रसायन शास्त्रको नोबेल तीन वैज्ञानिकलाई

एएफपी

स्टकहोम — यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई दिइने भएको छ । एन्जाइमबारे गरिएका अनुसन्धानका लागि अमेरिकाका फ्रान्सिस एच आर्नोल्ड र जर्ज पी स्मिथ तथा बेलायतका सर ग्रेगरी पी विन्टरलाई पुरस्कार दिने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ ।

रसायन शास्त्रको नोबेल तीन वैज्ञानिकलाई

जैविक इन्धनदेखि औषधिसम्मका हरेक वस्तुको निर्माणमा प्रयोग हुने प्रोटिनको विकास गर्ने उत्पत्तिको सिद्धान्त प्रतिपादन गरेकामा उनीहरूलाई यो पुरस्कार दिइने भएको हो । उनीहरूले ‘डिरेक्टिड इभ्युलुसन’ नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिन बनाएका थिए ।


यस विधिबाट उत्पादित एन्टिबडी सन् २००२ मै औषधीय प्रयोगका लागि स्वीकृत भएको थियो । बाथ, सराइसिस भनिने चर्मरोग र पेटमा हुने विभिन्न रोगको उपचारमा यसको प्रयोग हुने गरेको छ । ९० लाख स्विडिस क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलर पुरस्कार राशिमध्ये आर्नोल्डले आधा पाउनेछिन् भने स्मिथ र विन्टरले बाँकी रकमको आधाआधा पाउनेछन् ।


शुक्रबार शान्तितर्फ र आगामी सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा गरिनेछ । यस वर्ष साहित्य विधाको नोबल पुरस्कार विजेताको नाम भने घोषणा नगरिने भएको छ । अर्को वर्ष सन् २०१८ र २०१९ का विजेताको घोषणा एकैचोटि गर्ने निर्णय भइसकेको छ ।

प्रकाशित : आश्विन १८, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?