भारतले किन्यो रूसी प्रतिरक्षा प्रणाली

१० अर्ब डलरको सम्झौता
सुरेशराज न्यौपाने

नयाँदिल्ली — अमेरिकाको चेतावनीका बाबजुद भारत र रूसबीच एस–४०० हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणालीसहित विभिन्न महत्त्वपूर्ण सम्झौताहरू भएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका अवसरमा ती सम्झौताहरू भएका हुन् ।

भारतले किन्यो रूसी प्रतिरक्षा प्रणाली

बिहीबार साँझ दिल्ली ओर्लिएका पुटिनको २४ घण्टे भारत बसाइ क्रममा करिब ५ अर्ब डलर मूल्य पर्ने अत्याधुनिक प्रतिरक्षा प्रणालीसहित १० अर्ब डलर बराबरको सम्झौता भएको हो । त्यसमध्ये पनि रूसमा बनेका एस–४०० प्रतिरक्षा प्रणाली खरिद गर्नेसम्बन्धी सम्झौतालाई भने विशेष चासोका साथ हेरिएको छ । यसले ४०० किमि टाढासम्म प्रहार गर्न सक्ने क्षमता राख्छ ।


यसका अतिरिक्त भारत र रूसबीच अन्तरिक्ष योजना, प्रतिआतंकवाद, आणविक कार्यक्रम, जलवायु परिवर्तनका क्षेत्रमा पनि विभिन्न समझदारीहरू भएका छन् । विश्व राजनीतिमा रूस भारतको पुरानो रणनीतिक साझेदारका रूपमा चिनिन्छ । शीतयुद्धकालमा पनि भारत र तत्कालीन सोभियत संघबीच घनिष्ट सम्बन्ध रहेको थियो ।


तर, बदलिँदो विश्व परिस्थितिमा भारतले रूसको पुरानो प्रतिद्वन्द्वी अमेरिकामा पनि सम्बन्ध विस्तार गर्दै लगेको छ । अमेरिकाले पनि चीनको विश्वशक्ति बन्ने लक्ष्यलाई अंकुश लगाउन र एसिया–प्रशान्त क्षेत्रमा सामरिक भूमिका विस्तार गर्न भारतसँग सम्बन्ध सुधारको रणनीति अख्तियार गरेको विदेश मामिलाका जानकारहरूको धारणा छ । सन् २०१४ मा क्रिमियामाथिको रूसी नियन्त्रण र सन् २०१६ को अमेरिकाको राष्ट्रपति चुनावमा रूसले अनावश्यक हस्तक्षेप गरेको भन्ने विवादका कारण पछिल्लो समय अमेरिका र रूसबीच सम्बन्ध चिसिन पुगेको छ ।


गतवर्ष अमेरिकाले रूस, इरान र उत्तर कोरियामाथि आर्थिक र राजनीतिक प्रतिबन्ध लगाउने उद्देश्यले काट्सा कानुन जारी गरेको थियो । उक्त कानुनले कुनै पनि मुलुकलाई यी मुलुकसँग रक्षासम्बन्धी सम्झौता तथा कारोबार गर्न प्रतिबन्ध गरेको छ । तर, अमेरिकी राष्ट्रपतिलाई उनले चाहेको खण्डमा कुनै पनि मुलुकलाई त्यस कानुनबाट छुट दिने अधिकार छ ।


भारतले अमेरिकाको सम्बन्ध बिग्रिन नदिन रूससँगको एस–४०० खरिद सम्झौतालाई काट्सा कानुनबाट बाहिर राख्न विशेष अनुरोध गर्दै आएको थियो । भारतको उक्त अनुरोधप्रति अमेरिका केही सकारात्मक देखिए पनि अन्तिम निर्णय भने भइसकेको थिएन । त्यसैले शुक्रबार भएको एस–४०० खरिद सम्झौताप्रति अमेरिकाले कस्तो प्रतिक्रिया जनाउने हो, त्यसलाई विशेष चासोका साथ हेरिएको छ ।

प्रकाशित : आश्विन २०, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?