कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चीन पुग्यो शक्तिशाली आँधी

फिलिपिन्समा मृत्यु हुने ५९ पुगे
रोयटर्स

हङकङ/मनिला — फिलिपिन्सको लुजोनबाट सक्रिय भएको ‘मंगखुट’ आँधी आइतबार साँझ चीनको दक्षिणी क्षेत्र प्रवेश गरेको छ । आँधीले गुवाङडोङ प्रान्तका साथै हङकङ र मकाउमा पनि ठूलो क्षति पुर्‍याएको छ ।

चीन पुग्यो शक्तिशाली आँधी

आँधीका कारण चीनको गुवाङडोङमा भीषण वर्षा गराएपछि जनजीवन निकै प्रभावित भएको छ । आँधी आएसँगै हजारौं मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । हङकङमा कम्तीमा १ सय ११ जना घाइते भएको बीबीसीले जनाएको छ ।

चीनको सेन्जेन सहरमा करिब १ लाख ३० हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ । उक्त क्षेत्रमा तेल प्रशोधन केन्द्र तथा उद्योग, कलकारखानाहरू बन्द भएका छन् । शनिबार रातिदेखि बन्द गरिएको विमानस्थल कम्तीमा सोमबारसम्म नखुल्ने जनाइएको छ ।


मंगखुट सन् २०१८ कै शक्तिशाली आँधी भएको जनाइएको छ । आँधीको बाटोमा पर्ने क्षेत्रमा करिब ४ मिटरसम्म पानी जमेको छ । हङकङले उच्च चेतावनी जारी गरेको छ ।

हावाहुरीको गति झन्डै २ सय किलोमिटर पुगेपछि सर्वसाधारणलाई घरभित्रै सुरक्षित रहन आग्रह गरिएको छ । अधिकांश सार्वजनिक स्थान तथा पसलहरू बन्द छन् । हङकङ विमानस्थलमा कम्तीमा ८ सय उडानहरू रद्द भएको अधिकारीहरूले जनाएका छन् ।

चिनियाँ राष्ट्रिय जलवायु केन्द्रका अनुसार मंगखुट चीनमा यस वर्ष आएको २२ औं आँधी हो । मंगखुट हालसम्मकै शक्तिशाली भएकाले भारी वर्षा गराउने केन्द्रको भविष्यवाणी छ । चिनियाँ सञ्चारमाध्यमले म्यांगखुटलाई ‘आँधीहरूको राजा’ को संज्ञा दिएका छन् । आँधीका कारण मकाउका सडकहरूमा पानी जमेको छ भने सबैजसो क्यासिनो बन्द भएपछि पर्यटकहरू प्रभावित भएका छन् । उद्धारका लागि विभिन्न स्थानमा चिनियाँ सेना खटाइएको छ । शनिबारदेखि सक्रिय आँधीका कारण फिलिपिन्समा हालसम्म ५९ जनाको ज्यान गइसकेको छ । दर्जनौं घाइते छन् । अधिकारीका अनुसार मृत्यु हुनेमध्ये २ शिशु छन् ।

यद्यपि, ग्रामीण भेगमा आँधीका कारण भएको क्षतिबारे भने पूर्ण विवरण नआइसकेको फिलिपिनो अधिकारीले जनाएका छन् । पहाडी क्षेत्रमा गएको पहिरोमा १३ जना हाराइरहेका छन् ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटेले आँधीले अपेक्षा गरिएको जति क्षति नपुर्‍याएको जनाए । प्रभावित क्षेत्रको अवलोकनमा निस्केका डुर्टेटोले भने, ‘आँधी निकै नै शक्तिशाली भए पनि पहिले नै चेतावनीमूलक सूचना जारी गरिएकाले क्षति कमै भयो ।’

प्रकाशित : आश्विन १, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?