२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

‘माइकल आँधीले अकल्पनीय क्षति’

मृत्यु हुनेको संख्या १७ पुग्यो
एएफपी, रोयटर्स

मेक्सिको सिटी — अमेरिकाको उत्तर पश्चिम क्षेत्रमा आएको आँधीका कारण अकल्पनीय क्षति पुगेको अधिकारीले जनाएका छन् । उनीहरूले माइकल नामक आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १७ पुगेको जनाए ।

‘माइकल आँधीले अकल्पनीय क्षति’

खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । आँधीले फ्लोरिडा, क्यारोलिना र जर्जिया राज्यमा ठूलो क्षति पुर्‍याएको हो । फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले मेक्सिको बिच ‘पूर्ण रूपमा उजाड भएको’ बताए । ‘यहाँ त बम पड्कएझैं भएको थियो,’ स्कटले भने । आँधी प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि उनले भने, ‘प्रभावित क्षेत्र युद्धग्रस्तजस्तै देखिएको छ ।’

स्कटले आँधीले ‘अकल्पनीय क्षति पुर्‍याएको’ बताए । ‘निकै धेरै मानिसहरूको जीवन सधैंका लागि परिवर्तन भएको छ,’ उनले भने, ‘निकै धेरै मानिसहरूले सबथोक गुमाए ।’ आँधीका कराण फ्लोरिडाको उत्तरपश्चिम क्षेत्रमा हजारौं घर क्षतिग्रस्त भएका छन् । रुखहरू ढलेका छन् र हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ । गर्भनर स्कटले आँधीका कारण केही मानिसहरू बेपत्ता भएको जनाउँदै खोजी भइरहेको बताए । ‘हराइरहेकाको खोजी र उद्धार पहिलो प्राथमिकता हो’ उनले भने, ‘यसका लागि हामीले प्रभावकारी उद्धार समूह परिचालन गरेका छौं ।’ एबीसी मिडियासँग कुराकानी गर्दै उनले भने, ‘आँधी हामीले अनुभव गरेको निकै विनाशकारी हो तर मानवीय क्षति भने त्यति धेरै भएको छैन ।’

उनले हराइरहेकाको खोजी तथा क्षतिको पूर्ण विवरण संकलन सुरु गरिएको जनाए । स्कटले हराइरहेका मानिसहरू जीवितै हुने आशा व्यक्त गरे । उनले उद्धारका लागि करिब २ हजार सेना परिचालन गरिएको जनाए । साथै उनले विद्युत् आपूर्ति सूचारु गर्न २० हजार कर्मचारीलाई खटाइएको जनाए । उद्धार टोलीहरूले शनिबार मेक्सिको बिचमा कुकुरको सहयोगमा खोजी गरिरहेका छन् । संघीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) का प्रमुख ब्रक लङले मृतकको संख्या बढ्न सक्ने बताए ।

‘मेरो आशा धेरै मानिसको मृत्यु नहोस् भन्ने हो, तर प्रभावित क्षेत्रमा खोजी कार्य बाँकी रहेकाले अन्यको मृत्यु हुन सक्ने खतरा छ,’ उनले भने । मेक्सिको सिटीका दर्जनौं घर, पसल र रेस्टुराँको जग नै उखेलिएको उनले बताए । लङले भने । ‘आँधीको वितण्डाबारे बताउन उक्त क्षेत्रमा मानिसहरू समेत भेटिएका छैनन् ।’ उक्त क्षेत्रमा मानिसलाई अनिवार्य रूपमा घर छाड्न आदेश दिइएको थियो तर केहीले अटेर गरेर घरमै बसेका थिए । फ्लोरिडाका सिनेटर मार्को रुबियोले भने, ‘अन्तिम क्षणमा केही मानिस घर छाडेर बाहिर निस्केका वा अन्यत्रै गएका हुन सक्छन् ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित राज्यहरू फ्लोरिडा र जर्जियाको भ्रमण गर्ने योजना बनाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।, ट्रम्पले ट्वीटरमार्फत भने, ‘म अर्को साताको सुरुमै फ्लोरिडा र जर्जिया जाँदै छु । हामी तपाईंकै साथमा छौं ।’ अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ५ हजार सेना र प्रहरीलाई राहत र उद्धारका लागि खटाइएको जनाएको छ ।

प्रकाशित : आश्विन २८, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?