कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

विवादित काभानग न्यायाधीशमा नियुक्त

बीबीसी/रोयटर्स

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनीत ब्रेट काभानगले एक साता लामो बहसपछि अनुमोदित भई शपथ लिएका छन् ।

विवादित काभानग न्यायाधीशमा नियुक्त

अमेरिकी सिनेटमा भएको मतदानमा काभानगको पक्षमा ५० र विपक्षमा ४८ मत परेपछि उनी अनुमोदित भएका हुन् । यौन दुव्र्यवहारको आरोप लगाइएपछि काभानग विवादित भएका थिए । उनले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । ५३ वर्षीय क्याभाननगले सर्वोच्च अदालतमा आयोजित एक समारोहबीच आइतबार शपथ लिएका छन् । राष्ट्रपति ट्रम्पले काभानगलाई अनुमोदन गरेको भन्दै सिनेटलाई बधाई दिएका छन् । उनले काभानग ‘डेमोक्रयाटको डरलाग्दो आक्रमणमा जोगिएको’ टिप्पणी गरे ।


उनको मनोनयनबारे निर्णयमा पुग्न नसकेका २ सिनेटरले संघीय अनुसन्धान निकाय (एफबीआई) ले गरेको एक अनुसन्धानपछि समर्थन गर्ने निधो गरेपछि उनी न्यायाधीशमा नियुक्त भएका हुन् । शुक्रबार रिपब्लिकन सिनेटर सुसान कोलिन्स र जो मान्चिनले काभानगको मनोनयनप्रति समर्थन जनाएका हुन् ।

उनको नियुक्तिलाई अमेरिकामा आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघिको महत्त्वपूर्ण राजनीतिक मुद्दामा राष्ट्रपति डोनाल्ड ट्रम्पको जितका रूपमा अथ्र्याइएको छ । केन्टुकी राज्यको प्रतिनिधित्व गर्ने रिपब्लिकन सिनेटर मिच म्याककोनेलले ‘काभानगको नियुक्ति मुद्दामा रिपब्लिकनले जितेको बताउँदै आगामी निर्वाचनमा मत बढेको दाबी गरे । तर डेमोक्रयाट नेता चक सुमरले भने, ‘जनताले परिवर्तन चाहेका छन् र त्यो मतदानका दिन देखिने छ ।’

सिनेटमा मतदानअघि काभानगको मनोनयनको विपक्षमा वासिङ्टन तथा न्युयोर्क सहरमा सयौं मानिसले विरोध प्रदर्शन गरेका थिए । मतदानका क्रममा अर्का प्रदर्शनकारीले चर्को नाराबाजी गरेपछि उपराष्ट्रपति माइक पेन्सले शान्ति, सुरक्षा कायम राख्न निर्देशन दिनुपरेको थियो । यसअघि शनिबार काभानगको नियुक्तिको विरोधमा गरिएको प्रदर्शनका क्रममा १ सय ६४ जनालाई पक्राउ गरिएको थियो ।


नियुक्ति र शपथसँगै उनी जीवनभरिका लागि न्यायाधीश भएका छन् । उनको नियुक्तिले अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादीको नियन्त्रण थप मजबुत भएको छ । अमेरिकी कानुनको अन्तिम व्याख्या गर्ने सर्वोच्चमा ९ न्यायाधीश हुन्छन् ।

प्रकाशित : आश्विन २२, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?