१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतमा विश्वकै ठूलो स्वास्थ्य योजना

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने सम्बन्धमा बहस चलिरहेका बेला भारतमा भने आजदेखि विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बिमा योजना लागू गरिएको छ । आइतबार औपचारिक रूपमा सुरु गरिएको आयुष्मान भारत (प्रधानमन्त्री जनआरोग्य योजना) बाट १० करोडभन्दा बढी परिवार लाभान्वित हुनेछन् ।

भारतमा विश्वकै ठूलो स्वास्थ्य योजना

करिब १० करोड परिवारलाई लक्षित स्वास्थ्य बिमासम्बन्धी ‘आयुष्मान भारत योजना’ को आइतबार झारखण्डमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक रूपमा उद्घाटन गरेका छन् । राजनीतिक विश्लेषकहरूले यो कार्यक्रमलाई आगामी वर्ष हुने लोकसभा चुनाव लक्षित ठानिएको छ । कार्यक्रमको औपचारिक शुभारम्भ मोदीले यसलाई गरिबहरूको जीवनस्तर सुधार्न योजनाले ‘गेम चेन्जर’ भएको दाबी गर्नुलाई पनि कार्यक्रम चुनाव लक्षित रहेको संकेत गर्छ ।

जनस्वास्थ्यसम्बन्धी विश्वकै सबैभन्दा बृहत् मानिएको यो कार्यक्रम पहिलो चरणमा १ हजार २ सय ८० अस्पतालमा परीक्षणका रूपमा लागू गरिएको छ । औपचारिक रूपमा भने २५ सेप्टेम्बरदेखि लागू हुने बताइएको छ । पहिलो चरणमा विभिन्न २९ राज्यका ४४५ जिल्लामा योजना लागू हुनेछ । दिल्ली, उडिसा र पश्चिम बंगाललगायत, पञ्जाब, केरला र तेलंगना राज्यले भने कार्यक्रम लागू गर्नका लागि अहिलेसम्म समझदारी गरेका छैनन् ।

भारतको स्वास्थ्य मन्त्रालयले गरेको एक सर्वेक्षणले करिब ८६ प्रतिशत ग्रामीण र ८२ प्रतिशत परिवार अत्यावश्यक स्वास्थ्य सेवा र बिमाबाट वञ्चित रहेको देखाएको छ । त्यसैगरी सन् २०११ को सामाजिक, आर्थिक र जातिगत जनगणनाअन्तर्गत पहिचान गरेका गरिब जनसंख्या यो योजनाबाट लाभान्वित हुनेछन् । आफू योजना पाउन योग्य छ कि छैन भन्नका लागि कार्यक्रमको सञ्चालक नेसनल हेल्थ एजेन्सीको वेबसाइटमा रहेको लाभग्राहीहरूको सूची हेर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
कार्यक्रमले स्वास्थ्य सेवाबाट वञ्चित तिनै १०.७४ करोड परिवारका ५० करोड भारतीयलाई समेट्नेछ । जसले वार्षिक ५ लाखसम्मको नि:शुल्क स्वास्थ्य सेवा पाउनेछन् ।

जसमध्ये ८ करोड गाउँका परिवार छन् भने २ करोड ७४ लाख सहरी हुनेछन् । देशभरका १० हजार सरकारी तथा निजी अस्पतालमा लागू गरिने यो योजनाअन्तर्गत गरिबहरूका लागि २ लाख ६५ लाख बेड नि:शुल्क उपलब्ध हुनेछ । योजनाअन्तर्गत विभिन्न १ हजार ३५४ वटा हेल्थ प्याकेज रहेका छन् ।

जसमा क्यान्सर रोगीहरूका लागि केमोथेरापी, रेडियोथेरापी, मुटुको बाइपास सर्जरी, स्नायु, ढाड, आँखा, दाँतको शल्यक्रियादेखि एमआरआई र सिटीस्क्यानसम्म छन् । योजनामा परिवारको सदस्य संख्या र उमेरको सीमा तोकिएको छैन ।

कार्यक्रममा हुने खर्च केन्द्र र राज्य सरकार दुवैले बेहोर्ने छन् । केन्द्रले ६० प्रतिशत र राज्य सरकारले ४० प्रतिशत बेहोर्ने भनिएको छ । कार्यक्रम पूर्ण रूपमा लागू भएको खण्डमा वार्षिक करिब ३५ अर्ब भारु लाग्ने अनुमान छ । कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि १४ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरू परिचालन गरिएको छ । प्रत्येक स्वास्थ्य संस्थामा आयुष्मान मित्र हेल्प डेस्क पनि स्थापना गरिने जनाइएको छ ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?