१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

इडलिबबारे छलफल गर्न इरानमा शिखर बैठक

बैठकले विद्रोही लडाकुको भविष्यका बारेमा महत्त्वपूर्ण निर्णय लिने
एएफपी

तेहरान — रूसी सेनाको सहयोगमा सिरियाले विद्रोहीनियन्त्रित इडलिबमा आक्रमण गर्ने अन्तिम तयारी गरिरहेका बेला शुक्रबार इरानमा तीन मुलुकको शिखर बैठक बस्ने भएको छ ।

इडलिबबारे छलफल गर्न इरानमा शिखर बैठक

इरान, रूस र टर्कीका राष्ट्रपतिहरूको बैठक तेहरानमा बस्न लागेको हो । बैठकले विद्रोही लडाकुको भविष्यका बारेमा महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

सिरियाली विद्रोहीको मुख्य अखडा मानिएको इडलिबमा आक्रमण भए सात वर्षयताकै ठूलो मानवीय विपत्ति निम्तिने चेतावनी दिइएको छ ।

दमास्कस र मस्कोले इडलिबमा रहेका विद्रोहीलाई परास्त गर्ने बताइसकेका छन् । तेहरान बैठकले इडलिबमाथिको आक्रमणको समय निर्धारण गर्नेछ । ‘हामीलाई थाहा छ, सिरियाली सैनिक यो समस्या सुल्झाउन तयारी अवस्थामा छन्,’ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने ।

सरकारी फौजबाट सन् २०१५ मा कब्जा गरिएको इडलिब र त्यस वरपरका इलाका मात्र विद्रोहीको नियन्त्रणमा छन् । विद्रोहीको नियन्त्रणमा रहेको यो नै अन्तिम क्षेत्र हो । टर्कीले विद्रोही समूहलाई विगतमा मद्दत गर्दै आएको थियो । इडलिबसँग सीमा जोडिएको टर्कीले यहाँ १२ वटा सैनिक जाँच चौकी स्थापना गरेको छ ।

सिरिया सरकारले इडलिबमा सैनिक क्षमतालाई एकीकृत र सुदृढ गरिरहेको भए पनि हालैका सातामा कुटनीतिक पहल व्यापक बनाइएको छ । तेहरान बैठकमा सिरियाली सैनिक परिचालनका बारेमा प्रस्तुतीकरण पनि हुने बताइएको छ ।

संयुक्त राष्ट्रसंघ र दातृ समूहले इडलिबमा पूर्णक्षमताको आक्रमण भए यो सिरियाको इतिहासमै सबैभन्दा ठूलो मानवीय विपत्ति हुने बताएका छन् । सिरिया युद्धका सात वर्षमा हालसम्म साढे ३ लाखभन्दा बढीको ज्यान गइसकेको छ ।

रूसी विदेशमन्त्री सर्गेई लाभरोभले इडलिबमा रहेका सशस्त्र समूहले अझै पनि सिरियाली सरकारी कार्यालय र रूसी हवाई अखडामा आक्रमण गरिरहेको जानकारी दिँदै त्यस्तो समूहलाई जरैदेखि उखेल्नुबाहेक अर्को विकल्प नरहेको बताए ।

‘इडलिबमा नरसंहार हुन सक्छ’
टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले इडलिब प्रान्तमा जथाभावी बम र क्षेप्यास्त्र प्रहार गरिए त्यहाँ नरसंहार हुने चेतावनी दिएका छन् । ‘त्यस्तो नहोस् भनेर भगवान्सँग मेरो प्रार्थना छ । बमबारी भएमा त्यहाँ नरसंहार अवश्य हुन्छ,’ इर्दोगानले किर्गिजस्तानको भ्रमणका क्रममा पत्रकारसँग भने ।

टर्कीका विदेशमन्त्री मेभ्लुट काभुसोग्लुले अझै पनि सम्झौताको सम्भावना रहेको बताए । ‘शिखर बैठकअघि हामी निरन्तर सम्पर्कको प्रयासमा छौं र राम्रो नतिजा निस्कियोस् भन्नेमा सचेत छौं ।’ रूसले मंगलबारदेखि नै २२ दिनको विश्रामपछि पहिलो पटक इडलिबमा आक्रमण सुरु गरेको छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?