१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जापानको पहिलो सैन्य अभ्यास

साउथ–चाइना समुद्र
एजेन्सी

टोकियो — जापानले साउथ चाइना सीस्थित विवादित जलक्षेत्रमा पहिलो पटक सोमबार सैन्यअभ्यास गरेको छ । जापानी जलसेनाको प्रतिरक्षा बलले एक पनडुब्बी र ३ सैनिक पानीजहाजको प्रयोग गरी शृखलाबद्ध अभ्यास गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानको पहिलो सैन्य अभ्यास

चीनले आफ्नो भएको दाबी गर्दै आएको उक्त क्षेत्रमा त्यस्तो अभ्यास गरिएको हो ।

पनडुब्बी अभ्यासबारे जापानको घोषणाबारे चीनले भने कुनै प्रतिक्रिया जनाएको छैन । कतिपय विश्लेषकहरूले भने उक्त कदमलाई चीन र अमेरिकाबीच जारी व्यापार द्वन्द्वसँग पनि जोडेर हेरेका छन् । जापान अमेरिकाको निकै नजिकको मित्रशक्ति राष्ट्र हो ।

अन्तर्राष्ट्रिय व्यापार मार्गमा पर्ने साउथ चाइना समुद्रमा विश्वकै पानीजहाज आवतजावत गर्छन् । गतवर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउथ चाइना समुद्रका कतिपय क्षेत्रको दाबी गर्दर्ै आएका देशबीच वार्ताका लागि मध्यस्थता प्रस्ताव गरेका थिए । उनले भियतनाम भ्रमणका क्रममा उक्त प्रस्ताव राखे पनि त्यसको भने कुनै प्रतिक्रिया पाएनन् ।

अमेरिकाले सीमासम्बन्धी विवादमा कसैको पक्ष नलिने बताउने गरे पनि स्वतन्त्रतापूर्वक हवाई र जलमार्ग सुचारु होस् भनेर सैनिक पानीजहाज र युद्धपोतहरू उक्त क्षेत्रमा पठाउने गरेको छ ।चीन तथा अमेरिका दुवैले विवादित क्षेत्रलाई सैनिकीकरण गरेको संलग्न पक्षले आरोप लगाउने गरेका छन् ।

विवाद किन ?

मानव बसोबास शून्यप्राय: रहेका दुई टापुको स्वामित्वबारे चीन, फिलिपिन्स, ताइवान, भियतनाम र मलेसियाबीच लामो समयदेखि विवाद छ ।समुद्रको कपितय स्थानमा ब्रुनाईले समेत दाबी गर्दै आएको छ । चीनले सयौं वर्षदेखि आफूले प्रयोग गर्दै आएको दाबी गर्दै साउथ चाइना समुद्रमा पर्ने टापुमाथि दाबी गर्छ ।

सन् १९४७ मा चीनले आफ्नो दाबी स्पष्ट देखिने गरी उक्त क्षेत्रको एक नक्सा सार्वजनिक गरेको थियो । त्यसयता चीनले विभिन्न क्षेत्रमा कृत्रिम टापुहरू बनाउने गरेको छ । समुद्रमा माछाका साथै खनिज तेल र ग्यास स्रोत रहेको विश्वास गरिन्छ ।चीनले आफ्नो प्रभाव देखाउन पटक–पटक उक्त क्षेत्रमा सैनिक अभ्यास, गस्ती गर्दै आएको छ ।

प्रकाशित : आश्विन २, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?