्माण गरिएको कानसाई अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने एउटा पुलमा नराम्रोसँग क्षति पुगेको छ । यातायात मन्त्रालयका एक अधिकारीका अनुसार उक्त विमानस्थलमा करिब तीन हजार यात्रु अलपत्र अवस्थामा छन् ।


बुधबार बिहान विमानस्थलमा अलपत्र यात्रुहरुलाई नजिकको कोबेमा स्थानान्तरण गरिएको छ । तर दैनिक ४०० भन्दा बढी उडान भर्ने यो विमानस्थल पुनः चालू हुनेबारे अझै भन्न नसकिने अधिकारीहरुको भनाइ छ ।


'विमानस्थलमा रातभर विद्युत सेवा कटौती गरिएको थियो । यहाँ अति गर्मी थियो,' उद्धार गरिएकी एक महिलाले भनिन्, 'आँधीबाट यो स्तरको क्षति भएको यसअघि मलाई कहिल्यै थाहा थिएन ।'


बुधबार बिहानसम्म १२ लाखभन्दा बढी मानिसलाई सतर्क रहन लगातार परामर्श गरिएको अधिकारीहरुले बताएका छन् । बारुणयन्त्र तथा विपद् व्यवस्थापन निकायले करिब २९ हजार ६ सय जनालाई उद्धारका लागि तयार रहन आग्रह गरेको छ । करिब १६ हजार मानिसले रातभर टेन्टमा बिताएका थिए ।


अमेरिकामा पनि आँधीको त्रास

अमेरिकी तटीय इलाकाबाट मङ्गलबार राति आएको गोर्डोन नामको आँधी अमेरिकाको अलाबामा र मिसिसीपी राज्यमा फैलिएको छ ।


अधिकारीहरुले दुबै राज्यका साथै लुजियाना राज्यको न्यू अर्लिएन्समा आपतकालीन स्थितिको घोषणा गरेका छन् । लुजियाना राज्यमा सन् २००५ मा आएको आँधीतूफानका कारण जनधनको व्यापक क्षति भएको थियो ।


गोर्डोन आँधी प्रारम्भमा प्रतिघण्टा १४ माइल रहेकामा पछिल्लो समय ७० माइल प्रतिघण्टा पुगेको छ ।

प्रकाशित : भाद्र २०, २०७५ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?