कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

साउदी दोषी भए ट्रम्पले सजाय दिने

जमाल खसोग्गी हत्या प्रकरण
एजेन्सीहरू

वासिङ्टन/अंकारा — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खसोग्गीको हत्याका लागि साउदी अरब जिम्मेवार भए अमेरिकाले ‘निकै कडा सजाय’ दिने चेतावनी दिएका छन्  । सीबीएस टेलिभिजनसँगको अन्तर्वार्तामा ट्रम्पले ‘यदि टर्कीको आरोप सत्य भए त्यसको नतिजा निकै भयानाक हुने’ बताए  ।

साउदी दोषी भए ट्रम्पले सजाय दिने

उनले भने, ‘हामी घटनाको गहिराइसम्म जाँदै छौं । घटनाका दोषीलाई निकै कडा दण्ड दिइनेछ ।’ यद्यपि, उनले रुस र चीनसँग जस्तो सैनिक सम्झौता अन्त्य नगरी अन्य तरिकाबाट दण्डित गर्ने बताए ।

गत अक्टोबर २ मा टर्कीस्थित साउदी कन्सुलेट कार्यालयमा प्रवेश गरेका खसोग्गी त्यसयता बेपत्ता छन् । टर्कीले उनको हत्यामा साउदी अरबको हात रहेको दाबी गर्दै आएको छ । तर साउदीले भने उनी त्यसै दिन कार्यलयबाट बाहिरिएको बताउँदै आएको छ ।

तथ्य सार्वजनिक गर्न राष्ट्रसंघको आग्रह
संयुक्त राष्ट्रसंघले साउदी अरबका पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणबारे ‘सत्यतथ्य सार्वजनिक गर्न’ माग गरेको छ । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेजले खसोग्गीको अवस्थाप्रति आफू चिन्तित रहेको उल्लेख गरे । उनले भने, ‘हामी खास के भएको हो र को जिम्मेवार हो भन्नेबारे जानकारी पाउन आवश्यक ठान्छौं ।’ उनले यसप्रकारका घटनाहरू बारम्बार दोहोरिरहेकोमा चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायले यस्तो नहोस् भन्नेतर्फ ध्यान दिनुपर्ने बताए । साउदी अरबले यसै महिनाको अन्त्यमा राजधानी रियादमा लगानी सम्मेलनको आयोजना गर्दै छ । गुटरेजले ‘उक्त घटनाबारे सत्यतथ्य सार्वजनिक भएपछि मात्र सम्बन्धित राष्ट्रले त्यसअनुसार जवाफ दिनुपर्ने’ धारणा राखे ।

घटनापछि साउदी अर्थतन्त्रमा समेत नकारात्मक असर परेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी अर्थमन्त्री स्टेभेन मुन्चिनले वासिङ्टनले ‘घटनाको सूचना संकलन गरिरहेको र वास्तविकता बुझ्न प्रयास गरिरहेको’ जनाए । उनले भने, ‘हामी खसोग्गी र उनको परिवारको अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्छौं ।’ तर उनले यही अक्टुबर २३ मा हुने लगानी सम्मेलनमा भने आफू सहभागी हुने जनाए ।

विश्व बैंक प्रमुख जिम किमले यसअघि नै सम्मेलनमा आफ्नो सहाभागिता रद्द गरिसकेका छन् । त्यसैगरी, भर्जिन ग्रुपका प्रमुख रिचार्ड ब्रान्सनले १ खर्ब डलर लगानीको वार्ता रद्द गरिसरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष प्रमुख क्रिस्टिन लगार्डले ‘टर्कीबाट सार्वजनिक समाचारले आफू त्रसित भए पनि सम्मेलनमा भाग नलिनेबारे निर्णय गरिनसकेको’ बताइन् । उनले आफू विश्वका कुनाकुनामा मुद्रा कोषको काम कारबाहीमा जिम्मेवार रहेकाले योजना परिवर्तन नगरेको जनाइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबसँग वास्तविकता सार्वजनिक गर्न आग्रह गरेका छन् । उनले यसअघि पटकपटक साउदीसँग आफ्नो राम्रो सम्बन्ध कायम गर्न चाहेको बताएका थिए । यसअघि, टर्कीका गुप्तचर अधिकारीले खसोग्गीलाई इस्तानबुलस्थित साउदी कन्सुलेट कार्यालयभित्र सोधपुछ गरिएको, यातना दिइएको र मारिएको दृश्य भएको दाबी गरेको अमेरिकी सञ्चार माध्यमले शुक्रबार जनाएका थिए । टर्कीले अमेरिकी अधिकारीलाई आफूसँग कन्सुलेट परिसरभित्र खसोग्गीको हत्याका पछाडि साउदी सुरक्षा अधिकारीहरू जिम्मेवार रहेको प्रस्ट श्रव्य–दृश्य प्राप्त गरेको जनाएका हुन् । अमेरिकी अखबार वासिङ्टन पोस्टले खसोग्गीलाई कुटपिटपछि उनको मृत्यु भएको दृश्यमा देख्न सकिने उल्लेख गरेको थियो । त्यसैगरी, प्राप्त सीसीटीभी फुटेजमा साउदी गुप्तचर अधिकारी भनिएका व्यक्तिहरू कन्सुलेट कार्यालयमा प्रवेश गरेको र केही समयपछि बाहिरिएको देखिन्छ । तीमध्ये अनुसन्धान कर्नेल र अर्का फरेन्सिक विशेषज्ञ भएको बीबीसीले उल्लेख गरेको छ ।

‘आरोप निराधार’

अमेरिकी अखबार वासिङ्टन पोस्टका स्तम्भकार खसोग्गी बेपत्ता प्रकरणबारे कुराकानीका लागि शुक्रबार अंकारा पुगेको साउदी अरबको विशेष टोलीले ‘टर्कीले साउदीमाथि लागएको आरोप हावादारी’ भनेको छ । साउदी अरबका आन्तरिक मन्त्री राजकुमार अब्देल अजिज बिन साउद बिन नायफले ‘खसोग्गीको कन्सुलेट कार्यालयभित्र मृत्यु भएको अस्वीकार’ गरेका हुन् । उनले भने, ‘उक्त आरोप आधारहीन र झूटो हो ।’ टोलीले टर्कीका अधिकारीसँग खसोग्गीको बेपत्ता प्रकरणबारे छलफल गर्ने समाचार संस्था एएफपीले जनाएको छ । टोलीमा समावेश अधिकारीबारे भने उल्लेख गरिएको छैन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ११ सदस्यीय टोलीले शुक्रबार टर्कीस्थित साउदी अरबको कन्सुलेट कार्यालयको निरिक्षण गरेको थियो । टर्की र साउदी अरबबीच इजिप्टको इस्लामिक सरकारको पतन र कतारमाथि लगाइएको नाकाबन्दीपछि सम्बन्ध बिग्रँदो छ । टर्की कतारको निकट साझेदार हो ।

प्रकाशित : आश्विन २८, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?