अमेरिकामा ८० वर्षयताकै बिनाशकारी आँधी, ‘माइकल’ का कारण लाखौं प्रभावित

रोयटर्स/बीबीसी

फ्लोरिडा — अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रमा आएको बिनाशकारी आँधी बिहीबार साँझ साउथ क्यारोलिना पुगेको छ । अधिकारीले हालसम्म ३ जनाको मृत्यु भएको जनाएका छन् । माइकल नामक आँधीले फ्लोरिडा तथा नजिकका राज्यमा व्यापक क्षति पुर्‍याएको हो ।

अमेरिकामा ८० वर्षयताकै बिनाशकारी आँधी, ‘माइकल’ का कारण लाखौं प्रभावित

अमेरिकी सञ्चारमाध्यमले आँधीका कारण तटीय क्षेत्रमा २ सय ६० किलोमिटर प्रतिघण्टाको बेगको हावाहुरी चलेको जनाएका छन् । विभिन्न स्थानमा तीव्र आँधीले सामुद्रिक छाल बढेकाले बाढीको चेतावनी दिइएको छ ।


अधिकारीहरूले माइकल नामको आँधी ‘क्याटगोरी ४’ अर्थात निकै शक्तिशालीको सूचीमा राखेका छन् । माइकल अमेरिकामा ८० वर्षयताकै शक्तिशाली आँधी भएको जनाइएको छ ।


आँधीले फ्लोरिडा राज्यको उत्तर–पश्चिमी क्षेत्र प्यानह्यान्डल सबैभन्दा बढी प्रभावित भएको छ । अधिकारीहरूका अनुसार ७ लाखभन्दा बढी घर तथा व्यावसायिक भवनमा विद्युत् आपूर्ति बन्द भएको जनाएका छन् । लाखांै मानिसलाई सुरक्षित स्थानतर्फ जान चेतावनी जारी गरिए पनि कतिपयले अटेर गरिरहेका छन् ।


अमेरिकाको राष्ट्रिय हरिकेन सेन्टरले फ्लोरिडाको पनामा सिटी बिच र केटन बिच तथा नर्थ क्यारोलिनाको ओक्राको इनलेट र डक क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान चेतानवी दिइएको जनाएको छ । सेन्टरका अनुसार अलाबामा राज्यका केही स्थानमा समेत क्षति पुगेको छ ।


फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले ‘अकल्पनीय विध्वंस’ भएको बताएका छन् । उनले हाल घरमै रहिरहेका मानिसलाई ‘ढिला भएको भन्दै अब भने बाहिर ननिस्कन’ आग्रह गरेका छन् ।


उनले स्कुल तथा राज्यका कार्यालय एक सातासम्म बन्द रहने घोषणा गरे । स्कटले फ्लोरिडाले ३ हजार ५ सय नेसनल गार्ड उद्धारका लागि परिचालन गरिएको जनाए ।


उनले फ्लोरिडा राज्यमा ‘आपतकाल’ घोषणा गरेका छन् । छेउछाउका एलाबामा तथा जोर्जिया राज्यले पनि त्यस्तै स्थितिको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा बाढी तथा हुरीले विनाश गरेका घर, भवन तथा संरचनाका तस्बिर सार्वजनिक गरिएका छन् ।


संघीय प्रकोप व्यवस्थापन निकायका निर्देशक ब्रक लंकले राष्ट्रपतिलाई उनी खासगरी सन् २००१ भन्दा अगाडि निर्माण गरिएका भवनप्रति चिन्तित रहेको बताए । ती भवनहरूले ‘क्याटगोरी ३’ भन्दा शक्तिशाली आँधी थेग्न नसक्ने जनाइएको छ ।

राष्ट्रपति कार्यालय ह्वाइटहाउसले पनि ती संरचनाबारे चिन्ता व्यक्त गरेको छ । ‘हामी ती संरचनाले आँधी थेग्न सक्छन् भन्ने आशा गर्छौं,’ राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ।


प्रकाशित : आश्विन २५, २०७५ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?