मानसिक स्वास्थ्य सम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन सम्पन्न

नवीन पोखरेल

लण्डन — बेलायत सरकार,विश्व स्वास्थ्य संगठन र आर्थिक सहयोग र विकास सम्बन्धी संगठनको संयुक्त आयोजनामा लण्डनमा मानसिक स्वास्थ्य सम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन सम्पन्न भएको छ। 

९ देखि १० अक्टोबरसम्म चलेको सम्मेलन 'एक्काइसौँ शताब्दीमा मानसिक स्वास्थ्यमा समानता प्राप्तिको लक्ष्य निर्दिष्ट विश्व घोषणा' जारी गर्दै सम्पन्न भएको छ ।

Yamaha


उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव सम्मेलनमा सहभागी थिए।सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्दै उनले मानसिक स्वास्थ्य समस्या अल्प विकसित र विकासोन्मुख राष्ट्रहरुको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताए ।

निम्न तथा मध्यम आय भएका मुलुकहरुका हरेक पाँचमा एक जनामा मानसिक रोगको समस्या रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले दक्षिण एसिया क्षेत्रमा रहेको कूल जनसंख्याको २० प्रतिशत जनता मानसिक रोगबाट ग्रसित रहेका जनाए ।

नेपाल पनि मानसिक रोगको समस्याबाट अलग छैन भन्दै उपप्रधानमन्त्री यादवले अशिक्षा, बेरोजगारी,बसाईसराई,सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरिबीका कारण नेपालमा मानसिक रोगीहरुको संख्या दिनानुदिन बढिरहेको विचार व्यक्त गरेका थिए ।

नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा अंगीकार गरेको उल्लेख गर्दै यादवले नेपाल सरकार न्यूनतम व्ययमा सरल र सहज पहुँचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको र मानसिक रोगको उपचारको सरलीकरणमा विशेष ध्यान दिइएको बताए ।

विश्व सम्मेलनको पहिलो दिन मन्त्री यादवले सम्मेलन आयोजक समितिका अध्यक्ष टिम केन्डलसँग शिष्टाचार भेट गरी मानसिक रोगको निदानमा द्विपक्षीय सहयोग सम्बन्धमा वार्ता गरेका थिए ।

यसैबीच उपप्रधानमन्त्री यादव बुधबार बेलायती प्रधानमन्त्री टेरेजा मेले १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको स्वागत समारोहमा समेत सरिक भएको लण्डन स्थित नेपाली दूतावासले जनाएको छ ।

यादवको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा संयुक्त अधिराज्यकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी,मानसिक स्वास्थ्य विज्ञ डा. रवीन्द्र ठाकुर,स्वकीय सहसचिव अमरेन्द्र यादव र उपसचिव भवनाथ खतिवडा थिए ।

प्रकाशित : आश्विन २५, २०७५ १७:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गौतमलाई सांसद बनाउने प्रस्तावले नेकपाको एकता प्रक्रियामा असर

प्रकाश सिलवाल/रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ ।

उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीकाटिप्पणी व्यक्त भएपछि उक्त विषयमा नेकपाको सचिवालय अनिर्णित भएको छ भने शीर्ष नेताबीच आपसी आशङ्कासमेत पैदा भएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ का नेकपाका सांसद रामवीर मानन्धरले नेता गौतमका लागि ठाउँ खाली गर्न आफूले राजीनामा दिन तयार रहेकाले स्वीकृतिका लागि नेतृत्वलाई दिएको पत्र पार्टीको यही असोज २२ गतेको सचिवालय बैठकमा एकाएक प्रस्तुत भएपछि अन्य नियमित कार्यसूची प्रभावित भएको थियो । पार्टी एकतालाई तल्लो कमिटीसम्म विस्तार गर्नुपर्ने र सरकार सञ्चालन तथा समन्वयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएका बेला उपनिर्वाचनको सन्दर्भले विषयान्तर गरेको देखिन्छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहालले मानन्धरको पत्र सचिवालय बैठकमा प्रस्तुत गरेपछि मात्र अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले उक्त विषयमा जानकार भए । उक्त दिनका अन्य कार्यसूचीमा कुनै निर्णय हुन सकेन । उक्त दिन अर्को बैठकको कार्यसूची र स्थायी कमिटी बैठकको मिति तय गर्ने विषयमा छलफल भई यही असोज २४ गतेका लागि तोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए । प्रवक्ता श्रेष्ठले पत्रकारलाई दिएको जानकारीमा मानन्धरको पत्रबारे उल्लेख थिएन । सचिवालयको बैठक पुनः यही असोज २७ गतेका लागि सरेको छ ।

उपनिर्वाचनका विषयमा अध्यक्ष ओली र दाहालबीच बुधबार भएको भेटवार्तामा समीक्षा भएको थियो । त्यस दिन अपराह्न पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण कार्यक्रममा अध्यक्ष दाहालले पार्टीले हार्ने गरी उपनिर्वाचन नगर्ने स्पष्ट पारेका थिए ।

यही असोज ५ गतेको सचिवालय बैठकले पार्टीका प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेकामा वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको असन्तुष्टिका विषयमा पनि सचिवालयको बैठकमा छलफल हुन बाँकी छ ।

मध्यमार्गी नेता सक्रिय

नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर लान आह्वान गर्दै हाल देखिएको विवादका विषयमा अध्यक्ष, वरिष्ठ नेता नेपाल, नेता गौतम र अन्य नेतासँग अलग अलग अनौपचारिक भेटवार्ता गरेका छन् । नेता पोखरेलले भने, 'उपचुनावको विषयमा पार्टीको बैठकमा औपचारिक कार्यसूची बनाई छलफल नै भएको छैन । मानन्धरको पत्र आएको छ । त्यसमा हाल कुनै निर्णय भएको छैन ।'

उनले भने, 'पार्टीको साङ्गठनिक जीवनलाई व्यवस्थित बनाएर एकताको सन्देश देशव्यापी लैजानु अहिलेको आवश्यकता हो । पार्टीको संरचना क्रियाशील नहुँदा पनि साङ्गठनिक स्थितिमा अस्तव्यस्ता देखिएको छ, यो चाँडै सँग्लिएर जान्छ ।'

प्रतिनिधिसभाको गत वर्षको निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट नेपाली काङ्ग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका नेता वामदेवले पार्टी एकता, शान्ति प्रक्रिया र राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने भएकाले प्रतिनिधिसभामा उपनिर्वाचनबाट पनि ल्याउन पहल हुँदै आएको छ । उनलाई यसअघि बाँके, प्यूठान, दैलेख, डोल्पालगायत जिल्लाका सांसदलाई राजीनामा गराई उपनिर्वाचनमा विजयी गराउने पहल गरिएको थियो ।

प्रकाशित : आश्विन २५, २०७५ १७:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT