पाकिस्तानका राष्ट्रपति अल्भीले लिए शपथ

एजेन्सी

इस्लामावाद — पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति अरिफुर रेहमान अल्भीले शपथ लिएका छन् । पाकिस्तानका प्रधानन्यायाधीश मियान सकिब निसारले आइतबार राष्ट्रपति कार्यालयमा आयोजना गरिएको एक समारोहबीच उनलाई शपथ गराएका हुन् ।

पाकिस्तानका राष्ट्रपति अल्भीले लिए शपथ

सत्तारूढ दल पाकिस्तान तेहरिक ए–इन्साफ (पीटीआई) का नेता अल्भी गत मंगलबार राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी पाकिस्तानको १३ औं राष्ट्रपति हुन् । शपथ ग्रहण समारोहमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान, निवर्तमान राष्ट्रपति मोहम्मद हुसेन, नेताहरू, सैनिक नेतृत्व, संघीय मन्त्रिपरिषदका सदस्य, सांसदहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, कूटनीतिज्ञ तथा विदेशी अधिकारीहरूको उपस्थिति रहेको थियो ।


यसअघि राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले ‘आफू दलको मात्र नभई समग्र राष्ट्रको राष्ट्रपति भएको’ प्रतिक्रिया दिएका थिए । उनले प्रधानमन्त्री इमरान खानलाई राष्ट्रपतिको उमेदार बनाएकोमा धन्यवाद समेत दिए । ५ दशकभन्दा लामो समय पाकिस्तानको राजनीतिमा सक्रिय अल्भीको राजनीतिक यात्रा लाहोरस्थित एक डेन्टल कलेजको विद्यार्थी संघको अध्यक्षका रूपमा सुरु भएको थियो ।


अल्भी सन् १९६९ मा जेनेरल अयुब खानको सैनिक शासनविरुद्ध भएको विद्यार्थी आन्दोलनमा समेत सक्रिय थिए ।


उनी पाकिस्तानमा प्रजातन्त्रका लागि भएको संघर्षमा क्रियाशील थिए । उनी १९७७ मा पहिलो पटक कराँचीबाट उमेदवार बने पनि पाकिस्तान नेसनल अलायन्सले चुनाव बहिष्कार गरेका कारण चुनाव भने लडेनन् ।

प्रकाशित : भाद्र २५, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?