कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिरिया द्वन्द्व: ‘इडलिबमा आक्रमण रोकिन्न’

रोयटर्स

जेनेभा — इरानी राष्ट्रपति हसन रौहानीले सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इडलिबमा ‘आतंककारीमाथि भइरहेको आक्रमण’ नरोकिने जनाएका छन् ।

सिरिया द्वन्द्व: ‘इडलिबमा आक्रमण रोकिन्न’

इरान, रूस र टर्कीका राष्ट्रपतिबीच शुक्रबार तेहरानमा भएको छलफलका क्रममा रौहानीले उक्त चेतावनी दिएका हुन् ।

रौहानीले भने, ‘सिरियामा शान्ति तथा स्थायित्वका लागि आतंककारी समूहविरुद्ध लड्नु अपरिहार्य छ ।’ त्रिपक्षीय बैठकका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘सिरिया सरकारसँग आफ्नो देशको भू–भाग नियन्त्रणमा लिने पूर्ण अधिकार रहेको’ बताए ।

सिरियाली युद्धमा बाहय खेलाडी देशका राष्ट्रपतिबीचको छलफलले इडलिबको भाग्य निर्धारण हुने बीबीसीले जनाएको छ । यद्यपि, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगान र रौहानीबीचको छलफलको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

इडलिब सिरियाको एक मात्र विद्रोही नियन्त्रित क्षेत्र हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले शुक्रबार पनि रूसी युद्धक विमानले उक्त क्षेत्रमा आक्रमण गरेको जनाएका छन् । सिरियाली द्वन्द्वमा इरान, रूस तथा टर्की प्रत्यक्ष रूपमा संलग्न छन् ।

टर्कीले सिरियाली द्वन्द्वका कारण आफ्नो देशको दक्षिण सीमामा थप शरणार्थी समस्या उत्पन्न हुने दाबी गर्दै आएको छ । बसर अल असद सरकारलाई महत्त्वपूर्ण सैन्य सहयोग गर्दै आएका रूस तथा इरानले सिरियाली जिहादी समूह निर्मुल हुनुपर्ने बताउने गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको विद्रोही नियन्त्रित इडलिब प्रान्तमा ‘गैरजिम्मेवार ढंगले कारबाही नगर्न’ सिरिया सरकार र उसका साझेदार रूस तथा इरानलाई चेतावनी दिएका थिए ।

संयुक्त राष्ट्रसंघले पनि सिरियाली फौजले गर्न सक्ने हमलाले हजारौं नागरिक प्रभावित हुन सक्ने जनाएको छ । सोमबार अमेरिकी विदेश मन्त्रालयले पनि सिरियाली सरकार र उसका साझेदारले रासायनिक हमला गरे वासिङटनले कडा जवाफ दिने चेतावनी दिएको थियो । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हलीले असद, रूस र इरानले इडलिबमा के गर्छन् भन्नेमा अन्तर्राष्ट्रिय समुदायको चासो रहेको दाबी गरिन् ।

अमेरिकाद्वारा चेतावनी
अमेरिकाले सिरियाली विद्रोहीको नियन्त्रणमा रहेको इडलिबमा रासायनिक आक्रमण तयारी भइरहेको दाबी गर्दै सिरिया, इरान तथा रूसलाई चेतावनी दिएको छ ।

सिरियाका लागि नवनियुक्त अमेरिकी राजदूत जिम जेफ्रीले ‘आफूसँग रासायनिक हमलाको तयारीका प्रमाण रहेको’ दाबी गरेका छन् । इडलिब सिरियाका जिहादी समूहको अन्तिम पकड क्षेत्र हो ।

आफ्नो नियुक्तिपछिको पहिलो अन्तरवार्ताका क्रममा जेफ्रीले भने, ‘कुनै पनि आक्रमण हाम्रा लागि सहय हुने छैन । रासायनिक हतियारको प्रयोगका लागि तयारी भइरहेको हामीसँग धेरै प्रमाण छन् ।’ यद्यपि, उनले आफूसँग के–कस्ता प्रमाण छन् भन्नेबारे केही उल्लेख गरेनन् ।

सिरियाली राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारले उक्त क्षेत्रमाथि नियन्त्रण कायम गर्न अन्तिम प्रयासका लागि शक्ति केन्द्रित गरिरहेको छ । यसअघि पनि सिरिया र रूसमाथि द्वन्द्वग्रस्त क्षेत्रमा रासायनिक हतियार प्रयोग गरेको आरोप लाग्दै आएको छ । यद्यपि, दुवैले उक्त आरोप इन्कार गर्दै आएका छन् ।

प्रकाशित : भाद्र २३, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?