कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुन प्योङयाङमा

दुई कोरिया शिखर वार्ता
रोयटर्स, एएफपी

सोल — कोरियाली द्वीपलाई परमाणु अस्त्रविहीन बनाउने विषयको सम्झौता टुंगोमा पुर्‍याउने दुई कोरियाली नेताबीच उत्तर प्योङयाङमा भेटवार्ता भएको छ । दुई नेताबीच कोरियाली वकर्स पार्टीको मुख्यालयमा दुई घण्टा लामो भेटवार्ता भएको हो ।

मुन प्योङयाङमा

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनका अनुसार उत्तर कोरिया र अमेरिकाबीच अवरुद्ध परमाणु अस्त्र नि:शस्त्रीकरणका विषयमा छलफल सुरु भएको छ । मुनलाई पाएख्वावोन स्टेट गेस्ट हाउसमा स्वागत गर्दै किमले आफूले ‘निकै तीव्र गतिमा ठूलो उपलब्धि हासिल गर्न चाहेको’ बताए ।

मुन तीनदिने भ्रमणका लागि श्रीमती किम जुङ–सुकसहित मंगलबार प्योङयाङ पुगेका थिए । उनीहरूलाई उत्तर कोरियाली नेता किम र उनकी श्रीमती री सोल–जुले स्वागत गरेका थिए ।

दक्षिण कोरियाली नेताले गत एक दशकमा पहिलो पटक प्योङयाङको भ्रमण गरेका हुन् । दुई नेताबीच गत अप्रिलमा कोरियाली सीमा क्षेत्रमा पर्ने पन्मुन्जोममा पहिलो भेटवार्ता भएको थियो । यसअघि सन् २००० मा किम दाए–जङ र २००७ मा रोह मु–हयुनले उत्तर कोरियाको भ्रमण गरेका थिए ।

‘महामहिम राष्ट्रपति तपार्इंले विश्वकै भ्रमण गरिसक्नुभएको छ । तर हाम्रो देश विश्वका विकसित देशभन्दा निकै नम्र छ,’ किमले भने, ‘म आजको दिनको तीव्र प्रतीक्षामा थिएँ । हाम्रो आतिथ्यतामा कमी हुन सक्छ तर हामीले हृदयदेखि गरेका हौं ।’ गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच सिंगापुरमा ऐतिहासिक शिखर वार्ता गराउन महत्त्वपूर्ण भूमिका खेलेका मुनले प्योङयाङमा दुई चरणको वार्ता गर्ने बताइएको छ । वासिङ्टनले उत्तर कोरियाले पूर्ण रूपमा परमाणु नि:शस्त्रीकरण गर्नुपर्ने बताउँदै आएको छ । उत्तर कोरियाले चाहिँ त्योभन्दा पहिले सन् १९५० को दशकमा चर्किएको कोरियाली युद्ध सकिएको औपचारिक घोषणा हुनुपर्ने अडान राखिरहेको छ । वार्ता सुरु गर्नुअघि दुवै नेताहरू प्योङयाङका सडकमा खुला कारमा घुमेका थिए । त्यस क्रममा उत्तर कोरियाली नागरिकहरूले पुष्पगुच्छासहित ‘मातृभूमि एकीकरण’ गर्नुपर्ने बताएका थिए ।

मुनको टोलीमा सामसुङ, एलजी, हुन्डाई तथा ऊर्जा कम्पनी एसकेका प्रतिनिधिलगायत दक्षिण कोरियाली व्यापारी सहभागी छन् । सन् १९५३ मा दुई कोरियाबीच हतियार बिसाउने सहमति भए पनि औपचारिक रूपमा शान्ति सन्धि भएको छैन । दुई नेताबीच परमाणु नि:शस्त्रीकरणका व्यावहारिक पक्ष र उपायबारे छलफल हुने बताइए पनि स्पष्ट जानकारी भने दिइएको छैन ।

प्रकाशित : आश्विन ३, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?