ब्रिटिस राजपरिवार सदस्य नेपाल भ्रमणमा आउने

नवीन पोखरेल

काठमाडौँ — ब्रिटिस राजपरिवारका एक सदस्यले छिट्टै नेपाल भ्रमणको इच्छा व्यक्त गरेका छन् । प्रिन्स माइकल अफ केन्टले एसियाली बालबालिकाको हितका लागि काम गर्ने एक कल्याणकारी संस्था केयर फर चिल्ड्रेनको प्रमुख संरक्षकको हैसियतमा आफूले छिट्टै नेपालको भ्रमण गर्ने जानकारी गराएका हुन् ।

ब्रिटिस राजपरिवार सदस्य नेपाल भ्रमणमा आउने

लन्डनस्थित नेपाली दूतावासमा बिहीबार संविधान दिवस मनाउन आयोजित समारोहका प्रमुख अतिथि प्रिन्स माइकल अफ केन्टले दुई शताब्दी पुरानो नेपाल–ब्रिटेन सम्बन्ध राजनीतिक, सैनिक, शिक्षा, संस्कृतिलगायत बहुआयामिक रहेको बताए । उनले सर राल्फ टर्नरले गोर्खा सैनिकहरू संसारमै सबभन्दा साहसी तथा बेलायतका सबभन्दा विश्वासी मित्र भनेको स्मरण पनि गरेका थिए ।

कार्यक्रममा प्रिन्स माइकलले नेपालसम्बन्धी चित्रकला प्रदर्शनीको पनि उद्घाटन गरे । राजदूत दुर्गाबहादुर सुवेदीले खुकुरी र नेपालको चित्र उपहारका रूपमा दिँदा प्रिन्स प्रशन्न भएका थिए । सुवेदीले गोर्खा सैनिक सम्बन्धले नेपाल तथा बेलायतबीचको सम्बन्ध अरू सृदृढ बनाएको बताए । उनले भूगोलले टाढा भए पनि गौरवपूर्ण सभ्यता भएका दुवै देशबीच थुप्रै समानता रहेको बताए ।

विभिन्न देशका राजदूत, फिल्ड मार्सल, लर्ड शेख, ब्रिटिस सांसदहरू, मेयर, काउन्सिलर, बेलायती विदेश मन्त्रालयका निर्देशक, प्राध्यापकलगायत बेलायती, नेपाली तथा अन्य देशका गरी करिब ५ सय सहभागी उक्त समारोहमा नेपाली मौलिकता झल्कने विविध नाच प्रस्तुत गरिएको थियो । गोर्खा ब्रिगेड ब्यान्डका सदस्यहरूले खुकुरी नाच प्रस्तुत गरे ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?