कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

ब्रेक्जिटबारे अझै अन्योल

बीबीसी

लन्डन — बेलायती प्रधानमन्त्री टेरेजा मेले बेलायती सांसदसँग ब्रेक्जिटबारे आफ्नो प्रस्ताव मान्नु वा सम्झौताबिना नै युरोपेली संघ छाड्नेमध्ये एक रोज्नुपर्ने बताएकी छन् ।

ब्रेक्जिटबारे अझै अन्योल

उनले ब्रेक्जिट पक्षधरको उत्तरी आयरल्यान्ड सीमा समस्या समाधानको योजनाबारे समेत असहमति जनाएकी छन् । बेलायती विदेशमन्त्री बोरिस जोन्सनले उक्त योजना ‘संविधानप्रतिको घृणा’ भएको भन्दै आलोचना गरेका छन् ।

ब्रेक्जिट पक्षधर जाकोब रिज–मगले प्रधानमन्त्री मेले ब्रेक्जिटबारे अझ राम्रो सम्झौताका लागि ‘थप केही कसरत’ गर्नुपर्ने सुझाव दिएका छन् । बेलायत आउँदो सन् २०१९ को मार्च २९ देखि ईयूबाट बाहिरिँदै छ । त्यसका लागि दुवै पक्षबीच छलफल चलिरहेको भए पनि हालसम्म सहमति भने भएको छैन ।

बीबीसीसँग कुराकानी गर्दै मेले भनिन्, ‘यदि संसद्ले ब्रेक्जिट योजना पारित नगरे मलाई लाग्छ नो–डिल एक्जिट (सम्झौताबिनाकै बहिर्गमन) अर्को छनोट हुन सक्छ ।’

बेलायत सरकारले यसअघि नै ब्रेक्जिटपछि नीतिबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको भए पनि युरोपेली संघ (ईयू) सँग भने सहमति हुन सकेको छैन ।

प्रधानमन्त्री टेरेजा मेले उक्त नीति व्यावहारिक भएको दाबी गरे पनि बेलायती व्यवसायीहरूले नकारात्मक टिप्पणी गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी लेबर पार्टीका प्रवक्ताले सोमबार ‘कुनै उपलब्धि हुने निश्चित नभएसम्म’ सम्झौता गर्न नहुने पक्षमा प्रतिक्रिया दिएका थिए ।

ब्रेक्जिट सम्झौताबारे छलफल गर्न मेले बुधबार र विहीबार अष्ट्रियाको साल्जबर्गमा युरोपेली संघका नेताहरूसँग छलफल गर्दैछन् । दुवै पक्षले उक्त वार्तामा कुनै खास उपलब्धि हुने अपेक्षा गरेको एएफपीले उल्लेख गरेको छ ।

तर बेलायतभित्र पनि हालैका दिनमा ब्रेक्जिटबारे सम्झौता हुन नसकेको भन्दै दोस्रो पटक जनमतसंग्रह गर्नुपर्ने आवाज उठ्न थालेको छ । आइतबार लन्डनका मेयर सदिक खानले ब्रेक्जिट प्रक्रियाबारे अन्योल बढिरहेको भन्दै दोस्रो पटक जनमतसंग्रह गर्नुपर्ने माग गरेका थिए । यद्यपि, लेबर पार्टीले भने पुन: जनमतसंग्रह गराउने पक्षमा धारणा भने सार्वजनिक गरिसकेको छैन ।

लन्डन मेयर खानको मागले लेबर पार्टीका नेता जेरेमी कोर्बिनमाथि दबाब बढ्ने ठानिएको छ । बेलायतको युरोपेली युनियनबाट बर्हिगमका लागि २०१६ को जुन २३ मा जनमत संग्रह भएको थियो ।

उक्त चुनावमा बेलायत ईयूबाट अलग्गिने पक्षमा ५२ प्रतिशत मत परेको थियो । जनमत संग्रहको नतिजासँगै ब्रेक्जिटको विपक्षमा रहेका तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएका थिए ।

हालैका दिनमा बेलायत सरकार बिनाकुनै सहमति ईयूबाट बहिर्गमन हुने तयारी गरिरहेको समाचार प्रकाशमा आएपछि प्रधानमन्त्री मेको कडा आलोचना हँुदै आउको छ ।

‘सम्झौता नभए अर्थतन्त्रमा असर’

लन्डन (एएफपी)– अन्तर्राष्ट्रिय मुद्रा कोषले बेलायत युरोपेली संघ (ईयू) बाट बिनासहमति बाहिरिए बेलायती अर्थतन्त्रमाथि गम्भीर असर पर्ने चेतावनी दिएको छ ।

कोषले विश्व व्यापार संगठनको सर्तअनुसार सम्झौता गर्न बेलायत चुके ‘एकदमै खराब नतिजा आउने’ जनाएको छ । कोषले ब्रेक्जिट सम्झौता नभए बेलायतको आर्थिक वृद्धिदर १.५ को हाराहारीमा रहेको प्रक्षेपण गरेको छ । उनले त्यसपछि बेलायतलाई आफ्नो अर्थतन्त्र सुधार्न कम्तमिा १० वर्ष लाग्ने पनि चेतावनी दिइन् ।

‘म निकै आशावादी छु । म प्रार्थना गर्छु बेलायत र युरोपेली संघबीच ब्रेक्जिटबारे सहमति होस्,’ लन्डनमा आयोजित पत्रकार सम्मेलनमा मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टिन लगार्डेले भनिन् । ब्रेक्जिटबारे केही सकारात्मक पक्ष देख्नुहुन्छ भन्ने प्रश्नमा लगार्डेले भनिन्, ‘खासै छैन ।’

प्रकाशित : आश्विन २, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?