१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

स्वराज र कुरेसी न्युयोर्कमा भेट्दै

सार्कबारे भारतको अडान पुरानै
सुरेशराज न्यौपाने

काठमाडौँ — अमेरिकाको न्युयोर्कमा आगामी साता हुने राष्ट्रसंघको ७३ औं महासभा बैठकका अवसरमा भारत र पाकिस्तानबीच वार्ता हुने भएको छ ।

स्वराज र कुरेसी न्युयोर्कमा भेट्दै

असोज ११ मा हुने महासभा बैठकमा भाग लिन गएका बेला भारतीय विदेशमन्त्री सुषमा स्वराज र पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीबीच भेट हुने तय भएको भारतीय विदेश मन्त्रालयले पुष्टि गरेको छ ।

भारतीय विदेशमन्त्रालयद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रबिश कुमारले दुई देशका विदेशमन्त्रीबीच महासभाका बेला ‘साइड लाइन’ भेट हुन लागेको बताए । तर, उनले यो भेटलाई दुई मुलुकबीच औपचारिक संवाद सुरु भएको रूपमा भने लिन नहुने जनाए । ‘बैठक गर्ने विषयमा मात्र सहमति भएको हो, तर भेटमा छलफल हुने एजेन्डा भने अहिलेसम्म तय भएको छैन, हामीले भेटका लागि सहमति मात्र जनाएका हौं,’ प्रवक्ता कुमारले भने । भेटको समय र मिति पनि निश्चित भएको छैन । ‘ती सबै विषय तय गर्न दुवै मुलुकका स्थायी प्रतिनिधिहरूले गृहकार्य गर्नेछन्,’ कुमारले भने ।

गत मंगलबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्र लेख्दै न्युयोर्कमा दुई मुलुकका विदेशमन्त्रीको बैठकका लागि प्रस्ताव गरेका थिए । यसअघि १८ अगस्टमा खान पाकिस्तानको प्रधानमन्त्री निर्वाचित हुनासाथ मोदीले पत्रमार्फत बधाई दिँदै दुई देशबीच रचनात्मक र अर्थपूर्ण संवाद आवश्यकता औंल्याएका थिए ।

त्यही पत्रको जवाफस्वरूप पाकिस्तानी विदेशमन्त्रीमार्फत प्रधानमन्त्री खानले मोदीलाई लेखेको पत्रमा न्युयोर्कमा विदेशमन्त्री स्तरीय भेटको प्रस्ताव गरिएको थियो । खानको उक्त प्रस्तावको जवाफमा भारतले भेटका लागि सहमति जनाएको प्रवक्ता कुमारले बताए ।

तर, दुई विदेशमन्त्रीले भेट्ने निश्चित भए पनि भारतले सार्क सम्मेलनका सम्बन्धमा आफ्नो पुरानै अडान कायम रहेको जनाएको छ । महासभाकाका बेला तय भएको सार्क विदेशमन्त्रीहरूको बैठकमा भने भारतले भाग भने लिनेछ । ‘विदेश मन्त्रीस्तरीय बैठकमा भाग लिए पनि सार्क सम्मेलनका लागि अनुकूल वातावरण छैन भन्ने भारतको अडान यथावत् छ । किनकि सीमापार आतकंवादका मुद्दा अहिले विद्यमान छन्,’ प्रवक्ता कुमारले भने ।

आतंकवादको छायामा सार्क सम्मेलन हुन सक्दैन भन्ने कुरामा भारत मात्र होइन, अन्य सदस्य राष्ट्रहरू पनि सहमत रहेको उनले दाबी गरे । प्रधानमन्त्री खानले मोदीलाई पठाएको पत्रमा पाकिस्तानमा सार्क सम्मेलन चाँडै गर्न तयार रहेको बताएका थिए । उनले त्यही अवसरमा भारतीय प्रधानमन्त्री मोदी पाकिस्तान भ्रमणमा आउन सक्ने जनाएका थिए । राष्ट्रसंघको महासभाकै अवसरमा सार्क विदेशमन्त्री स्तरीय बैठक हुँदै आएको छ । न्यूयोर्कमा हुने उक्त बैठकको अध्यक्षता नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गर्नेछन् ।

प्रकाशित : आश्विन ५, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?