१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

ह्याटस् ट्याग मी टु : तानिँदै भारतीय हस्तीहरू

भारतीय लेखक चेतन भगत र किरण नगारकर, निर्देशक विकास वहल, गायक कैलाश खेर तथा पत्रकार गौतम अधिकारी, केआर श्रीनिवास, मयन्क जैनमाथि यौन दुव्यवहारको आरोप
सुरेशराज न्यौपाने

नयाँदिल्ली — अमेरिकाबाट एक वर्षअघि सुरु भएको महिलामाथि हुने यौनहिंसा र दुव्र्यवहारविरुद्धको सामाजिक सञ्जालको अभियान हयाटस् टयाग मी टु भारतसम्म आइपुगेको छ ।

ह्याटस् ट्याग मी टु : तानिँदै भारतीय हस्तीहरू

र, इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरको उक्त अभियानमार्फत हरेक दिनजसो नयाँनयाँ यौनहिंसा र दुर्व्यवहारका घटना बाहिर ल्याउन आउन थालेपछि यतिखेर भारतको सिने उद्योग बलिउड मात्र होइन, पत्रकारिता र कर्पोरेट जगत्मा समेत खैलाबैला मच्चिएको छ ।


मी टु अभियानले तीव्रता पाएसँगै पीडितहरूले भारतका नामी लेखक, पत्रकार, कलाकार र निर्देशकहरूबाट भएका यौनहिंसाका घटना सार्वजनिक गर्न थालेका छन् । पछिल्लो समय चर्चित लेखकहरू किरण नगारकर र चेतन भगतदेखि गायक कैलाश खेर, निर्देशक विकास बहलमाथि पीडितहरूले त्यस्तो आरोप लगाएका हुन् । भारतीय चर्चित लेखक चेतन भगतमाथि एक महिला पत्रकारले त्यस्तो आरोप लगाएकी छिन् ।


हयाट्स अपमा भएको संवादलाई सार्वजनिक गर्दै उनले भगतले गलत नियत राखेको आरोप लगाएकी छन् । त्यसपछि भगतले फेसबुकमार्फत ती महिलासँग माफीसमेत मागेका छन् । त्यसैगरी अर्का चर्चित भारतीय लेखक किरण नगारकरमाथि पनि थुप्रै महिला पत्रकारले यौन दुव्र्यवहारको आरोप लगाएका छन् । नगारकर भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कारबाट समेत सम्मानित भइसकेका व्यक्ति हुन् ।


यसैगरी मी टु अभियानमार्फत हरेक दिनजसो महिला कलाकारहरूमाथि भएका दुव्र्यवहारका एकपछि अर्को घटना सार्वजनिक हुन थालेपछि बलिउडमा पनि ठूलो कम्पन सिर्जना गरेको छ । महिला सशक्तीकरणको विषयमा आधारित चलचित्र ‘क्विन’ का निर्देशक विकास वहलमाथि पूर्व महिला कर्मचारीले लगाएको यौन दुव्र्यवहारको आरोप पनि त्यसैको एउटा कडी हो ।


‘क्विन’ को निर्माता कम्पनी फयान्टनम फिल्मका संस्थापकमध्येका एक वहलमाथि २०१५ मा गोआको एउटा होटलमा यौन दुव्र्यहारको आरोप लगाएकी छन् । उक्त घटनाबारे निर्देशक तथा कम्पनीका अर्का संस्थापक अनुराग कश्यपलाई बताए पनि कुनै कदम नचालेपछि आफूले कम्पनी छाडेको हफपोस्ट इन्डियाले पीडित महिलालाई उद्धृत गर्दै जनाएको छ ।


निर्देशक कश्यपले घटनाप्रति खेद जनाउँदै त्यति बेला कुनै कदम चाल्न नसकेकोमा माफीसमेत मागेका छन् । घटना सार्वजनिकलगत्तै निर्देशक कश्यपले ट्वीट गर्दै कम्पनी विघटन गरिएको समेत जानकारी गराएका छन् । महिला सशक्तीकरणको विषयमा आधारित चर्चित सिनेमा ‘क्विन’ का निर्देशक वहलले ऋतिक रोशनसमेत रहेको अर्को सिनेमा ‘सुपर ३०’ को निर्देशन गरिरहेका थिए ।


त्यसैगरी फोटोग्राफर नतासा हेमराजिनीले चर्चित गायक कैलाश खेरमाथि पनि सन् २००६ मा एउटा अन्तर्वार्ताका क्रममा यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।


बलिउड मात्र नभई भारतको सञ्चारक्षेत्र पनि अभियानबाट अछुतो छैन । भारतका प्रतिष्ठित सञ्चारगृहमा काम गर्ने महिलाले समेत हयाटस् टयाग मी टुप्रति समर्थन जनाउँदै आफूमाथि भएका यौन दुव्र्यवहारका घटनाबारे एकपछि अर्को गर्दै मुख खोल्न थालेका छन् । डीएनएका पूर्व प्रधानसम्पादक गौतम अधिकारी, टाइम्स अफ इन्डियाका सम्पादक केआर श्रीनिवास, हिन्दुस्तान टाइम्सका राजनीतिक मामिलाका सम्पादक प्रशान्त झा, बिजनेस स्टयान्डर्डका मयंक जैनमाथि महिला पत्रकारहरूले कार्यस्थलमै यौन दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।


महिला सञ्चारकर्मीले आफूमाथि विगतमा भएका त्यस्ता घटना सार्वजनिक गरेपछि सञ्चारगृहहरूले आरोपितमाथि छानबिन प्रक्रिया अगाडि बढाएका छन् । केहीले गल्ती स्वीकार गर्दै आफैं बिदामा बसेका छन् । हिन्दुस्तान टाइम्सका राजनीतिक मामिला सम्पादक झाले राजीनामा दिएका छन् । गत शुक्रवार हिन्दुस्तान टाइम्सकी एक पूर्वमहिला पत्रकारले एक वर्षअघि झाले आपत्तिजनक म्यासेज पठाएको र त्यस कारण आफूलाई काम गर्न असहज भएकाले जागिर छाडेको आरोप लगाएकी थिइन् । उनले झाले पठाएको म्यासेजसमेत सार्वजनिक गरेकी थिइन् ।


करिब दुई साताअघि पूर्वमिस इन्डिया तथा अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकर, निर्देशक विवेक अग्निहोत्री तथा कोरिअग्राफर गणेश आचार्यले आफूमाथि दुव्र्यवहार गरेको सार्वजनिक गरेपछि भारतमा समेत मी टु अभियानले तीव्रता पाएको हो । दत्ताको उक्त भनाइले बलिउडमा ठूलै हल्लीखल्ली सिर्जना गरेको थियो । सिनेकर्मी नै दत्ताको पक्ष र विपक्षमा उभिन पुगेका छन् । अमिताभ बच्चन र सलमान खानजस्ता ठूला कलाकार मौन रहे पनि पछिल्लो समय दत्ताप्रति सहानुभूति र समर्थन जनाउँदै पूजा भट्ट, कंगना रावत, फरहान अख्तर, प्रियंका चोपडाले भने मी टु अभियानप्रति ऐक्यबद्धता जनाएका छन् । यो संख्या क्रमश: बढ्दो छ ।


विशेषगरी, महिला कलाकाहरूले खुलेरै दत्ताको समर्थन गरेका छन् । केही दिनअघि दिल्लीमा आयोजित एक कार्यक्रममा पूर्वविश्वसुुन्दरी तथा अभिनेत्री सुस्मिता सेनले दत्ताको बचाउ गर्दै दोषीलाई कडाभन्दा कडा सजाय हुनुपर्ने माग गरिन् ।


मी टु अभियान एक वर्षअघि अमेरिकाबाट सुरु भएको हो । एक वर्षअघि जर्मन अभिनेत्री ऐम्मा लोमनले हलिउडका चर्चित निर्माता हार्भे वाइन्स्टिनले सन् २००६ को क्यान फिल्म महोत्सवमा गएका बेला उनीमाथि बलात्कारको गरेको आरोप खुलासा गरिन् । त्यसपछि हार्भेको यौन हिंसाको सिकार बनेका अन्य थुप्रै महिलाले आफूले भोगेका पीडा व्यक्त गर्न थाले । त्यसपछि अमेरिकाभरि नै महिलामाथि हुने यौनहिंसाको अभियान सुरु भयो ।


सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत उक्त अभियानप्रति ऐक्यबद्धता जनाउने क्रम पनि सुरु भयो । त्यसै क्रममा सामाजिक सञ्जाल ट्वीटर हयाटस् टयाग मी टुले अभियानकै रूप लिएको हो । त्यसपछि हलिउडका कलाकार मात्र नभई अन्य क्षेत्रमा काम गर्ने अमेरिकी महिलाले समेत आफूमाथि भएको यौन दुव्र्यव्यवहार तथा यौनहिंसाविरुद्ध बोल्न थालेका हुन् ।

प्रकाशित : आश्विन २३, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?