कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अमेरिकाले उत्तर कोरियासँग पुन: वार्ता गर्ने

रोयटर्स, एएफपी

वासिङ्टन — अमेरिकाले कोरियाली द्वीपमा परमाणु नि:शस्त्रीकरणका लागि पुन: उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाएको छ ।

अमेरिकाले उत्तर कोरियासँग पुन: वार्ता गर्ने

विदेशमन्त्री माइक पोम्पियोले ‘उत्तर कोरियालाई सन् २०२१ भित्र पूर्णरूपमा परमाणु अस्त्रविहीन बनाउन पुन: वार्ता गर्न तयार रहेको’ बिहीबार बताएका हुन् ।

अमेरिका र उत्तर कोरियाबीच गत जुन १२ मा सिंगापुरमा शिखर बैठक भएको थियो । उक्त वार्ताका क्रममा दुई पक्षबीच परमाणु नि:शस्त्रीकरण लगायत विषयमा सहमति भएको थियो । यद्यपि, उक्त कार्यका लागि ठोस कदम भने चालिएको छैन ।

तर यसै साता भएको दुई कोरियाली शिखर बैठकपछि परमाणु नि:शस्त्रीकरणको मुद्दामा थप कदम चालिने संकेत देखिएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनसँग उत्तर कोरियाली नेता किम जोङ–उनले आफ्नो देशको मुख्य क्षेप्यास्त्र प्रक्षेपण केन्द्र बन्द गर्न सहमत भएका थिए ।

शिखर बैठकका लागि पहिलो पटक प्योङयाङ पुगेका मुनले दसौं हजार उत्तर कोरियालीको माझमा अभूतपूर्व भाषण गरेका थिए । उक्त अवसरमा मुनले भनेका थिए, ‘परमाणु नि:शस्त्रीकरणका लागि नेता किम सहमत छन् ।’ अमेरिकी विदेशमन्त्री पोम्पियोले ‘किमको महत्त्वपूर्ण प्रतिबद्धताका कारण’ अमेरिका उत्तर कोरियासँग वार्ता सुचारु गर्न तयार छ ।

एक विज्ञप्ति जारी गर्दै पोम्पियोले ‘उत्तर कोरियाली विदेशमन्त्री री योङ–होलाई आगामी साता भेटवार्ताका लागि अमेरिका भ्रमणको निम्तो दिएको’ जनाएका छन् । उनीहरूबीच न्युयोर्क वार्ता हुनेछ । पोम्पियोका अनुसार अमेरिका र उत्तर कोरियाका प्रतिनिधिबीच दोस्रो चरणको वार्ता अस्ट्रियाको राजधानी भियानामा हुनेछ ।

‘उत्तर कोरियाली नेता किमको प्रतिबद्धताअनुसार २०२१ भित्र उत्तर कोरियालाई पूर्णरूपमा परमाणु अस्त्रविहीन बनाई दिगो शान्ति स्थापनाका लागि आगामी साता हुने वार्ता सुरुवात हो,’ पोम्पियोले भने । उनका अनुसार २०२१ को जनवरी महिनाभित्र कोरियाली द्वीप परमाणु हतियाररहित हुनेछ ।

यसअघि मुनसँगको वार्तामा किमले आफू योङबायन परमाणु केन्द्र बन्द गर्न तयार रहेको बताएका थिए । उक्त केन्द्रमा उत्तर कोरियाले अमेरिकाविरुद्ध आक्रमणको धम्की दिएका परमाणु परीक्षण गरेको ठानिएको छ । त्यसैगरी, किमले तोङचाङ–री केन्द्रमा भएका क्षेप्यास्त्र परीक्षण यन्त्र र अन्य सामग्री विज्ञहरूको उपस्थितिमा सधैंका लागि बन्द गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । उक्त कार्य मुख्य हुने बीबीसीले उल्लेख गरेको छ ।

भूउपग्रह तस्बिरहरूमा तोङचाङ–री ध्वस्त गर्ने तयारी गरिएको देखिएको छ । यद्यपि, विज्ञहरूको अवलोकनपछि मात्र उक्त कार्यको यकिन गर्न सकिनेछ । यसअघि दक्षिण कोरियाली नेताले एक दशकपछि गरेको प्योङयाङ भ्रमणका क्रममा किमले ‘आफू परमाणु अस्त्र नष्ट गर्न निकै इमानदार रहेको बताउँदै शंका नगर्न’ आग्रह गरेका थिए ।

प्रकाशित : आश्विन ५, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?