१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

‘दोस्रो जनमतसंग्रह गरौं’

ब्रेक्जिट मुद्दा
नवीन पोखरेल

काठमाडौँ — बेलायतको युरोपियन युनियन (ईयू) बाट बहिगर्मन प्रक्रियाबारे अन्योल बढिरहेका बेला दोस्रो जनमत संग्रहको माग बढेको छ । पछिल्लो समय लन्डनका मेयर सदिक खानले बेलायतले ईयू छाड्नेबारे दोस्रो पटक जनमतसंग्रह गराउन माग गरेका छन् ।

‘दोस्रो जनमतसंग्रह गरौं’

लन्डनबाटै प्रकाशित हुने ‘द अब्जर्भर’ समाचारपत्रमा एक लेख लेख्दै मुख्य विपक्षी दल लेबर पार्टीका उदीयमान नेता तथा भूतपूर्व सांसद खानले युरोपेली संघबाट बाहिरिनेबारे प्रधानमन्त्री टेरेजा मेको सरकारले ईयूसँग गरिरहेको वार्ताको कडा आलोचना गरे ।

उनले बेलायत बिनाकुनै सम्झौता वा खराब सम्झौताको भरमा आउँदो ६ महिनामा ईयूबाट बाहिरिने स्थिति आएको दाबी गरे । आउँदो मार्च २९, २०१९ शुक्रबारका दिन कुनै सम्झौता भए पनि वा नभए पनि ब्रिटेन ईयूबाट बाहिरिनेछ ।

लेबर पार्टीले दोस्रो जनमत संग्रह गराउने माग गरिसकेको छैन, तर लन्डन मेयर खानको मागले लेबर पार्टीका नेता जेरेमी कोर्बिनमाथि दबाब बढ्ने ठानिएको छ । लिभरपुलमा लेबरको वार्षिक सम्मेलन आउनु एक साताअघि खानको टिप्पणी आएको हो । उक्त सम्मेलनमा ब्रेक्जिट विरोधी एक सयभन्दा बढी प्रस्ताव पेस गर्ने तयारी गरिएको छ जुन लेबरको पार्टी इतिहासमा कुनै एक मुद्दाविरुद्ध आउने धेरै प्रस्ताव हुन् ।

२३ जुन २०१६ मा भएको जनमत संग्रहमा बेलायत ईयूबाट अलग्गिने पक्षमा ५२ प्रतिशत जनताले मतदान गरेका थिए । छाड्ने पक्षको जित भएपछि ब्रेक्जिटको विपक्षमा वकालत गर्दै आएका तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले तत्काल पदबाट राजीनामा दिएका थिए । ईयू आप्रवासीको बढदो आगमनसँगै ईयू विरोधीले बेलायत छुट्टिनुपर्ने पक्षमा वकालत गर्दै आएका थिए ।

बेलायतका ट्रेड युनियनले पनि ब्रेक्जिटबारे अन्तिम मत राख्न दिइनुपर्ने धारणा राखेका छन् । १५० औं ट्रेड युनियन कंग्रेसमा यसबारे धारणा पारित गरिएको हो ।

हालैका दिनमा बेलायत सरकार बिनाकुनै सहमति ईयूबाट बहिर्गमन हुने तयारी गरिरहेको समाचार प्रकाशमा आएका छन् । बेलायतको प्रमुख प्रतिपक्षी दल र बहुमत व्यवसायीले बिनासम्झौता बेलायत बाहिरिए ठूलो आर्थिक तथा सामाजिक समस्या बेहोर्नुपर्ने चेतावनी दिइरहेका छन् ।

आयात र निर्यात गरी करिब ५० प्रतिशत बेलायतको व्यापार ईयूसँग रहेकाले बिनासम्झौता बेलायत बाहिर निस्के आर्थिक रूपले बेलायतले ठूलो मूल्य चुकाउनुपर्ने विश्लेषकहरूले बताउँदै आएका छन् ।

प्रकाशित : आश्विन १, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?