२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पैसा उठाउन विदेश यात्रामा प्रतिबन्द्ध

नारायण खड्का

अष्ट्रेलिया — अस्ट्रेलिया सरकारले सरकारी कोषबाट प्राप्त हुने कल्याणकारी कोषको सहयोग रकम लिएर नतिरेका आफ्ना नागरिकहरुलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

पैसा उठाउन विदेश यात्रामा प्रतिबन्द्ध

अस्ट्रेलियाको केन्द्रीय सरकारले सरकारको कल्याणकारी कोषबाट विभिन्न माध्यमबाट धोका गरेर सुविधा लिने तर नतिर्नेहरुबाट रकम असुल्ने उपाय स्वरुप यो निर्णय लिएको हो । मानव संशाधन मन्त्री माइकल किननले यदी कसैले गलत किसिमले सरकारी कल्याणकारी कोषको रकम लिएको छ र त्यसलाई तिरेको छैन भने उसलाई विदेश यात्रामा रोकिने जनाएका हुन् ।


यसले सो व्यक्तिले सरकारबाट गलत किसिमले लिएको रकम फिर्ता गर्न बाध्य हुने विश्वास लिइएको छ । विदेशको भ्रमणमा जान सक्ने नागरिकहरुले सरकारबाट लिएको रकम पनि तिर्न सक्छन् भन्ने मान्यताका साथ यो निर्णय लिएको बताइएको छ ।


अस्ट्रेलिया विश्वमै कल्याणकारी कोष अन्तरगत आफ्ना नागरिकहरुलाई सहायता वितरण गर्ने देशहरुको अग्रपंक्तिमा आउँछ । अस्ट्रेलियाले गत आर्थिक वर्षमा मात्र १ सय ५८ अर्ब डलर सामाजिक सुरक्षा र कल्याणकारी शिर्षकमा खर्च गरेको सरकारी तथ्यांक छ । जुन सरकारले गरेको एक वर्षको खर्चको ३५ प्रतिशत हो ।


अहिलेसम्म यहाँको सरकारले पारिवारिक ट्याक्स सुविधा, अभिभावकहरुलाई सशुल्क बिदा, यहाँका नर्सिङहोमहरुलाई सहयोग, अशक्त तथा अपांगहरुलाई सहयोग, बालगृहरुलाई सहयोग, पेन्सन लगायतका विभिन्न विषयहरुमा सहयोग प्रदान गर्ने गरेको छ । सरकारद्वारा प्रदान गरिएको ती सुविधाहरु केही व्यक्तिहरुले गलत कागजपत्र बनाएर वा विभिन्न माध्यमबाट लिने क्रममा वृद्धि भएपछि पनि सरकारले यो निर्णय लिएको हो ।


मानव संशाधनमन्त्री किननका अनुसार अहिले अस्ट्रेलिया १ लाख ५० हजार व्यक्तिहरुबाट करिब ८ सय मिलियन डलर (करिब ७० अर्ब रुपैयाँ) उठ्न बाँकी रहेको छ । यहाँ सरकारबाट सुविधा पाउन योग्य नभएपनि विभिन्न माध्यम अपनाएर सुविधा लिएकाहरुलाई कडा कानुनी कारबाही गर्नेभन्दा पनि उनीहरुबाट सो रकम उठाउने नीति लिईदै आएको छ ।


त्यतिमात्र नभएर सरकारले आफूबाट लिएको रकम एकैपटक तिर्न नसके किस्ताबन्दीमाा तिर्ने सुविधाहरु समेत दिने गरेको छ । तर ती सबै सुविधाहरुलाई वेवास्ता गरिएकाले यो उपाय अपनाउनुपरेको मन्त्री किननले बताएका छन् ।


अस्ट्रेलिया सरकारले सेन्ट्रल लिंक नामक सरकारी निकायबाट योग्यता अनुसार सरकारी सहयोग उपलब्ध गराउदै आएको छ । सञ्चारमाध्यमहरुका अनुसार अहिलेसम्म २० जनालाई यस्तै किसिमको भ्रमणमा प्रतिबन्ध लगाइसकिएको छ ।

प्रकाशित : आश्विन ६, २०७५ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?